सिटौलाले देउवालाई भने– गुटको नेता नबन्नुस् (पत्रसहित)

काठमाडौँ । काँग्रेस नेता तथा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले पार्टीभित्र सभापति शेरबहादुर देउवालाई गुटको नेता नबन्न सुझाएका छन् ।
सभापति देउवाको अबको पहिलो र प्रमुख जिम्मेवारी १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने रहेको भन्दै सिटौलाले गुटको नेता नभइ नेपाली काँग्रेस पार्टीको सभापति बन्न समेत सुझाएका हुन् ।
‘१३ औं महाधिवेशनबाट सभापतिको रुपमा निर्वाचित तपाईँको अबको पहिलो र प्रमुख जिम्मेवारी १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने हो । यो जिम्मेवारी पूरा गर्न तपाईँ कुनै गुटको होइन, नेपाली काँग्रेको पार्टी सभापति हो भन्ने कुराको स्मरण गरेर सबै पूर्वाग्रहबाट मुक्त भएर प्रत्येक निर्णय गर्दा उदार र कुशलतापूर्वक गनुपर्छ,’ उनले देउवालाई मंगलबार बुझाएका ध्यानाकर्षणपत्रमा भनेका छन् ।

सिटौलाले सभापति देउवालाई ४ बुँदे सुझावसहितको एक ध्यानाकर्षणपत्र बुझाउँदै पार्टीमा बृहत एकता र सहमतिबाट निर्णय गर्ने परिपाटी बसाल्न आग्रह समेत गरेका छन् ।
‘पार्टीको केन्द्रीय तहमा भएको विवादले देशभरीका साथीहरुलाई निराश बनाएको छ । पार्टीभित्र देखिएको बहुमत र बहिस्कारको स्थितिको तत्काल अन्य गरी सम्पूर्ण साथीहरुमा उत्साह जगाउने गरी प्रतिपक्षका सार्वजनिक कार्यक्रम अभियानको रुपमा सञ्चालन गर्न आवश्यक छ । यसका लागि पार्टीभित्र वृहत एकता र सहमतिबाट निर्णय गर्ने परिपाटी बसाउनुपर्छ’, सिटौलाले ध्यानाकर्षणपत्रमा भनेका छन् ।
उनले पार्टीको बृहत्तर एकतालाई मजबुद बनाउन पार्टीको विधान र सो अनुरुप सहमतिबाट निर्णय गर्नका लागि पहलकदमी लिन पनि आग्रह गरेका छन् ।
यस्तै सिटौलालो पार्टीका भ्रातृसंस्था, शुभेच्छुक संस्थालगायतलाई नियममित रुपमा वैधानिक रुपमा चयन गर्ने वातावरण बनाउन, पार्टीका केन्द्रीय विभाग र समिति वा अन्य कुनैपनि संरचना निर्माण गर्दा सहमतिको आधारमा विधान बमोजिम गर्न र महाधिवेशनको कार्यतालिका सच्याउन पनि माग गरेका छन् ।
सरकारको तर्फबाट प्रस्तुत विधेयकहरु र शासकीय शैलीले लोकतान्त्रिक मूल्यमान्यता नै कमजोर भएको उल्लेख गर्दै सिटौलाले यसबाट हुनसक्ने दुर्घटनालाई रोक्ने दायित्व पनि काँग्रेसको हुने भन्दै यसका लागि पार्टीमा स्पष्टता र एकता अपरिहार्य रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?