नगरका १० वटै वडा सचिव विहीन

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिकाका १० वटै वडा सचिवविहीन रहेका छन् । नगरपालिका स्थापना भएदेखि नै वडाहरुमा सचिवको अभाव भएको नगर उपप्रमुख जानकी बमले जानकारी दिइन् । उनले भनिन्,“वडाहरुमा सचिव नहुँदा नगरपालिकाले सम्पादन गर्ने काममा बाधा पुगेको छ ।”

दशवटै वडामा सचिवको काम प्राविधिक सहायकहरुले गर्नु परिरहेको नगरपालिकाका सूचना अधिकारी प्रवीन धानुकले बताए । वडाका अधिकांश काम नगरपालिकाबाटै हुने भएकाले नागरिकले नगरपालिका धाउनुपर्ने बाध्यता रहिआएको छ । उनले भने, “सामाजिक सुरक्षाभत्ता लगायतका कामहरु पनि नगरबाटै सम्पादन गर्ने गरिएको छ ।”

वडामा सचिव नहुँदा नागरिकलाई सास्ती हुने गरेको स्थानीयवासीले बताएका छन् । वडामा सचिव नहुँदा नगरपालिकाको केन्द्र धाउनुपर्ने बाध्यता रहिआएको स्थानीयवासी रामबहादुर धामीले बताए । उनले भने, “गाउँमा सिंहदरबार आए पनि कर्मचारी नहुँदा साबिकका गाविसबाट पाइने सेवा पाउन पनि मुस्किल भएको छ ।”

स्थानीय तहमा जनप्रतिनिधि आएको अढाई वर्ष बढी भइसकेको भए पनि अझै कर्मचारीको पदपूर्ति हुन सकेको छैन । कर्मचारीको अभावमा वडा तहबाट पाइने सेवा प्रभावकारी नभएको नागरिकले गुनासो गरेका छन् । कर्मचारी समायोजनपश्चात् जिल्लामा कर्मचारीको अभाव बढी भएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?