नेपाल राष्ट्र बैंकका अहिलेसम्मका गभर्नरः हिमालयन शमशेरदेखि चिरञ्जीवी नेपालसम्म, कस्को कार्यकाल कस्तो ?

काठमाडौं । नेपालको केन्द्रिय बैंक हो, नेपाल राष्ट्र बैंक । नेपालमा नोट निष्काशन गर्ने, मौद्रिक नीतिलाई मार्ग निर्देश गर्ने, बैंक तथा वित्तीय संस्थाहरुको काम कारबाहीको नियमन गर्दै आवश्यक्ता अनुसार नियन्त्रण गर्ने अधिकार नेपाल राष्ट्र बैंकलाई छ । विं स. २०१३ साल वैैशाख १४ गते स्थापना भएको बैंकले आफ्नो मातहतमा धेरै बैंक तथा वित्तीय संस्थाहरुको जन्म दिइसकेको छ । नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि नेपाल राष्ट्र बैंकको भूमिका महत्वपूर्ण छ । साथै सरकारको आर्थिक सल्लाहकारको रुपमा नेपाल राष्ट्र बैंकलाई हेरिएको छ ।

राष्ट्र बैंक आफैमा एक सर्वाेच्च निकाय हो । त्यसैकारण पनि राष्ट्र बैंकको प्रमुख पद अर्थात गभर्नर पदको चर्चा बढी नै हुने गर्दछ । नेपालको अर्थतन्त्रलाई मार्ग दिने काम गर्ने भएकाले पनि गभर्नरको चर्चा परिचर्चा हुने गर्दछ । राष्ट्र बैंकको स्थापना तथा गभर्नर नियुक्त हुनुपूर्व राजा त्रिभुवनका सबै मूद्रामा सदर मूलुकी खानाका प्रमुख खजाञ्चीले गर्ने गर्दथे । हाल नेपाली नोटहरुमा हुने गरेको हस्ताक्षर खजाञ्जीको हैसियतमा पहिलो पटक हस्ताक्षर जनक राजले गरेका थिए । भने पछि भरत राज तथा नगेन्द्र राजले गरेका थिए ।

तर राष्ट्र बैंकको स्थापना पछि भने गभर्नर नियुक्तीसँगै मुद्रामा हस्ताक्षर गभर्नरले गर्न थालेका हुन् । नेपाल राष्ट्र बैंकले आफ्नो कार्यसम्पादको लागि १५ जना गभर्नरलाई बिदा गरिसकेको छ । त्यस्तै अहिलेका गभर्नर डा चिरञ्जीवी नेपाल हुन् । उनको कार्यकाल लगभग सकिने अवस्थामा छ । त्यस्तै राष्ट्र बैंकको अर्काे महत्वपूर्ण पद डेपुटी गभर्नर हो । हाल नेपाल राष्ट्र बैंकमा चिन्तामणी शिवाकोटी तथा शिवराज श्रेष्ठ डेपुटी गभर्नर रहेका छन् । श्रेष्ठ भने आर्थिक अनियमितता तथा अन्य कारणमा निलम्बनमा रहेका छन् । राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नरको पदावदी ५/५ वर्षको रहने गर्दछ । हाल राष्ट्र बैंकले नयाँ गभर्नरलाई स्वागत गर्ने तरखरमा रहेको छ । त्यसकारण पनि यतिबेला राष्ट्र बैंकका गभर्नर को को भए भनेर चर्चा गर्नु महत्वपूर्ण मानिन्छ । हालका गभर्नर डा चिरञ्जिवी नेपालको पदावदी आगामी चैत्रमा सकिँदैछ । त्यसले राजनीतिक वृत्तमा ठूलो हलचल तथा चर्चा चल्न थालिसकेको छ । यस बेलामा ईतिहासलाई हेर्दा को को व्यक्तिहरु जसले राष्ट्र बैंक जस्तो गरिमामय संस्थाको सर्वाेच्च पदमा रहेर काम कारबाही गर्ने अवसर पाए त ? को को भए त राष्ट्र बैंकको गभर्नर ?, कति समय कुर्सीमा बसे? तल चर्चा गरिएको छ । तथा उनीहरुको कार्यावधीमा के के भए त ?

यस्तो छ राष्ट्र बैंकका हालसम्मका गभर्नर तथा उनीहरुको कार्यकाल:

१. हिमालय शमशेर जंगबहादुर राणा
नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बन्ने सौभाग्य पाउने व्यक्ति हुन हिमालय शमशेर जवरा । राणा वि.स. २०१३ बैशाख १४ देखी २०१७ माघ २५ गतेसम्म गरि जम्मा २ वर्ष ८ महिना राष्ट्र बैंकको पहिलो पहिलो गभर्नरका रुपमा रहेका थिए । त्यतिमात्र नभइ २००७ सालपछि ५ वर्ष देशको पहिलो अर्थसचिवको रुपमा अर्थमन्त्रालय तथा अन्य निकायहरुको समेत संस्थापकको रुपमा काम गरेका थिए । गभर्नर रहँदा उनले धेरै सुधारको कामहरु गरेका छन् । भारतीय मुद्राको मात्र प्रचलनमा ल्याइने तराई क्षेत्रमा समेत नेपाली मुद्रा लागू गरि तराइवासीलाई नेपाली अर्थतन्त्र राज्यको अभिन्न अंग रहेको अनुभव समेत गराएका थिए । धेरै निकायहरुमा संस्थापकको रुपमा काम गरेपनि राष्ट्र बैंकको पूर्व गभर्नरका रुपमा नै परिचित रहेका थिए । राणालाई राजा महेन्द्रले नै नियुक्त गरेका थिए । तर पछि महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गर्ने बेलामा उनी समेत राष्ट्र बैंकबाट निकालिएका थिए । त्यस्तै पछि उनले आफ्नै नामबाट हिमालयन बैंक लिमिटेडको स्थापना गरेका थिए ।

२. लक्ष्मी नाथ गौतम
नेपाल राष्ट्र बैंकको दोस्रो गभर्नरका रुपमा लक्ष्मी नाथ गौतमले काम गर्ने सौभाग्य पाए । उनले २०१७ साल माघ २६ गतेबाट २०२२ असार ३ गतेसम्म राष्ट्र बैंकको दोस्रो गभर्नरका रुपमा रहेका थिए । जननिवार्चित सरकारलाई अपदस्त गरि महेन्द्रले शासन सत्ता हातमा लिएका वेला उनी गर्भनरका रुपमा नियुक्त भएका थिए । त्यस बेला राजा महेन्द्रका नाममा छापिएका पैसाहरुमा हस्ताक्षर गर्ने गरेका थिए ।

३. प्रद्युम्नलाल राजभण्डारी
नेपाल राष्ट्र बैंकका तेस्रो गभर्नरका रुपमा काम कारबाही गर्ने व्यक्ति हुन् प्रद्युम्नलाल राजभण्डारी हुन् । उनले गभर्नर लक्ष्मी नाथ गौतमको कार्यकाल सकिएको भोलीपल्ट अर्थात २०२२ असार ४ गतेबाट नियुक्त भई २०२३ साउन १९ गतेसम्म राष्ट्र बैंकको कार्यभार सम्हाल्ने मौका पाएका थिए । साथै राजा महेन्द्रले सत्ता हातमा लिएर नियुक्त गरिएको कारण पनि उनले पनि राजा महेन्द्रको फोटो भएको मुद्रामा हस्ताक्षर गरेका थिए ।

४.डा.भेष बहादुर थापा
डा भेष बहादुर थापा पुर्व राजदुत तथा राष्ट्र बैंकका चौँथो गभर्नर हुन् । उनले वि स २०२३ देखी २०२४ सम्म गभर्नरका रुपमा रहेका थिए । त्यसपश्चात् भने उनी अर्थसचिव, अर्थराज्यमन्त्री तथा अर्थमन्त्री समेत बनेका थिए । त्यतिमात्र होईन थापा अमेरिकाका लागि नेपाली राजदुतका रुपमा दुई कार्यकाल तथा भारतका लागि नेपाली राजदुतको रुपमा एक कार्यकाल बिताएका छन् । त्यस्तै राजा ज्ञानेन्द्रको पालामा परराष्ट्रमन्त्री सम्म बनेका थिए । थापालाई नेपालको कुटनीति तथा परराष्ट्र सम्बन्धका बारेमा विज्ञ मानिन्छन् । नेपालको परराष्ट्रका सम्बन्धमा थापाको अभिव्यक्तिलाई महत्वपुर्ण मानिन्छ ।

५.डा यादव प्रसाद पन्त
नेपाल राष्ट्र बैंकका पाचौं गभर्नर डा यादव प्रसाद पन्त हुन् । यादवले वि.स २०२५ बैशाख २ गतेबाट २०३० बैशाख ६ गतेसम्म राष्ट्र बैंकको. गभर्नरका रुपमा रहेका थिए । पन्त अर्थशास्त्री तथा अर्थविदका रुपमा चिनिएका छन् । त्यतिमात्र नभएर आफ्ना लेख रचना मार्फत उनले नेपाली अर्थतन्त्रलाइ विश्वसामू चिनाउने काम गरेका थिए । पन्त गभर्नर मात्र नभएर जापानका लागि नेपाली राजदुत, वाणिज्य तथा जलस्रोतमन्त्री र अर्थमन्त्रीका रुपमा समेत काम गरेका छन् । उनी २०४० सालमा लोकेन्द्र बहादुर चन्दको मन्त्रीमण्डलमा जलस्रोत मन्त्री भएका थिए । अर्थशास्त्रका ज्ञाता मानिएका पन्तले वनारस हिन्दु विश्वविद्यालयबाट विद्यावारीधी गरेका हुन् ।

६. कुल शेखर शर्मा
नेपाल राष्ट्र बैंकका छैटौँ गभर्नरका रुपमा कुलशेखर शर्माले आफ्नो कार्यकाल विताएका थिए । उनले यादवराज पन्तको कार्यकाल सकिएको भोलीपल्ट अर्थात विस २०३० बैशाख १७ गतेबाट २०३६ मंसिर २६ गतेसम्म गभर्नरका रुपमा रहेका थिए । साथै त्यसबेला राजा महेन्द्रको फोटो अंकित नोटमा केवल हस्ताक्षर गर्दै उनले आफ्नो कार्यकाल सकाएका थिए ।

७. कल्याण विक्रम अधिकारी
नेपाल राष्ट्र बैंकको सातौँ गभर्नरका रुपमा कल्याण विक्रम अधिकारीले कार्यकाल विताएका छन् । उनको कार्यकाल वि.स २०३६ जेठ ३० गतेदेखी २०४१ मंसिर २३ गतेसम्म रहेको थियो । उनी भने राजा वीरेन्द्रको पालामा गभर्नर भएका थिए । त्यस्तै उनका कार्यकाल भने राजा वीरेन्द्रको फोटो अंकित नोटमा हस्ताक्षर गरि कार्यकाल विताएका थिए ।

८. गणेश बहादुर थापा
गणेश बहादुर थापा राष्ट्र बैंकका आठौँ गभर्नर हुन् । राष्ट्र बैंकको गभर्नरका रुपमा २०४१ मंसिर २३ गतेबाट २०४७ जेठ ८ गतेसम्म कार्यकाल रहेको थियो । उनले आफ्नो राजा वीरेन्द्रको तस्वीर अंकित नोटमा हस्ताक्षर गरि कार्यकाल बिताएका थिए ।

९. हरिकृष्ण त्रिपाठी
नेपाल राष्ट्र बैंकका नवौं गभर्नर बन्ने व्यक्ति हुन् हरिकृष्ण त्रिपाठी । उनले २०४७ साउन २६ गतेबाट २०५१ माघ ३ गतेसम्म राष्ट्र बैंकको गभर्नरको रुपमा कार्यभार सम्हालेका थिए । उनले तत्कालिन राजा वीरेन्द्रको नोटमा अंकित फोटोमा हस्ताक्षर गरेका थिए ।

१०. सत्येन्द्र प्यारा श्रेष्ठ
सत्येन्द्र प्यारा श्रेष्ठ राष्ट्र बैंकको दशौं गभर्नरका रुपमा काम गर्ने अवसर पाएका थिए । उनले २०५१ माघ महिनाको ४ गतेबाट २०५६ गतेसम्म राष्ट बैंकको गभर्नर पदको कुर्सी सम्हालेका थिए । उनले पनि तत्कालिन राजा वीरेन्द्रकै फोटो अंकित नोटमा हस्ताक्षर गरेका थिए ।

११. डा तिलक बहादुर रावल
राष्ट्र बैंकका ११ औँ गभर्नर बन्ने व्यक्ति हुन् डा तिलक बहादुर रावल । उनले २०५६ माघ ४ गतेबाट २०५७ भदौ १२ गतेसम्म पहिलो पटक गभर्नर नियुक्त भएका थिए । त्यतिबेला रावललाई भ्रष्टाचारको मुद्धा लागेको थियो । भ्रष्टाचारमा मुसिएपछि उनलाई बर्खास्त गरियो । उनको बर्खास्ती पछि दिपेन्द्र पुरुष ढकाललाई उनको ठाँउमा नियुक्त गरिएको थियो । साथै पछि उनलाई फेरि पुनर्वहाली गरिएको थियो । उनलाई लागेको मुद्धाको छिनोफानो भएसँगै पुनः उनलाई २०६१ साल माघ ४ गतेसम्म राष्ट्र बैंकको ११ औँ गभर्नरको रुपमा रहेका थिए । तर उनले आफ्नो कार्यकालमा दुई राजाको शासन रहेको थियो । २०५८ साल जेठ १९ गते भएको दरवार हत्या काण्डपछि ज्ञानेन्द्र वीरेन्द्रको उत्तराधिकारीका रुपमा आएका थिए ।

१२. दिपेन्द्र पुरुष ढकाल
नेपाल राष्ट्र बैंकका १२ औँ गभर्नरका रुपमा दिपेन्द्र पुरुष ढकाललाई नियुक्त गरियो । ११ औँ गभर्नरका रुपमा रहेका तिलक बहादुर रावललाई आर्थिक अनियमितताको मुद्धा लागेपछि उनलाई नियुक्त गरिएको थियो । उनको कार्यकाल २०५७ भदौ १३ गतेबाट २०५८ बैशाख ४ गतेसम्म रहेको थियो । तर पछि पुनः तिलक बहादुर रावललाई पुनर्वहाली गरिएपछि ढकाललाई अन्य स्थानमा स्थानान्तरण गरिएको थियो ।

१३. विजयनाथ भट्टराई
विजयनाथ भट्टराइ नेपाल राष्ट्र बैंकका १३ औँ गभर्नर तथा गणतान्त्रिक नेपालका पहिला गभर्नरका रुपमा समेत उनले आफ्नो कार्यभार सम्हालेका थिए । उनले २०६१ माघ १८ गतेदेखि २०६५ माघ २ गतेसम्म सम्हालेका थिए । साथै उनको कार्यकालमा कायम मुकायम गभर्नर कृष्ण बहादुर मानन्धरले पनि मुद्रामा हस्ताक्षर गरेको थिए । उनलाई गभर्नर रहेको अवस्थामा रहेकै बेलामा भष्ट्रचारको आरोप लागेको थियो । त्यसैक्रममा उनलाई बर्खास्त समेत गरियो साथै छानविन पश्चात उनलाई पुनर्ववहाली गरिएको थियो । समग्र उनको कार्यकाल २०६६ माघ २६ गतेसम्म उनले गभर्नरको रुपमा काम गर्ने अवसर पाएका थिए ।

१४. दिपेन्द्र बहादुर क्षेत्री
नेपाल राष्ट्र बैंकका १४ औँ गभर्नरका रुपमा दिपेन्द्र बहादुर क्षेत्रीले काम कारबाही गरेका थिए । राष्ट्र बैंकका १३ औँ गभर्नरका रुपमा रहेका विजयनाथ भट्टराई वर्खास्त हुनासाथ उनलाई नियुक्त गरिएको थियो । उनको कार्यकाल २०६५ माघ २ गतेबाट २०६६ साउन ११ गतेसम्म राष्ट्र बैंकको गभर्नरका रुपमा रहेका थिए । त्यतिमात्र नभएर क्षेत्री राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भएका थिए । साथै क्षेत्री अर्थविद् समेत हुन् ।

१५. डा युवराज खतिवडा
वर्तमान अर्थमन्त्री डा.युवराज खतिवडा राष्ट्र बैंकका १५ औँ गभर्नर हुन् । खतिवडाले २०६६ चैत ९ गतेबाट २०७१ साल चैत ५ गतेसम्म राष्ट्र बैंकको गभर्नरका रुपमा रहेका थिए । उनले कोलम्बो यूएनडीपी रीजनल सेन्टरमा वरिष्ठ तीन वर्ष अर्थशास्त्रीको रुपमा सेवा गरेका थिए । त्यस्तै उनले नेपाल सरकारको योजना आयोगको उपाध्यक्षको रुपमा समेत काम गरेका थिए । त्यति मात्र नभएर उनी राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रमुख, त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्यापन समेत गराउनु भएको थियो । साथै त्रिभूवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका अतिथी संकाय सदस्यको रुपमा समेत काम गरेका थिए । शैक्षिक योग्यताको हिसावमा खतिवडाले दिल्ली स्कुल अफ इकोनोमिक्स, दिल्ली विश्वविद्यालयबाट २०४७ मा वित्तीय अर्थशास्त्रमा पिएचडी गरेका थिए ।

१६. डा चिरञ्जीवी नेपाल
नेपाल राष्ट्र बैंकका १६ औँ गभर्नर अर्थात बहालवाला गभर्नर हुन् डा चिरञ्जीवी नेपाल । नेपालले राष्ट्र बैंकको १६ औँ गभर्नरका रुपमा २०७१ साल चैत ५ गते नियुक्त भएका थिए । पाँच वर्षे कार्यकाल हुने गभर्नरको रुपमा उनको पदावदी आगामी चैतमा सकिँदैछ । त्यससँगै १७ औँ गभर्नरका रुपमा को आउने भन्ने कुराले समेत चर्चा चल्न थालेको छ । यस भन्दा पहिले उनी स्वर्गीय सुशिल कोइराला प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकारका रुपमा रहेका थिए । त्यस्तै अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार, उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख सल्लाहकार, धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष लगायत विभिन्न संघ संस्थाहरुमा समेत संलग्नता रहेको थियो ।

उनले सन् १९९४ मा बनारस हिन्दु विश्वविद्यालयबाट श्रम तथा अर्थतन्त्र सम्बन्धमा विद्यावारिधी गरेका हुन् । नेपालले २८ वर्ष प्राध्यापन पेशामा समेत रहेका थिए । त्यस्तै उनले काठमाडौं विश्वद्यिालयको भिजिटिङ प्रोफेसरको रुपमा समेत ६ वर्ष बिताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?