भद्राकुमारी घले अर्थात् कथा र संघर्षको सिङ्गो सङ्ग्रहालय

राजनीति, समाजसेवा, साहित्य र चित्रकलामा फैलिएको भद्राको आयाम

८८ वर्षको बुढ्यौली उमेरमा हिँडिरहेको एउटा जीवन आफ्नो यात्रामा ओखलढुङ्गा, जनकपुर, सिन्धुली हुँदै बनारससम्म पुगेको छ । त्यस जीवनले राजनीति, समाजसेवा, साहित्यदेखि लिएर चित्रकलालाई समेत छोएको छ । त्यही जीवनका आँखाले देशमा राजतन्त्रदेखि गणतन्त्रसम्मका दृश्यावलोकन गरेका छन् । अनि, जिब्रोले परम्परागत र आधुनिक दुवै समाजको आस्वादन गरेको छ । त्यसैले त भद्राकुमारी घले एक साधारण व्यक्ति होइन कथाहरुको एउटा सिङ्गो सङ्ग्रहालय हुन् । विभिन्न आयाममा फैलिएको उहाँको हरेक व्यक्तित्वसँग सुनाउनलाई अनेकौं किस्साहरु छन् ।

छोरी मान्छे सफल हुनुमा उसको परिवारको ठूलो हात हुन्छ भन्ने भनाइ भद्राको जीवनले पनि पुष्टि गर्छ । सिन्धुलीको अम्बोटे र हसाइमा २५ वर्षसम्म लगातार प्रधानपञ्च भएकी भद्राकी आमा भक्तकुमारी घलेको बिँडो थाम्दै देशमा पञ्चायती शासनव्यवस्था आएपछि राजनीतिमा प्रवेश गरेकी भद्रा ५ पटक माननीय अर्थात् राष्ट्रिय पञ्चायत्को सदस्य बनिन् । र, त्यसपछि केही समय राज्यमन्त्रीका रुपमा उनले आफ्नो राजनीतिक कार्यभार सम्हालिन् ।

भद्रा जुन समयमा जन्मिइन् त्यसवेला छोरीहरु कि ‘फलानोकी छोरी’ भनेर चिनिन्थे या फलानोकी श्रीमती वा फलानोकी आमा । आफ्नो अस्तित्व पुरुषसँग गाँसिएपछि मात्रै सार्थक हुने त्यस समयमा भद्राले पुरुषसँगै प्रतिष्पर्धा गरी आफ्नो पहिचान बनाइन् ।

त्यसैले त आफ्ना साथीसङ्गी हँसिया र डोको बोकेर जङ्गल छिर्दा उनी सीसाकलम र कापी हातमा लिएर गान्धी आश्रम छिरिन् । र, बनारसको काशी विश्वविद्यालयमा शास्त्रीय शिक्षा हासिल गरिन् । हक्की स्वभावकी भद्रालाई सबैले ‘भद्रा’ दिदी भन्थे । आफूलाई सवल र सफल बनाउने सबैभन्दा मुख्य तत्त्व शिक्षा नै भएको उनी बताउँछिन् ।

भद्राभित्र अनेकौं व्यक्तित्वहरु टमक्क मिलेर बसेका छन् । कहिले उनको खरो व्यक्तित्व राजनीतिज्ञ बनेर बाहिर आउँछ त कहिले उनीभित्रको ममतामयी भद्रा ‘समाजसेवी’ बनेर मुस्कुराउँछ ।

त्यस्तै, आफ्नो सिर्जनशील व्यक्तित्वलाई भद्राले चित्रकला र साहित्य सिर्जनामार्फत् निकास दिन्छिन् । भद्राले कोइला, रातोमाटो, ध्वाँसोजस्ता प्राकृतिक रङ्गहरुको प्रयोगले कोरेका चित्र र आफ्ना जीवनकालमा लेखेका १ सय ४० भन्दा बढी पुस्तकहरु ‘भद्रकुमारी सेवा सदन’ नामक उनकै संस्थामा सुरक्षित साथ राखिएको छ । अहिले पनि उनका कलम कहिले कविता, कहिले गजल, कहिले कथा त कहिले भजन लेख्न दगुरिरहन्छन् । तर, न कलम थाकेको छ न त भद्रा ।


भद्राकुमारी घलेका रमाइला किस्सा र प्रेरणादायी जीवनकथा सुन्न भिडियो लिंक क्लिक गर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?