रामबहादुर थापा । बागलुङ । गलकोट नगरपालिका–५ टेउवामा आउँदो फागुन ५ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने अन्तरराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाका लागि सरकारी निकायदेखि जनस्तरसम्मको सहयोग जुटिरहेको छ ।
स्थानीय कुलबहादुर बस्नेत, झङ्कबहादुर बस्नेत, मानबहादुर खत्री र टीकाकुमारी खत्रीबाट करिब ३० लाख मूल्य बराबरको २३ रोपनी जग्गा निःशुल्क प्राप्त भएको गलकोट कला प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले टेउवामा कार्यशाला चलाउने योजना ल्याएपछि स्थानीयवासी जग्गा दिन तयार भएका थिए ।
जग्गाको जोहो भएसँगै कार्यशालाका लागि पूर्वाधार तयारीको कामले गति लिएको थियो । कार्यशालास्थलमा सडक, भवन, शौचालयलगायतका संरचना बनिसकेका छन् । खानेपानी, बिजुली, सवारी राख्ने ठाउँ, वनभोजस्थल र घेराबारको काम अन्तिम चरणमा पुगेको छ ।
कार्यशालामा मूर्ति कुँद्न योग्य ढुङ्गा वडा नं ३ हटियाका दीपक बोहराले निःशुल्क उपलब्ध गराउनुभएको छ । बोहरागाउँको सहस्रधारा क्षेत्रबाट दुई टनभन्दा ठूला १५ वटा ढुङ्गा सङ्कलन गरिएको प्रतिष्ठानका अध्यक्ष रानाले बताए । “तीनै तहका सरकारदेखि सर्वसाधारण व्यक्तिबाट पनि सहयोग प्राप्त भइरहेको छ”, उनले भने ।
आर्थिक वर्ष ०७३÷०७४ देखि कार्यशालाका लागि तयारी अगाडि बढेको थियो । हालसम्म पूर्वाधार निर्माणमा ८६ लाख ९३ हजार खर्च भइसकेको छ । कार्यशाला सम्पन्न गर्दासम्म थप एक करोड ४१ लाख ७८ हजार खर्च हुने प्रतिष्ठानले जनाएको छ । कार्यशालाका लागि कूल दुई करोड ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
कार्यशालाका लागि गत आवमा सङ्घीय सरकारबाट ५० लाख र गण्डकी प्रदेश सरकारबाट ४० लाख बजेट विनियोजन गरेको थियो । गलकोट नगरपालिकाले पनि तीन लाख बजेट विनियोजन गरेको थियो । नगरको बजेटबाट कार्यशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ ।
चालू आवमा गण्डकी प्रदेश सरकारले ३० लाख, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट दश लाख र प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’बाट पाँच लाख सहयोग प्राप्त भएको छ ।
यस्तै, व्यक्तिगततर्फ स्थानीय भीमकुमारी काउचाबाट पाँच लाख, पूर्णबहादुर रानाबाट तीन लाख, तिलबहादुर खत्रीबाट तीन लाख, शान्ति श्रीसबाट तीन लाख, दलबहादुर पुनबाट एक लाख दश हजार, यमबहादुर श्रीसबाट एक लाख र फमलाल न्यूरेबाट एक लाख प्राप्त भएको जनाइएको छ ।
“एक लाखभन्दा तल सहयोग गर्ने धेरै हुनुहुन्छ, काठमाडौँ, पोखरामा पनि सहयोग अभियान चलिरहेको छ”, प्रतिष्ठानका अध्यक्ष रानाले भने, “हामीले झण्डै रु एक करोड जति थप बजेट व्यवस्थापन गर्नुपर्ने भएको छ ।”
कार्यशालामा स्वदेशी र विदेशीसहित १५ मूर्तिकार भाग लिँदैछन् । कार्यशालामा नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग लिनेछन् ।
यस्तै जुन इचिरो सुगीमोतो (जापान), लिउ याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर्स गोँजालेज (फ्रान्स), लिन लि जेन (ताइवान्), जुली ग्ल्यास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमिङ्गर ९इजरायल०, जर्जलुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्युड्मेल कार्यशालामा सहभागी हुने प्रतिष्ठानले जनाएको छ ।
कार्यशालामा सहभागिताका लागि अन्तरराष्ट्रियस्तरमा आवेदन माग गरिएको थियो । प्रतिष्ठानका अनुसार कार्यशालामा भाग लिनका लागि देश विदेशका गरी २०५ जना मूर्तिकारले आवेदन दिएका थिए । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सह–प्राध्यापक हृदयबल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेको हो ।
अन्तरराष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ एवं कार्यशाला मूल समारोह समितिका संयोजक मूर्तिकार ओम खत्रीले बताए । गलकोटमै जन्मिनुएका मूर्तिकार खत्रीकै सोच र योजनामा कार्यशालाले मूर्त रुप लिन लागेको हो ।
“विदेशबाट कलाकारहरु आउनलाई टिकटसमेत निश्चित भइसक्यो”, संयोजक खत्रीले भने, “हामी सबै फागुन ४ गते नै कार्यशालास्थलमा पुग्छौँ, ५ गते औपचारिक शुभारम्भ हुन्छ ।” कार्यशालामा सहभागी हुने मूर्तिकारलाई फागुन १३ गते गलकोटका पर्यटकीयस्थल भ्रमण गराइने कार्यक्रम रहेको उनको भनाइ छ ।
अन्तरर्राष्ट्रियस्तरमा ख्याती आर्जन गरेका मूर्तिकारहरुले कार्यशालास्थलमै बसेर सिर्जना गरेका मूर्तिकलाका कृतिहरु सङ्ग्रहालय बनाएर राखिनेछ । कलाप्रेमीसहित सर्वसाधारणले पनि कार्यशालाको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् । मूर्तिकला सङ्ग्रहालय, कलाकार, अनसुन्धानकर्मी, विद्यार्थी, कलाप्रेमीलगायतलाई अध्ययन, अनुसन्धानको केन्द्रसमेत बन्नेछ । नेपाल भम्रण वर्ष–२०२० लाई पनि कार्यशालाले टेवा पु¥याउने विश्वास लिइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया