विष खुवाएर २ छोराको हत्या गर्ने आमालाई जन्मकैद

दैलेख । आफ्नै आमाले सन्ततिको हत्या गरिन भन्दा तपाई विश्वास गर्नुहुन्छ ? दैलेखमा आफ्नै आमाले दुई छोरालाई विष खुवाइ हत्या गरेकी छिन् ।
जिल्लाको महाबु गाउँपालिका १ खरिगैराकी २४ वर्षीया कल्पना नेपालीलाई आफ्नै छोरालाई विष खुवाइ हत्या गरेको अभियोगमा जिल्ला अदालत दैलेखले जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासबाट उक्त फैसला गरेको दैलेख जिल्ला अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिए । ०७५ कात्तिक १० गते दिउँसो खाजामा विष घोलेर खुवाएपछि सात वर्षीय जेठो छोरा आयुष नेपाली र तीन वर्षीय कान्छो छोरा अमित नेपालीको मृत्यु भएको थियो।

विष खुवाएको थाहा पाएपछि स्थानीयको पहलमा अस्पताल लैजादै गर्दा आयुसको बाटोमै र अमितको उपचारको क्रममा ०७५ कात्तिक १५ गते कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको भनी जिल्ला प्रहरी कार्यालय दैलेखमा कात्तिक १६ गते जाहेरी दर्ता भएको थियो ।

आयुषको कात्तिक १० गते दैलेख जिल्ला अस्पतालमा र अमितको कात्तिक १५ गते कोहलपुर मेडिकल कलेजमा शव परीक्षण भएको थियो । शव परीक्षण प्रतिवेदनमा ती दुवै बालकलाई विष खुवाइएका कारण ज्यान गएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?