अमेरिका र इरानबीच तनाव बढेसँगै खाडी क्षेत्रमा रहेका नेपालीबारे चिन्ता सुरु

काठमाडौं । अमेरिका र इरानबीच तनाव बढेसँगै खाडी क्षेत्रमा रहेका नेपालीबारे चिन्ता सुरु भएको छ । दुई देशको तनाव बढ्दा ईरान र इराकसँगै मध्य पूर्वका अरु देशमा पनि असर पर्ने भएकाले परराष्ट्रले दूतावासलाई खाडी र मध्यपूर्व क्षेत्रमा रहेका नेपालीहरुलाई सम्पर्कमा रहन आग्रह गरेको छ ।

खाडीमा तनाव बढ्दै गएपछि आइतबार परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीले यसबाट प्रवासमा रहेका नेपालीमा पर्नसक्ने असर र त्यसबाट सुरक्षित रहने उपायबारे छलफल गरेका छन्।

यस क्षेत्रमा रोजगारीका सिलसिलामा लाखौं नेपालीहरु रहेका छन् । नेपालका सरकारी अधिकारीहरुले सम्बन्धित देशका दूतावासलाई विकसित परिस्थितिबारे बुझ्न र खाडी क्षेत्रमा कार्यरत नेपालीहरुलाई दूतावासको सम्पर्कमा रहन आग्रह गरेको छ।

परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा रहेका नेपाली दूतावासहरु र दूतावास नभएका देश हेर्ने निकायलाई त्यहाँ कार्यरत नेपालीसँग सम्पर्कमा आग्रह गरेको छ।
सरकारले इराकमा काम गर्न रोक लगाए पनि त्यहाँ अवैधानिक बाटोबाट पुगेका १५ हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ । इरानमा कति नेपाली छन् भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?