जन्तीलुङसँग लोभिन्छन् पर्यटक

पाल्पा । तिनाउ गाउँपालिका–६ जन्तीलुङमा उत्तरतर्फ सेतै टल्किएका हिमालले निकै लोभिन्छन् । धवलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्रेलगायत लमजुङको गणेश हिमालले लोभ्याउँछन् ।

नजिकै तानसेन बजार श्रीनगरडाँडाले पाल्पालीकै महसुस हुन्छ । जन्तीलुङबाट दक्षिणतर्फ रूपन्देहीको बुटवल, भैरहवा, सालझन्डी, नवलपरासीको दाउन्ने बर्दघाट देखिन्छ । तराईका सुन्दर फाँट देद्यखा जो सुकैलाई मोहित बनाउँछ । नागबेलीजस्ता पहाड, त्यहाँ बनेका खोंच हेर्दा जो–कोही पनि जन्तीलुङ पुगेपछि यस्ता दृश्यबाट लोभिन्छन् ।

कला संस्कृतिको धनी जाति मगर बस्तीमा सञ्चालित घरवासमा सस्तो र सुलभ मूल्यमा स्थानीय परिकार खाना तथा आवासको व्यवस्था गरिएको छ । प्रकृतिसँग रमाउन जन्तीजस्तै गरी पर्यटक ल्याउने स्थानीय बासिन्दाको योजनाअनुसार घरवास सञ्चालनमा ल्याएको हो । यहाँ पुग्ने पर्यटकलाई सयपत्रीको मालाले स्वागत गर्छन् । जन्तीलुङ घुमफिरपछि पर्यटक घरवासमा सुत्छन् ।

साँझको समयमा पाहुनालाई स्थानीय मगर समुदायको पुरानो संस्कृतिमा नचाइन्छ । पर्यटकलाई झाम्रे, ठूलोनाच र सालैजो गीतसहितको सांस्कृतिक मनोरञ्जन प्रदान गरिन्छ । नाचगान र मगर संस्कृतिअनुसार स्वागत पाउँदा पर्यटक फुरुङ्ग हुँदै रमाउँछन् । मगर जातिको संस्कृतिमा झुमिन पाउँदा दुःख बिर्सिछन् । मगर जातिको परम्परागत मौलिक खानाको स्वाद लिन्छन् । मूलाको अचार, कोदोको सेलरोटी, फापर, दालचिनीको रक्सी र स्थानीय कुखुराको मासुको स्वाद लिन्छन् पर्यटक ।

पाल्पाको जन्तीलुङमा मगर जातिको मात्र बस्ती छ । एक हजार ६०० मिटर अग्लो डाँडामा घरवास सञ्चालनमा छ । स्थानीय बासिन्दाले यहाँको विकासका लागि घरवास सञ्चालन गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ अघि बढेका हुन् ।
पर्यटकको सुविधा र यस क्षेत्रकै विकासका लागि घरवास सञ्चालनमा ल्याएको हो । गत वर्षदेखि सञ्चालमा ल्याएको मगर घरवासमा अहिलेसम्म १०० भन्दा बढी पर्यटकलाई स्वागत गरिएको जन्तीलुङ घरवासका अध्यक्ष शेरबहादुर लम्तरीले बताए । गाउँबस्तीको विकास र पर्यटकीय गन्तव्यका रूपमा यस क्षेत्रलाई प्रचार–प्रसार गर्नका लागि घरवास सञ्चालित छ ।

तिनाउ गाउँपालिकाले रु १० लाख बजेटमार्फत मगर बस्तीमा घरवास सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताए । घरवास सञ्चालनपछि जन्तीलुङमा पर्यटक आकर्षण गर्न सहज हुने अध्यक्ष घर्तीको दाबी छ । यहाँका दश घरमा अहिले घरवास सञ्चालित छ । पाहुना ठूलो मात्रा गाउँमा आएमा ३० मिनेटको पैदलयात्रामा तिनाउ–५ मरामकोटमा खोलिएको घरवासमा व्यवस्थापन हुन्छ ।

तिनाउ गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठका अनुसार जन्तीलुङमा आन्तरिक पर्यटकको गन्तव्य बनेपछि घरवास सञ्चालनमा ल्याउने काम भएको हो । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकस गर्ने सम्भावना उत्तिकै छ ।

हिमाल, पहाड र तराईका सुन्दर फाँट प्रायः कमै स्थानबाट अवलोकन हुन्छ । त्यो विशेषता यहाँ रहेको श्रेष्ठको दाबी छ । जन्तीलुङबाट बिहानको सूर्योदय र बेलुकीको सूर्यास्त हेर्न उचित स्थान हुँदा पर्यटक यतातर्फ लोभिने गर्छन् ।

सिद्धार्थ राजमार्गको मस्यामदेखि नौ किलोमिटर यात्रा गर्नुपर्छ । मस्यामबाट अधिकांश डाँडाको भाग हुँदै जन्तीलुङको बस्तीमा पुग्छि । यहाँ टेलिकम, एनसेललगायत विभिन्न इन्टरनेट कम्पनीले टावर राखेकाले पर्यटकलाई आकर्षित गर्न सहज भएको वडाध्यक्ष टमबहादुर पुनले बताए ।

पाल्पा रैनादेवी छहरा–४ अम्लाबाँसका भुवन रायमाझी जन्तीलुङको घरवासमा मगर जातिको कला संस्कृति पहिलोपटक नजिकबाट नियाल्न पाउँदा खुशी देखिन्थे । समग्र संस्कृति प्रचार–प्रसार गरी यहाँका आन्तरिक तथा बाह्य पर्यटकका लागि उचित स्थान रहेको उनको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?