१९ सरकार फेरिए, आएन मेलम्ची : कहिले मेटिएला काठमाडौंको तिर्खा ?

काठमाडौं । वर्षौदेखि भाका फेरिएको मेलम्चीको पानी काठमाडौंबासीका लागि ‘आकासको फल आँखा तरी मर’ भने झै भएको छ । २०४७ सालमा कृष्णप्रसाद भट्टराईले चुनावी एजेन्डा बनाएको मेलम्चीबाट पानी आउने आशामा काठमाडौंबासीले दुई दशक कुरिसके । सिन्धुपाल्चोक जिल्लाको दक्षिण पश्चिम भुभागमा अवस्थित मेलम्ची खोलाबाट पानी ल्याउने काम शुरु भएको २ दशक बितिसकेको छ । तर अँह, पानी आउन सकेन । काठमाडौंले मेलम्चीको पानी आउने हल्लाकाबीच १९ वटा सरकार देख्यो । अनेक खालका शासन व्यवस्था देख्यो तर उपलब्धि शून्य । मेलम्चीको पानी आउने हल्लाको बीच मुलुकको शासन व्यवस्था राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश समेत गरिसकेको छ । तर मेलम्चीले आफ्नो छिमेकी जिल्ला काठमाडौंबासिको प्यास मेटाउन नसक्नु राजनीति गर्नेहरुको लाचारीपनसिवाय केही होईन ।

२०४७ सालमा नेपालका तत्कालीन प्रधानमन्त्री स्वर्गिय कृष्ण प्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर काठमाडौंको जमिन पखाल्ने घोषणा गरेसँगै मेलम्ची खानेपानीको सपना साँचेको हो, काठमाडौले । करिव २७ किलोमिटर सुरुङमार्ग निर्माणका लागि २ दशक भन्दा बढि समय बितिसकेको छ । काठमाडौंमा मानिसहरुको चापसँगै बढ्ने शहरीकरण र बढ्दो मागलाई मध्य नजर गर्दै भट्टराईले पानी ल्याउने संकल्प गरेका थिए । मेलम्चीको पानी ल्याउनका लागि सरकारले २०५५ सालमा मेलम्ची खानेपानी विकास समिती गठन गरि काम शुरु गरेको थियो । यतिका अवधीमा नेपालमा १९ पटक सरकार परिवर्तन भइसकेको छ । साथै त्यसको नेतृत्व गर्दै १९ जना प्रधानमन्त्रीका कुर्सीमा विराजमान भए तर मेलम्चीको पानीले काठमाडौंमा प्रवेश गर्ने सौभाग्य कहिल्यै पाउन सकेन । सरकारसँगै २४ जना मन्त्री साथै २९ जना समितीका अध्यक्ष फेरिएका छन् तर काठमाडौं पानीको अभावमा प्याकप्याक छ ।

देशको केन्द्रिय राजधानी काठमाडौंमा दिनानुदिन मानिसहरुको चाप बढ्दो क्रममा छ । मानिसको चाप बढेसँगै पानीको हाहाकारलाई कम गर्न २०४७ सालमा घोषणा भइ ०५५ सालमा समिती गठन भएको थियो । त्यसको ३ वर्षपछि अर्थात २०५८ सालमा मात्र एशियाली बिकास बैंकको सहयोगमा निर्माणको काम शुरु भएको थियो । काठमाडौंका जनताको दुखसँग जोडेर हेरिने उक्त आयोजनालाई २०६५ सालमा डा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा राष्ट्रिय गौरवको आयोजना घोषणा गरेका थिए । उक्त आयोजना निर्माण पश्चात् काठमाडौंको पानीको हाहाकार केही मात्रामा कमि हुनेछ । तर यो पानी आउँछ कहिले त्यसको टुंगो छैन ।
देशको केन्द्रिय राजधानीको रुपमा रहेकाले काठमाडौंमा जनघनत्व एकदम धेरै छ । हाल काठमाडौंको जनसङ्ख्या ४० लाख हाराहारीमा छ । जसको लागि आवश्यक पर्ने अति आवश्यकिय कुरा हो, पानी । काठमाडौं उपत्यकामा दैनिक पानीको माग ३६ करोड लिटर भन्दा बढि रहेको उपत्यका खानेपानी लिमिटेडको तथ्यांकले देखाएको छ । जस अनुसार आपुर्ती भने सुख्खायाममा पानीको दैनिक ९ करोड लिटर तथा बर्खायाममा साढे १५ करोड लिटर मात्र पानीको आपुर्ती हुने गरेको छ । तर खानेपानीको हाहाकार समस्या समाधानको लागि भन्दै अघि सारिएको राष्ट्रिय गौरवको आयोजनाको पुर्णता पाउन नसक्दा समस्या झन् झन् जटिल बन्दै गइरहेको छ । प्रत्येक व्यक्तिका लागि दैनिक औषत १५० लिटर पानीको आवश्यकता पर्छ । तर हालको अवस्था हेर्ने हो भने काठमाडौंको दैनिक आवश्यकता पुरा गर्नका लागि अझै ५२ करोड ५० लाख लिटर पानीको आपुर्ती गर्नुपर्ने देखिन्छ ।

२०५८ मा निर्माण थालिएको मेलम्चीको लागि धेरै निर्माणकर्ताहरुले काम थालेर बिचैमा काम रोकेका छन् । जसलाई नै काम ढिलाई हुनुको प्रमुख कारणको रुपमा मानिन्छ । १० वर्षे जनयुद्ध, राजनीतिक अस्थिरता तथा राजनीतिक अस्थिरताको कारण परिवर्तन भइरहने नेतृत्व र तीनैसँग फेरिने मन्त्रीहरुका कारण पनि काकाकूल काठमाडौंले मेलम्चीको पानी उपभोग नपाउनुको मूख्य कारण मानिन्छ । नेपालले दुई वर्षअघि मात्र राजनीतिक रुपमा स्थिर सरकार पायो । तर बहुमत पाएको सरकारले समेत यसलाई कहिले पुरा गर्ने भन्ने कुराको टुङ्गो लगाउन सकिरहेको छैन । हाल खानेपानी मन्त्री विना मगरले मन्त्रालयको नेतृत्व गरेको पनि २ वर्षभन्दा बढि भइसकेको छ । तर काममा भने परिवर्तन आउन नसकेको जानकार बताउँछन् ।

त्यसो त मेलम्चीको पानी ल्याउनको लागि समेत राजनीतिक चलखेलको दाउपेचलाई समेत मूख्य कारणको रुपमा हेरिएको छ । मन्त्रालयको जिम्मेवारी राम्रोसँग पुरा गर्न नसकेको भन्ने चौतर्फी आलोचना खेपेकी खानेपानी मन्त्री मगर गत मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तन गर्न चाहेको मन्त्रीको सूचीमा थिईन् । चौतर्फी विवाद हुँदा पनि उनलाई मन्त्रीबाट नहटाइनुमा परिवारवादको ठुलो खेल भयो भन्ने चर्चा चलेको थियो । मन्त्री मगर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको बुहारी हुन् । प्रधानमन्त्री ओलीले मन्त्री परिवर्तन गर्ने भन्ने कुरा चलिरहदा परिवर्तन हुने नाममा उनको नाम अगाडी रहेको थियो ।

प्रचण्डकै एकाघरको मान्छे भएका कारण उनलाई नहटाउन दबाबका कारण पनि मन्त्रीमण्डल पुर्नगठनमा ढिलाई भएको भन्ने तर्क राजनीतिक वृत्तमा ठुलै चर्चा चलेको थियो । मेलम्ची आयोजना निर्माण हुन नसक्नुमा राजनीतिक दाउपेचलाई मुख्य कारणको रुपमा हेरिन्छ । यस भन्दा अघि ९/९ महिनामा परिवर्तन भइरहने मन्त्रीहरुले मन्त्रालय छिर्दा यति काम सक्छु भनी प्रवेश गर्ने तथा निस्किँदा विभिन्न बाहानाबाजी गरेर पन्छिने परिस्थिती हामीले देखेकै हो । त्यहि कारणले गर्दा पनि मेलम्चीको पानीले काठमाडौंको प्यास मेटाउन सकेन । नेताहरुले काठमाडौंबासीका लागि प्रत्येक पटकको चुनावमा मुख्य एजेन्डा बनाएर अघि सार्ने मेलम्चीको हालसम्म ९५ प्रतिशत काम भएको छ । बहुप्रतिक्षित मेलम्ची आयोजनाको आशैआशामा काठमाडौंबासीले गुजारेको दुई दशक निकै दर्दनाक छ । जनजनको पीडा बुझ्ने क्षमता छ भन्दै कुुर्सीमा आसिन हुनेहरुले यसपालीको असारे भाका नसारुन् । र काठमाडौंबासीको ओठमुख नसुकाउन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?