इरानको मिसाइल हमला भोगेका एक नेपालीको बयान, हल्ला पहिल्यै फैलिएको थियो !

इराकको अलअन्वर क्षेत्रमा रहेको अमेरिकी अल असाद एयरबेस क्याम्पमा मंगलबार राति १० बजेदेखि नै इरानले मिसाइल हान्दै छ भन्ने हल्ला फैलिइसकेको थियो । सेनाले तुरुन्तै आपत्कालीन घण्टी बजाएपछि झापाका राकेश क्षत्रीसहित ९ जनाको टोली जमिनमुनिको बंकरमा गएर बसे । आपत्कालीन घण्टी बजेपछि उनीहरूलाई तोकिएको बंकरमा गएर बस्नुपर्छ भनेर बेस क्याम्पमा पहिले नै सिकाइएको थियो ।
बेस क्याम्पमा फैलिएको हल्ला बुधबार बिहान स्थानीय समयअनुसार १ः४५ मा सही निस्क्यो । इरानबाट लगातार आएको मिसाइल बेस क्याम्पभित्रै ठूलो आवाजले झर्न थाल्यो । २ः४५ मा बल्ल रोकियो । ‘मिसाइलको धक्का निकै ठूलो थियो, यस्तो आवाज मैले यसअघि इराकमा कहिल्यै सुनेको थिइनँ,’ क्षत्रीले फोनमा भने, ‘द्वन्द्वग्रस्त क्षेत्रमा यस्तो हुन्छ भन्ने मैले पहिला नै भोगेको थिएँ, नयाँ साथीहरू भने निकै डराए ।’
क्षत्री पछिल्लो पटक १९ महिनाअघि मात्र इराक गएका थिए । त्यसअघि सन् २००७ देखि ११ सम्म बग्दादमा अमेरिकी सेनाकै क्याम्पमा कार्यरत थिए । ‘त्यतिखेर दैनिक १० वटा मोटर क्याम्पमा झर्थ्यो । बम आउँथ्यो । त्यसले मलाई बानी पारेको थियो । बुधबार बिहानको आवाज भने साँच्चिकै डरलाग्दो थियो,’ उनले भने, ‘१० पटकसम्म झरेको त गनियो, त्यसपछि कतिवटा झर्‍यो याद गर्न सकिनँ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?