१६ जिल्लाका अस्पताल न्यूनतम सेवा मापदण्डमा फेल

देशभरका ८३ मध्ये १६ जिल्लाका अस्पताल न्यूनतम सेवा मापदण्डमा फेल भएको खबर नयाँ पत्रिकामा समाचार छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अध्ययनमा ती अस्पतालहरू न्यूनतम सेवा मापदण्डमा निकै कमजोर साबित भएका हुन् । मन्त्रालयले पहिलो चरणमा गरेको अध्ययनका क्रममा ८३ वटै अस्पतालमा न्यूनतम सेवा नभएको पाइएको थियो ।

सबै अस्पतालहरूले पूर्णांकको ४८ प्रतिशत मात्रै नम्बर पाएका थिए । तर, दोस्रो र तेस्रो चरणको अध्ययनमा धेरै अस्पतालले सुधार गरेका थिए । १६ अस्पतालमा भने तेस्रो चरणमा पनि न्यूनतम सेवा मापदण्ड उस्तै रहेको थियो ।

उनीहरूको स्कोर ६० प्रतिशतभन्दा कम रहेको छ । जिल्ला तहका अस्पतालहरूलाई प्रत्येक वर्ष स्वास्थ्य तथा जनसंख्था मन्त्रालयले न्यूनतम सेवा मापदण्डका लागि २४ देखि ४० लाख र एनएसआई नामक संस्थाले पाँच लाख अनुदान प्रदान गर्दै आएको छ । तर, जिल्ला अस्पतालहरूले दिने न्यूनतम सेवाको मापदण्ड भने निकै कमजोर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?