सिंहदरवार लक्षित ‘मधेसवादी पार्टी’ र ‘मधेसवादी राजनीति’

आ–आफ्ना बेग्लाबेग्लै चुला–चौका र चोइटे ‘मधेसवादी दलहरू’ सिंहदरबार पस्ने बेलामा फुट्ने गर्छन् । हरेकपटक सरकार भत्किने र बन्ने प्रक्रिया सुरू भएपछि ‘मधेसवादी पार्टी’हरूभित्र बेग्लै खालको खुशीयाली देखिन्छ भने मन्त्रिमण्डलको टेन्डर खुलेपछि मधेसी जनताका यी स्वयम्भू ठेकेदारका ‘पार्टी’ भित्र मारामार र फुट सुरू भइहाल्छ । यसपटक त्यस्तै हानथाप र उछिन्ने होड डा. बाबुराम भट्टराई र उपेन्द्र यादबको संघीय समाजवादी पार्टीले सरकार छोड्नासाथ राष्ट्रिय जनता पार्टीले सत्तारुढ नेकपासँग राष्ट्रियसभाको लागि चुनावी तालमेल गरेर देखायो । “नेकपा र ओलीलाई मधेशबाट ब्याण्ड बाजा बजाएर विदा गर्ने” वा “चुरे कटाईदिने” डिंग हाँक्ने राजेन्द्र महतो नै चुनावी तालमेलको प्रस्ताव लिएर ओलीकहाँ पुगे । यता उपेन्द्र यादबचाहिँ नेकपाको सरकारबाट निस्केर राष्ट्रियसभाको चुनावी तालमेलका लागि नेपाली काँग्रेससँग गला मिलाउन पुगे । जेभए पनि, यी विचराहरू आफ्नो राजनीतिका ‘डाइरेक्टर’ होइनन् फगत ‘एक्टर’ हुन्, डाइरेक्टरले रिसाउन लगाए रिसाइदिन्छन्, खुसाउन लगाए खुसी देखाइदिन्छन् ।

महाभारत र चुरेका वनफडानी गरी काठ–दाउरा भारततिर पठाएर मधेस उजाड गरियोस् वा त्यहाँको ढुङ्गा, गिटी, बालुवा ओसारेर ‘मधेस’ को मरूभूमीकरण किन नगरियोस्, यी चुइँक्क बोल्दैनन् । उत्तरतिरबाट मधेस ‘मरूदेश’ किन नबनोस् अनि दक्षिणतिर अवैध तरिकाले बनाइएका तटबन्धले गर्दा ‘एक मधेस डुबान प्रदेश’ किन नहोस्, त्यसबारे बरू ढुङ्गो बोल्ला, यी मुख खोल्दैनन् । नेपाल–भारत सम्झौताअनुसार भारतले कोशी ब्यारेजको मरम्मत–सम्भार नगरेको लापरवाहीले त्यो भत्केर जन–धनको ठूलो नोक्सानी ग¥यो, तर मधेसका मसिहा भन्न रूचाउनेहरू मधेस डुबेको रमिता हेर्दै मुखमा दही जमाएर बसे । सुस्ता, कालापानी, लिम्पियाधुरा, टनकपुर आदि भूभागका विवादबारे त आवाज उठाउनुप¥यो भने झन् यिनको के हालत हुने हो ! यिनीहरूलाई मधेसीमात्र चाहियो, तर मधेस चाहिएको देखिएन । यिनीहरूले नेपालको राष्ट्रिय हितका पक्षमा बोल्ने आसा गर्नु मस्जीदका मौलानाले पशुपतिनाथको शिबस्त्रोत्र पाठ गर्लान् भन्ने आसाजस्तै हो ।

तराईका सर्वसाधारण देशवन्धुहरूको मातृभूमि प्रेमका विरूद्ध यी हरफहरू लक्षित हुनपुगे भने पाप नै लाग्छ । मधेसका आम देशबन्धुहरूवीच नेपालीत्वसहितको उत्साहजनक देशभक्ति देख्न सकिन्छ । मधेसका धेरै लेखक, विचारक, साहित्यकार, भाषासेवी, संस्कृतिकर्मी, सज्जनहरू एउटा सानो तर स्वाधीन राष्ट्रको नागरिक भएकोमा गौरव गरेको अभिव्यक्ति प्रष्टै सुन्न पढ्न सकिन्छ । काठमाडौँ उपत्यका, अन्य पहाडी शहर, जिल्ला सदरमुकाम वा गाउँका कुनाकाप्चा जहाँसुकै मधेसी समुदाय काम गरेर बसेका छन् । स्थानीय समाजमा मिलेर बसेका छन् । यस्तो संख्या बीसौँ लाख भइसकेको छ ।

मधेसी चेतनाले बीपी कोइराला सँगसँगै ‘जयनेपाल’ को अभिवादन गर्दैआएको छ । उनीहरू मन्सुनी हावापानीले बनाएको जीवनचक्रमा हिमाली, पहाडी, मधेसी सबै विभिन्न तर अभिन्न परिवार झैँ एकआपसमा बाँधिएका छौँ भन्ने बुझ्दछन् । प्रकृतिद्वारा निर्मित यी तीन भूप्रदेश अन्तर्निभरताले बनाएको सन्तुलनमा बाँचेको धरातलीय यथार्थ बुझ्नेहरू मधेसमा धेरै छन् ।

‘मधेस सुखा तो पहाड भुखा’को मधेसी उक्तिले पहाडवासीलाई ‘हो’ भनेर स्वीकार गराएकै छ । मधेसलाई ‘मधेसी राजनीति’ ले जतिसुकै वितण्डावादी तथा पराया बनाउन खोजोस्, तर कोशी, गण्डकी र कर्णाली नदी प्रदेशबाट मधेसलाई निकालेर हिन्दमहासागरका वीचमा वा यमुनापारि लगेर राख्ने कुरा आउन्न । तब दौरा–सुरुवाललाई दुत्कारेर र टोपी बहिस्कार गरेर धोतीको इज्जत यस धर्तीमा कसरी बढ्छ ? यहाँ मधेसी समाजका ठूला बाधक त मधेसवादी राजनीति गर्नेहरू नै प्रमाणित हुँदैछन् । लेखक (विश्लेषक) सीके लालले ठीक भने, दौरासुरूवाललाई राष्ट्रिय पोशाक घोषणा गरेको सरकारमा चुपचाप लागेर बस्ने मधेसी नेताहरू सर्बोच्च अदालतको फैसलापछि दौरासुरूवाल जलाउन लागे, मधेसी जनताले तिनका पुतला जलाउने अवस्था आउनसक्छ ।

‘मधेसवादी’ का नाममा उद्दण्ड ‘राजनीति’ गर्ने भ्रष्टले अरूलाई होइन, आफ्नै धर्तीको अहित गर्ने हो, मधेसलाई बर्वाद गर्ने हो र मधेसी जनतामाथि अक्षम्य आघात पु¥याउँने हो । ‘एक मधेस एक प्रदेश’ को वितण्डा मच्चाउने हुँदा प्रतिक्रियामा तराईका धर्तीपुत्र थारू, अन्य जनजातीहरू, मुसलमानहरू ‘हामी त मधेसी होइनौँ’ भनेर पन्छिए । अहिले पनि बाबुराम–उपेन्द्र नेतृत्वको संघीय समाजवादी पार्टी तराईमा ‘एक मधेश एक प्रदेश’ र जातीय पहिचानका आधारमा नेपालमा १४ राज्य हुनुपर्ने नारा लगाईरहेको छ । साविकमा चुरे क्षेत्रभन्दा तल भित्री मधेससम्म मधेस मानिँदैआएकोमा यस्तै वितण्डाले गर्दा चुरे–भावर क्षेत्र भनेर त्यहाँको समाज पार्टी नै बनाएर ‘एक मधेस….’ विरूद्ध जागरूक भएको थियो ।

पूर्व–पश्चिम राजमार्गभन्दा उत्तरको तराई चुरे–भावरका नाममा चिनिएर ‘मधेस’ मधेसीवादी नेताहरूकै कारण खुम्चिरहेको छ । दलित समुदाय पनि ‘मधेस आन्दोलन भनेको कथित उच्च जातले तराईका जनतालाई भँजाएर मोज गर्न बनाएको हत्कण्डा हो’ भन्दै “काठमाडौँमा भेट हुँदा तपाईँहरू मधेसी एकताको कुरा गर्नुहुन्छ, तराईमा आएपछि तपाईँ उच्च जातहरू हामी दलितलाई अत्याचार र शोषण गर्न छोड्नुहुन्न, तपाईँहरूका कुरामा कसरी हाँमाहाँ मिलाएर हिँड्न सकिन्छ र !” भन्ने प्रतिक्रिया दिने गर्दछन् । त्यसकारण यी ‘मधेवादी पार्टी’ का चर्तिकलाबाट मधेसी जनविश्वास तीब्र गतिमा हटिरहेको छ । बचेखुचेको जनाधार पनि यस्तै बोली र गराईले गर्दा यी पार्टीहरू मधेसी समाजका ऐँजेरू बन्न थालेको तत्ववोधले गर्दा राष्ट्रिय दृष्टिकोण बनाउने अभ्यास पनि देखाउन थालेका छन् ।

तुलनात्मक दृष्टिले हेरौँ, छुवाछुत, दाइजो, बोक्सी–डाइनी आदि मान्यता सहितको अन्धविश्वासी प्रथा, घुम्टोप्रथा, महिलामाथिको ंिहंसा तथा अत्याचार आदि अनेकौँ विकृतिहरूलाई यथावत छोडेर मधेसी नेताहरू सिंहदरबारमा भाग खोज्दै कचिङ्गल गर्नमा ब्यस्त हुन्छन् । पहाडको तुलनामा मधेसमा नागरिक समाज र सामाजिक पद्धति नै छैन भनेपनि हुन्छ । सामन्ती र जमिन्दारी कुप्रथा यति जबरजस्त रूपमा विद्यमान छ कि भूमिहिन धर्तीपुत्रहरू तथा नागरिकताको पूर्जा नपाएका नागरिकहरूको मधेसमा अझै ठूलो संख्या छ । जमिन्दारले नागरिकता पाउनबाट बञ्चित गराएर नापी नभएका जग्गामा लालपूर्जा नदिई थन्क्याएर राखेका मानिसको समस्या बेग्लै छ । अर्कातिर यिनै जमिन्दारहरू मधेशवादी पार्टी चलाएर वञ्चितीकरणमा परेका खास मधेसीहरूको आवश्यकता र पीडालाई सिंहदरबारमा भजाउने तिकडम गर्दै आएका छन् । दलित, जमिन्दारका खेताला, बञ्चितीकरणमा परेका समुदाय, अल्पसंख्यक र संकटापन्न (भल्नरेबल) समुदायहरू सबभन्दा बढी अत्याचारमा परेका छन् । किनकि सच्चा जनप्रतिनिधिबाट बञ्चित छन् तिनीहरू । नागरिकता लिन जाँदा जग्गाको धनिपूर्जा माग्ने धनिपूर्जा बनाउन खोज्दा नागरिकता खोजिने परिपाटीबाट मधेसका ठेकेदारहरूले मधेसी जनतालाई मुक्त गर्न सकेनन् होइन, चाहेनन् ।

यो धरातलीय यथार्थलाई एकातिर पन्छाएर काठमाडौँमा सुनिने गरेको मधेसकेन्द्रित नारा निस्वार्थ भावनाको उपज प्रायः हुँदैन, मधेसलाई भजाउने नियतबाट गुञ्जिएको भन्न सकिन्छ । ‘मधेसी एकता’ को नारा यदि सच्चा नारा थियो भने त्यस्तो नारा दिनेहरूले यतिका पार्टी किन बनाए ? बनाएको पार्टी किन बारम्बार फोर्दैछन् ? यही चरित्रको समर्थनमा बाबुराम भट्टराईको नेतृत्वको पार्टी संघीय समाजवादी केही गर्न खोजिरहेको छ । तर ‘मधेसवादी दल’का नेताहरूका चेहरा र चरित्र देखेभोगेका जोसुकैलाई गन्तब्यमा पुग्न सफल हुनेमा पत्याउन निकै गाह्रो पर्छ । कुनबेला कस्तो ‘आकासवाणी’ आउँछ, आकासवाणीमा भरपर्ने राजनीतिलाई बोकेर राजनीति सफल हुन्छ भन्ने सोचिहाल्नु अपरिपक्वता हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?