आर्थिक वर्षको समिक्षा अवधिः निर्यात २७ प्रतिशतले वृद्धि, पुरा होला सरकारको लक्ष्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्षको ५ महिनाको अवधिमा भएका आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बस्तु निर्यात २७ प्रतिशतले बढेको देखिन्छ भने व्यापार घाटा ६ दशमलव ३ प्रतिशतले घटेको देखिन्छ । त्यस्तै सरकारले आर्थिक वर्ष २०७६/०७७ को लागि करिव ८ दशमलव ५ प्रतिशतको प्रगतिशिल लक्ष्य हाँसिल गर्ने उदेश्य राखेको छ । समग्र अर्थतन्त्र कुन मार्गमा गइरहेको छ भन्ने कुराको यथेष्ट प्रमाणको लागि अर्थतन्त्रका विविध आयामहरुको अध्ययन गर्नु उपयुक्त मानिन्छ ।

जस्तो कि वैदेशिक व्यापारमा आयात निर्यातको अवस्था, बैदेशिक रोजगारीबाट आउने विप्रेशण आप्रवाहदर, अवधिमा पूँजी बजारका अवस्था, मुद्रा स्फितीको अवस्था आदिको अध्ययन यस समिक्षा अवधिमा अध्ययन गर्ने गरिन्छ । त्यसैले यो विश्लेषणले पनि आगामी दिनको लागि प्रगतिशिल लक्ष्य हाँसिल गर्नको लागि मद्धत गर्दछ ।

आर्थिक वर्ष २०७६/०७७ को ५ महिनाको अवधि पूर्णरुपमा अन्त्य भएको छ । यस अवधिमा राष्ट्र बैंकले हरेक वर्ष यसैगरि मुल्यांकन गर्ने गर्दछ । यो अवधिमा किन पनि विश्लेषणलाई महत्वपूर्ण मानिन्छ भने, यहि अवधिमा भएको आर्थिक प्रगतिको आधारमा नै वार्षिक प्रगतिको आंकलन गर्ने गरिन्छ ।

सरकारको आर्थिक वर्ष २०७६/७७ को लागि नेपालको कुल बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ रहेको छ । त्यसमध्ये ९ खर्ब ५७ अर्ब ६२ करोड, ८० लाख चालु खर्च अर्थात ६२ प्रतिशत रहेको छ । विकास खर्चका लागि ४ खर्ब ८ अर्ब २६ करोड, ६० लाख रुपैयाँ अर्थात २६ प्रतिशत बजेट छुट्याएको छ । त्यस्तै वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ६७ अर्ब अर्थात कुल बजेटको ११ प्रतिशत बजेट छुट्याएको छ । साथै सवा ९ खर्ब ८१ अर्ब राजस्व, ५७ अर्ब अनुदान, २ खर्ब ९८ अर्ब वैदेशिक ऋण तथा १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक स्रोतबाट उठाउँने लक्ष्य सरकारले राखेको छ । भने चालु आर्थिक वर्षमा सरकारले ८ दशमलव ५ प्रतिशत आर्थिक बृद्धि हाँसिल गर्ने सरकारको लक्ष्य छ ।आर्थिक वर्षको यस अवधिलाई समिक्षा अवधिको रुपमा हेर्ने गरिन्छ । यस अवधिमा भएको प्रगतिको आधारमा नै बाँकि रहेको समयको लागि कस्तो रहन्छ भनेर सहजै अनुमान गर्न सकिन्छ ।

कस्तो छ त आ व २०७६/०७७ समिक्षा अवधिको आर्थिक प्रतिवेदन ?

मुद्रास्फीति

वस्तु तथा सेवासुविधाको मूल्यमा हुने उतारचढावलाई मुद्रास्फीतिको रुपमा परिभाषित गर्न सकिन्छ । मुद्रास्फीतिले पनि अर्थतन्त्रलाई प्रभाव पार्ने गर्दछ । त्यसैले पनि मुद्रास्फीतिको अवस्था के छ भनेर हेर्नु महत्वपूर्ण मानिन्छ । चालू आर्थिक वर्षको मंसिरसम्ममा विन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ५५ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्षको यहि अवधिमा ३ दशमलव ७१ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । यो समिक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समुहको मुद्रास्फीति ९ दशमलव ७६ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समुहको मुद्रास्फीति ४ दशमलव १० प्रतिशत रहेको छ ।

उक्त अवधिमा भने गैर खाद्य तथा सेवा समुहको मूल्यमा पनि बृद्धि भएको छ । साथै यस अवधिमा वार्षिक विन्दुगत तलव तथा ज्यालादर सुचकाङक समेत १० दशमलव ४ प्रतिशतका दरले बढेको पाइएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सुचाङ्क ९ दशमलव ३० प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलव सुचकाङ्क १३ दशमलव ५६ प्रतिशत तथा ज्यालादर सुचकाङ्क ९ दशमलव ६ प्रतिशतले बढेको छ ।

वैदेशिक व्यापार

निर्यात

चालु आर्थिक वर्षको पहिलो ५ महिनाको अवधिमा कुल बस्तु निर्यात २७ प्रतिशतले बृद्धि भएको छ । जस अन्तर्गत ४७ अर्ब ६२ करोड बराबरको निर्यात भएको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको यहि अवधिमा निर्यात करिव १२ दशमलव ७ प्रतिशतले भएको थियो । त्यसमध्ये मित्रराष्ट्र भारतसँगको निर्यात व्यापार अग्रणी मानिएको छ । भारतमा ४८ दशमलव ६ प्रतिशतले बृद्धि भएको छ । भने दोस्रोमा ६ दशमलव २ प्रतिशतले बृद्धि भइ चीन निर्यात व्यापार भएको छ । भने अन्य मुलुकमा ३ दशमलव २ प्रतिशतले निर्यात व्यापार बृद्धि भएको छ ।

आयात व्यापार

आर्थिक वर्षको पहिलो ५ महिनामा आयात व्यापार अघिल्लो वर्षको तुलनामा घटेको छ । उक्त अवधिमा कुल बस्तु आयात ४ दशमलव २ प्रतिशतले घटेर ५ सय ८१ अर्ब २६ करोड कायम भएको छ । तर अघिल्लो वर्षको यहि अवधिमा आयात ३४ दशमलव २ प्रतिशतले बढेको थियो। बस्तु आयातको हिसाबले पनि भारत नै अग्रणी मानिएको छ । भारतबाट हुने आयात ९ दशमलव ५ प्रतिशत तथा अन्य मुलुकहरुबाट हुने आयात २ प्रतिशतले घटेको पाइएको छ । भने चीन तर्फको आयात १५ दशमलव ६ प्रतिशतले १५ दशमलव ६ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।

व्यापारको अवस्था

चालु आवको पहिलो ५ महिनाको अवधिमा कुल व्यापार घाटा ६ दशमलव ३ प्रतिशतले कमि भएको छ । जस अन्तर्गत ५ सय ३३ अर्ब ६४ करोड कुल व्यापार घाटा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने यस्तो घाटा ३६ प्रतिशतले बृद्धि भएको थियो । आवको यो समिक्षा अवधिमा निर्यात आयातको अनुपात ८ दशमलव २ प्रतिशत पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो अनुपात ६ दशमलव २ प्रतिशत रहेको थियो ।

विप्रेषण आप्रवाह

चालु आर्थिक वर्षको ५ महिनाको यो समिक्षा अवधिमा विप्रेषण आप्रवाहदर ० दशमलव १ प्रतिशतले बृद्धि भएको छ । जसअन्तर्गत कुल ३ सय ७६ अर्ब ९९ करोड कायम भएको तथ्यांकमा उल्लेख रहेको छ । तर अघिल्लो आवको सोही अवधिमा विप्रेषण आप्रवाह ३१ दशमलव ९ प्रतिशतले बढेको थियो । यसैक्रममा अमेरिकी डरलमा विप्रेषण आप्रवाह ० दशमलव ७ प्रतिशतले बढेको छ । भने अघिल्लो आवको सोही अवधिमा यस्तो आप्रवाह १९ दशमलव २ प्रतिशतले बृद्धि भएको थियो ।

विदेशी मुद्रा सञ्चिति

चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा विदेशी मुद्राको सञ्चिति ४ दशमलव ८ प्रतिशतले बृद्धि भएको छ । २०७६ असार मसान्तसम्ममा कुल विदेशी मुद्रको सञ्चिति १०३८ अर्ब ९२ करोड रहेको थियो । भने आवको मंसिर अन्त्यसम्ममा विदेशी मुद्राको सञ्चिति बृद्धि भइ १०८८ अर्ब ३१ करोड पुगेको छ ।

कच्चा पेट्रोलियम तथा सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम को मूल्य २०७५ मंसिर अन्त्यसम्ममा प्रति ब्यारेल अमेरिकी डलरमा ५८ दशमलव ५६ रहेकोमा २०७६ मंसिर मसान्तमा १६ दशमलव २ प्रतिशतले बृद्धि भइ प्रति व्यारल अमेरिकी डलर कायम भएको छ । भने सुनको मूल्य २०७५ मंसिर मसान्तमा प्रति आउन्स अमेरिकी डलर १२३५ दशमलव ३५ रहेको थियो । भने २०७६ मंसिर मसान्त सम्ममा १९ दशमलव ६ प्रतिशतले बृद्धि भए प्रति आउन्स अमेरिकी डलर १४७७ दशमलव ९० पुगेको छ ।

सरकारी वित्त स्थिती

चालु आवको पहिलो पाँच महिनाको अवधिमा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति ६२ अर्ब २३ करोड बचत रहेको छ । भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ३७ अर्ब ५६ करोड बचत रहेको थियो । त्यस्तै सो अवधिमा केन्द्र सरकारको कुल खर्च २८७ अर्ब ८४ करोड रहेको छ । भने अघिल्लो आवको सोही अवधिमा यस्तो खर्च २७३ अर्ब ७४ करोड रहेको थियो ।

पूँजी बजार

नेपाल धितोपत्र बोर्डमा पूँजीको अवस्था यस अवधिमा केहि उतारचढाव देखिएको छ । २०७५ मंसिर मसान्तमा ११४८ दशमलव ८ प्रतिशत रहेको नेप्से सूचकाङ्क २०७६ मंसिर मसान्तमा ११५४ दशमलव १ विन्दु कायम भएको छ । त्यस्तै २०७६ असार मसान्तमा यस्तो सूचकाङ्क १२५९ विन्दुमा धितोपत्र बजार मापक नेप्से रहेको थियो । धितोपत्र बजारमा पूँजीकरण वार्षिक विन्दुगत आधारमा ७ प्रतिशतले बृद्धि भएको छ । २०७६ असार मसान्तमा धितोपत्र बजारको कुल पूँजी १४६६ अर्ब ५ करोड रहेको छ । भने २०७६ असार मसान्तमा बजार पूँजीकरण १५६७ अर्ब ५० करोड रहेको तथ्यांकले देखाएको छ ।

र यो पनि

आर्थिक वर्षको पहिलो चौमासिकः कुन मन्त्रालयको खर्च कति ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?