काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली, २०६४ को नवौं संशोधनले निर्माण व्यवसायीहरुले उठाउँदै आएका केही महत्वपूर्ण मागहरु पूरा गरेको भन्दै संशोधनलाई सकारात्मक कदमको रुपमा लिएको छ ।
बुधवार पत्रकार सम्मेलन गर्दै महासंघले नवौं संशोधनले म्याद सकिएर विभिन्न कारणले अलपत्र भएका आयोजनाहरुमा निर्माण व्यवसायीहरुलाई थप एक वर्ष काम सम्पन्न गर्ने अवसर दिनु अत्यन्त सकारात्मक भएको जनाएको हो ।
म्याद थप सम्बन्धी पछिल्लो प्रावधानको उपयोग गर्दै तत्काल आ–आफ्ना परियोजना सम्पन्न गर्नका लागि अहोरात्र कार्य क्षेत्रमा खटिन महासंघले मातहतका निकायहरुलाई विशेष निर्देशन दिएको महासंघका अध्यक्ष रवि सिंहले बताए ।
म्याद थपको निर्णयबाट देशभरका अधिकांश रुग्ण आयोजना एक वर्ष भित्र सम्पन्न हुने भएतापनि प्राविधिक तथा अन्य कारणले केही आयोजनाहरुको काम भने थप गरिएको एक वर्षमा पनि सम्भव नहुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नवौं संशोधनले पूर्वाधारप्रति नेपाल सरकारको प्रतिबद्धता देखिएको भन्दै महासंघले सरकारप्रति आभार व्यक्त गरेको छ । “संशोधित नियमावली अनुरुप रुग्ण आयोजना सुचारु भएर रोकिएको भुक्तानी दिन थालेपछि विकास खर्चको दर बढ्न गई मुलुकको समग्र आर्थिक अवस्था नै चलायमान हुने र पुँजीगत खर्चमा वृद्धि भई मुलुकले आर्थिक प्रगति हासिल गर्ने निश्चित छ ” महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकारले अघि सारेको “समृद्ध नेपाल सुखी नेपाली” को अवधारणालाई मूर्त रुप दिन महासंघ प्रतिबद्ध रहेको भन्दै महासंघ अध्यक्ष सिंहले भविष्यमा पनि समय सापेक्ष रुपमा पूर्वाधार विकास मैत्री ऐन नियम जारी हुने विश्वास व्यक्त गरे ।
“मुलुकको बदलिँदो परिवेशमा निर्माण उद्योगको दक्षता, क्षमता, सेवामा गुणस्तरीयता, पेशागत व्यवसायिकता एवं जिम्मेवारीप्रतिको प्रतिबद्धताले मात्र समग्र राष्ट्रको विकासले सही गति लिन सक्छ” महासंघको विज्ञप्तिमा उल्लेख छ ।
पेशागत हकहित संरक्षण तथा निर्माण उद्योगकोे गुणस्तर अभिवृद्धि गरी विश्वसनीयता एवं व्यवसायीक प्रवद्र्धन गर्न परामर्शदाता, सार्वजनिक निकाय र निर्माण व्यवसायी इमान्दारिताका साथ जिम्मेवारी बहन गर्न प्रतिवद्घ हुनुपर्ने महासंघले जनाएको छ ।
नवौं संशोधन व्यवसायीमैत्री रहेको भन्दै महासंघले पत्रकार सम्मेलन मार्फत नै आफ्ना प्रतिवद्धताहरु समेत सार्वजनिक गरेको छ ।
प्रतिबद्धता अनुरुप महासंघ अन्तर्गत रहेका ७ वटै प्रदेश महासंघ, ७७ वटा जिल्ला संघ र एशोसिएट सदस्यहरु समेत गरी करीब १५ हजार निर्माण व्यवसायी सदस्यहरुलाई यथाशिघ्र काम सुरुवात गरी समयभित्र सम्पन्न गर्न सर्कुलर जारी गरिने महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया