एकजोर जुत्ताको सपनाले मालिक बनायो, पौरखी कृष्णराज भन्छन्, ‘उद्यम गर्न पैसा होइन तरिका चाहिन्छ’

कथा सामान्य छ । रामेछापको एउटा सानो गाउँमा एक बालक थिए । खाली खुट्टा उकाली ओह्राली गरेका उनका गोडा राम्रा चप्पल लगाउन चाहन्थे । राम्रो डिजाइन भएका कपडा लगाउन नपाएको उनको आङ सुकिला लुगा फेर्न चाहन्थ्यो । उनीजस्तै उनका सपना पनि कलिला थिए । र, सरल पनि ।
विस्तारै समयसँगै उनी हुर्किए र उनको सपना पनि ।

अब उनलाई शहरमा सानै भएपनि घर होस् भन्ने लाग्न थाल्यो । एसएलसीपछि त्यही सपना साकार गर्न उनी ‘स्वप्न नगरी’ काठमाडौं पसे । पढाइ खर्च जुटाउन सामान्य कपडा पसलमा काम गर्न थाले । कमाएको पैसा क्याम्पस फी तिर्न, बस्न, खन र पाकेट खर्चकै लागि ठिक्क हुन्थ्यो ।
एउटा निम्न मध्यम वर्गीय युवाले सपनाको बोझ लिएर अपरिचित शहरमा संघर्ष गरिरहँदा जेजस्ता कठिनाइहरुसँग साक्षात्कार हुनुपर्छ, उनी पनि त्यस्तै समस्यासँग जुध्दै अघि बढे ।

 

२ वर्षमा उनले शहरलाई नजिकबाट चिने । यहाँको आनीबानी, जीवनशैलीको राम्रो परख गर्नसक्ने भए । उनको सपनाको आयाम अझै फैलियो । तर, कमाइ र सपनाको हैसियत मिलेन । अन्ततः उनी विदेश हानिए ।

विदेशसँग उनलाई मात्र २ कुराको आशा थियो, ‘अनुभव र पूँजी’ । २ वर्षमै व्यवसाय शुरु गर्न पर्याप्त रकम जम्मा गरेपछि स्वदेश फर्किए उनी । काठमाडौंको जमलस्थित एउटा सानो सटर कोठामा कपडा पसल शुरु गरे ।

अहिले त्यही सटरबाट शुरु गरेको व्यवसाय गार्मेन्ट कम्पनीमा रुपान्तरित भएको छ । गार्मेन्टमा ‘नेपाली ब्रान्ड’का कपडा उत्पादन हुन्छन् । कम्पनीमा उनीजस्तै गाउँबाट आँखाभरि सपना बोकेर आएका ३ सय बढी स्वाबालम्बी युवाहरुले काम पाएका छन् । राम्रो चप्पल लगाउने इच्छादेखि शुरु भएको उनको सपनाको यात्राले उनलाई युवा उद्यमी बनाएको छ । उनी अर्थात्, कृष्णराज तिमिल्सिना ।

नेपालीकै हातबाट नेपालीले लाउने कपडा नेपालमै उत्पादन गर्ने उद्देश्यले ३२ वर्षीया कृष्णराज तिमिल्सिनाले ‘थ्रेड गार्मेन्ट’ स्थापना गरेका छन् । बजारमा प्रचलित लिमिटेड एडिसन, थ्रेड, केटि जिन्स, सिएम, अर्बन आउटफिटर, लेजेन्ड जेन्टलम्यान जस्ता ब्राण्डका कपडा यही कम्पनीमा उत्पादन हुन्छन् ।

साढे ५ रोपनी जमिनमा फैलिएको यस गार्मेन्ट कम्पनीमा पस्नासाथ छुट्टै वातावरणमा पुगेको अनुभव हुन्छ । लस्करै कपडा सिउने मेसिन राखिएको छ । ३ सय भन्दा बढी कामदार धमाधम काम गरिरहेका हुन्छन् । कोही डिजाइन कोर्दै, कोही काट्दै, कोही सिउँदै, कोही इस्त्री लगाउँदै, कोही पट्याउँदै । सामान्य कपडाको ठेलीलाई उनीहरुको सीप र मिहिनेतले नयाँ स्वरुप दिइरहेको हुन्छ । दिनमा हजारौंको संख्यामा कपडा उत्पादन हुन्छ थ्रेड गार्मेन्टमा ।

कृष्ण आफै पनि हरेक दिन निगरानी गर्न घुमिरहन्छन् । प्रत्येक कामदारको डेस्कसम्म पुगेर उनीहरुको काम हेर्छन्, हालखबर बुझ्छन् । कटाइ वा सिलाइमा केही गल्ती देखिए ‘यसो गर्नुस्’ भन्दै सिकाउँछन् ।

आफ्नो परिश्रमी प्रवृत्तिले नै कम्पनी यो उचाइसम्म आइपुगेको बताउँछन् उनी । ‘मलाई याद भएसम्म मैले एकदिन पनि आराम लिएको छैन,’ गर्विलो आवाजमा उनी सुनाउँछन्, ‘शनिवार पनि म फ्याक्ट्री आउँछु ।’

तिमिल्सिनाका अनुसार परिश्रम गरेर कुनै मान्छे सानो हुँदैन । अलिअलि पैसा कमाउन थालेपछि ‘अहमता’ पालेर कामै गर्न छाड्ने, मालिक भएर हुकुम लगाउने नेपाली प्रवृत्तिको चर्को आलोचना गर्छन् उनी । ‘कम्पनीको मालिकले बसीबसी खानुपर्छ जस्तो मलाई लाग्दैन,’ उनी भन्छन् ।

देशमै केही गर्न चाहने तर, लगानीको अभावले गर्दा हरेस खाएका युवाहरुका निमित्त कृष्णराज भन्छन्, ‘व्यवसाय गर्न धेरै पैसा होइन तरिका चाहिन्छ ।’
देशमा उत्पादनको निकै खाँचो भएकाले यतिवेला कपडा मात्रै होइन हरेक सामाग्रीको उत्पादनमा फाइदै भएको उनको भनाइ छ । अनि ‘यति सानै उमेरमा यति धेरै प्रगति’ भन्दै अचम्मित हुनेहरुका लागि पनि उनीसँग तयारी उत्तर छ, ‘सफलताको कुनै उमेर हद हुँदैन ।’

त्यसो त, कृष्णराज अझै थाकेका छैनन् । उनलाई यतिले अझै पुगेकै छैन । हो, अहिले उनीसँग लगाउनलाई राम्रा चप्पल, जुत्ता छन्, काठमाडौंमै घर पनि बनाइसकेका छन् उनले । यसो हेर्दा उनले देखेका सपनाहरु लगभग पूरा भएजस्तो लाग्छ । यद्यपि, उनलाई अबका दिनमा कपडा उत्पादन मात्र होइन ती कपडा बनाउने कच्चा पदार्थ पनि देशमै उपलब्ध होस् भन्ने चाहना छ । नेपाललाई कपडामा ‘आत्मनिर्भर’ बनाउने अभियानमा लागिपरेका छन् उनी ।

कृणराजको चाहनाको आयाम अझै बढेको छ । फराकिलो बन्दै गएको छ । भन्छन्, ‘आखिर मानिस चाहनाहरुलाई पछ्याउँदै नै बाँच्ने रहेछ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?