गोप्य सूचना चोर्न मिल्ने भएपछि अमेरिकामा टिकटक प्रतिबन्ध

एजेन्सी । विश्वमै लोकप्रिय बनेको टिकटक अमेरिकामा प्रतिबन्ध लागेको छ । अमेरिकी सेनाले टिकटक एपको प्रयोगमा प्रतिबन्ध लगाएको हो । सुरक्षाका विविध कारणहरु देखाउँदै सेनाले टिकटक एपको प्रयोग कार्यालय प्रयोजनमा प्रयोग हुने मोबाइल फोनमा चलाउन प्रतिबन्ध लगाएको हो ।

अमेरिकी सेनाकी प्रवक्ता प्रमुख सेनानी रोबिन ओचोआले अमेरिकी टिकटक एपलाई साइबर खतराका रूपमा हेरिएको बताएकी छन् ।

सेना प्रवक्ता ओचोआका अनुसार सैन्य अधिकारीहरूलाई सरकारी स्वामित्वमा रहेका मोबाइल फोनहरूमा डिसेम्बर महिनाको तेस्रो साताबाट एप प्रयोग नगर्न सुझाव दिइएको थियो ।

सेनाले निजी मोबाइल फोनमा सो एपको प्रयोगमा रोक लगाउन नसक्ने भए पनि रक्षा मन्त्रालयले हालसालै कर्मचारीहरूका लागि निर्देशिका जारी गरेको हो । निर्देशिकामामा आफूले प्रयोग गर्ने एपहरूबाट सावधान रहन सचेत गराइएको छ।

उक्त एप अमेरिकी नागरिकहरूको डेटा जमा गर्न प्रयोग गर्न सकिने र त्यसले चीनका लागि गोप्य सूचना संकलनमा सहयोग गर्न सक्ने हुँदा राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने भन्दै अमेरिकी सांसदहरुले चिन्ता व्यक्त गरेका थिए ।

टिकटकले हालसालै अमेरिकी प्रयोगकर्ताहरूको डेटा चीनभन्दा बाहिर राखिएको र त्यसमा चिनियाँ कानुनको अधीन नरहने बताएको थियो।

चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्वमा रहेको टिकटकलाई अहिले अमेरिकासहित विभिन्न मुलुकले कडा निगरानी राखेको छ ।

विश्वभरी करिब ५० करोड प्रयोगकर्ता रहेको टिकटकमा स साना भिडयो सार्वजनिक गर्न मिल्छ । टिकटक अहिले विश्वभरिनै युवावर्गले अत्याधिक प्रयोग गर्ने गर्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?