सडक नियम मिचेर भाग्नेहरु सावधान! ‘प्रहरी घरमै आइपुग्छ’

यस वर्ष काठमाडौंमा मात्रै काटियो करिब ३ लाख चिट

काठमाडौं । माघ ६ गते सार्वजनिक भएको एउटा तस्वीरले धेरैजनाको ध्यानाकर्षण ग-यो । तस्वीरमा एकजना ट्राफिक प्रहरीले ना १ झ १४२५ नम्बरको नेपाल प्रहरीकै गाडीलाई ह्वील लक गर्दै छन् । पृष्ठभूमिमा भएका सवारी चालकहरु हल्का मुस्कुराइरहे जस्तो देखिन्छन् ।

दृश्य काठमाडौंस्थित अनामनगरको हो । ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै नेपाल प्रहरीकै गाडीलाई ‘ह्वील लक’ गरेका रहेछन् ती ट्राफिकले । पछि उक्त गाडीलाई जरिवाना चिट समेत काटियो ।

पूर्वमन्त्री (भौतिक पूर्वाधार तथा यातायात व्यवस्था) रघुवीर महासेठको गाडी पनि अनाधिकृत पार्किङ गरेको भन्दै ह्वील लक गरिएको थियो । महासेठ चढ्ने गरेको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडीलाई गत भदौ ११ गते ट्राफिक प्रहरीले बानेश्वरमा ह्वील लक गरी कारवाही गरेको थियो ।

यस विषयमा महानगरीय ट्राफिक परिसर रामशाहपथका प्रवक्ता जीवनकुमार श्रेष्ठ भन्छन्, ‘हो अब नियम मिच्ने कसैको पनि अनुहार वा पद हेरेर छोडिन्न ।’
उनका अनुसार ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्नका निमित्त विभिन्न अभियान लागू गर्नुका साथै प्रविधिको पनि भरपूर प्रयोग गरिरहेको छ ।
चिट काट्ने प्रणाली पनि निकै प्रभावकारी भएको उनको भनाइ छ ।

यही आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्मको तथ्याङ्क अनुसार काठमाडौंमा २ लाख ९५ हजार ६ सय ९७ वटा चिट काटेको तथ्याङ्क छ । यसमा सबैभन्दा बढी चिट सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएकोमा काटिएको छ । अर्थात् पार्किङ निषेधित क्षेत्र वा समयमा पार्किङ गर्ने ४९ हजार ४ सय ७२ जनालाई चिट काटिएको छ ।

त्यस्तै लेन मिच्नेको सङ्ख्या २१ हजार १ सय ५५ र मादक पदार्थ सेवन(मापसे) गर्ने १९ हजार ४ सय ९६ जनालाई प्रहरीले जरिवाना चिट काटिसकेको छ ।
कहिलेकाहीँ साँघुरो सडकका कारण, लेन नै प्रष्ट नदेखिएका कारण पनि सवारी चालकहरु गल्ती गर्न पुग्छन् भने धेरैजसो अवस्थामा मापसे, तीव्र गति, जथाभावी पार्किङ आदिजस्ता लापरवाहीले नै चिट काट्नु पर्ने अवस्था आउने बताउँछन् श्रेष्ठ ।

‘हाम्रो शहर योजना बनाएर विकास भएको होइन, शुरुमा विकास भयो अहिले बल्ल योजना बन्दैछ त्यसैले पनि सडक अव्यवस्थित छ,’ श्रेष्ठ अगाडि थप्छन्, ‘त्यसमाथि सबैभन्दा ठूलो समस्या भनेको चालकहरुको लापरवाही हो, पर्खिने त कसैको बानी नै छैन । सबैलाई सधै हतार हुन्छ ।’

‘कसैले त चिट काट्दै गर्दा आफू अघिका चालकले पनि त्यस्तै गरेको भन्दै दोस थुपार्छन्,’ श्रेष्ठ चालकहरुको चरम् लापरवाहीको उदाहरण दिँदै सुनाउँछन्, ‘कोही चाहिँ यसअघि यस्तै गर्दाखेरि कसैले चिट काटेन भन्दै निहुँ पनि खोज्छन् ।’

सडकमा ट्राफिक प्रहरी नदेख्नासाथ नियम मिच्नेहरुको जमात पनि कम नभएको श्रेष्ठको भनाइ छ ।

‘महानगरमा अहिले १ हजार ६ सय ८४ वटा सिसीटिभी राखेका छौं, ‘प्रवक्ता श्रेष्ठ भन्छन्, ‘यदि कसैले सडकमा नियम मिचेर भाग्छु भन्ने सोचिरहेको छ भने प्रहरी घरमै आइपुग्छ ।’

श्रेष्ठले बताएअनुसार १ हजार ६ सय ८४ वटा सिसीटिभी मध्ये ७ सय ४१ वटा महानगरीय ट्राफिक प्रहरी कार्यालयको कन्ट्रोल रुमले अनुगमन गर्छ भने बाँकी सम्बन्धित क्षेत्रकै प्रहरी निकायले हेर्ने गरेको छ ।

त्यस सँगसँगै प्रहरीले आवश्यक परेको खण्डमा पसल वा घरका अगाडि राखिएको सिसीटिभीहरु बाट पनि सहयोग लिने उनले बताए ।

‘तर, महानगरमा यहीँ बस्ने जनसङ्ख्या मात्र नभएर आवतजावत् गर्ने मानिसहरुको चाप पनि बढी भएकाले यति सिसीटिभी पर्याप्त छैन,’ उनी थप्छन् ।

त्यस सँगसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले यही पुस १ गतेदेखि ‘ट्राफिक उज्यालो अभियान’ शुरु गरेको छ । यस अभियान अन्तर्गत सवारी चालक, यात्रु, पैदलयात्री, स्कुलका विद्यार्थी आदिलाई सडक नियमका बारेमा जनचेतना जगाउने कार्यक्रमहरु आयोजना गरिरहेको श्रेष्ठले बताए ।

‘गल्ती गरेपछि पक्रिने होइन गल्ती गर्नबाट रोक्न सकियोस् भनेर यो अभियान शुरु गरेका हौं,’ प्रवक्ता श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?