अख्तियारले बालुवाटार काण्डका नाइके किटान गर्न सकेन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणको विषयमा छानबिन प्रक्रिया पूरा गरे पनि अनुसन्धान अधिकृतले मुद्दा कसलाई चलाउने भन्ने विषय निक्र्यौल गर्न नसक्दा मुद्दा दायरको समय लम्बिने देखिएको छ ।

अनुसन्धान अधिकृतले आयोगमा यो एजेन्डालाई प्रवेश गराउन सकेका छैनन् । अनुसन्धान सकिए पनि आयोगले बैठक राखेर यस विषयमा छलफल गराउन नसक्दा प्रक्रिया लम्बिने अवस्था आएको हो ।
आयोग उच्च स्रोतका अनुसार आयोगका अनुसन्धान अधिकारीले सो फाइललाई अहिले थाती राखेका छन् । मुद्दाको अनुसन्धान पूरा भएपछि आधार र कारणसहित व्यक्तिको किटान गरी मुद्दा दर्ता गर्न आवश्यक देखियो भनी मिसिल बुझाउनुपर्ने हुन्छ । तर, अनुसन्धान पूरा गरेको तीन साता बित्दा पनि मिसिल तयार नभएकाले मुद्दा प्रक्रिया अझै अन्योलमा छ ।

अनुसन्धान अधिकारीले आयोगका आयुक्तसमक्ष मिसिल पेस गरेपछि सो विषयमा छलफल गरेर मात्रै मुद्दा दर्ता गर्ने या पुनः अनुसन्धान गर्नुपर्ने हो भन्ने विषयमा निर्णय हुन सक्छ । तर, अनुसन्धान अधिकारीले मिसिल नबुझाएकाले मुद्दा दर्ता प्रक्रिया जटिल बनेको छ । अख्तियार स्रोतका अनुसार मुख्य दोषी कसलाई किटान गर्ने भन्ने विषय टुंगो लगाउन नसक्दा ढिलाइ भएको हो । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?