नवीकरणबिनै चल्दै ५० शय्यामुनिका अस्पताल

काठमाडौंं। ५० शय्यामुनिका स्वास्थ्य संस्था नवीकरणबिनै सञ्चालन भएको पाइएको छ । प्रादेशिक संरचनाअनुसार स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० परिमार्जन हुन नसक्दा ती स्वास्थ्य संस्था नवीकरणबिनै सञ्चालन भएको पाइएको हो ।

निर्देशिकामा सरकारी, निजी, सामुदायिक, गैरसरकारी वा सहकारीस्तरमा स्थापना हुने स्वास्थ्य संस्थाको सेवा विस्तार, स्तर वृद्धि, स्वास्थ्य सेवा सञ्चालन गर्दा पालन गर्नुपर्ने मापदण्ड तथा स्वास्थ्य सेवा सञ्चालन अनुमति प्रदान गर्ने उल्लेख छ । तर, पनि सो निर्देशिका प्रभावकारी तवरबाट कार्यान्वयन हुन सकेको छैन । यद्यपि, ५० बेडमाथिका ८० बढी अस्पतालमा भने नवीकरणमा समस्या नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
निजी अस्पतालमा नवीकरणको काम प्रभावकारी ढंगले अघि बढ्न नसकेको हो । मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले निर्देशिका परिमार्जन भएपछि समस्या समाधान हुने बताए । उनले भने, ‘५० बेडमाथिका अस्पतालको नियमित नवीकरण हुँदै आएको छ । प्रादेशिक संरचनामा गएपछि स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० परिमार्जन नहुँदा अप्ठ्यारो परेको हो ।’ राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?