मोबाइल फोनको ‘वेभ’ले बच्चाहरुमा डरलाग्दो प्रभाव, होसियार ! अभिभावकले ध्यान दिनैपर्छ केही कुरा

काठमाडौं । एकादेशमा छोराछोरी फकाउन बाबुआमा आकाश र ताराका कुरा गर्थे, भगवान र राक्षसका किस्सा खोतल्थे, खरायो र कछुवाका कथा सुनाउँथे । कहिलेकाहीँ खान नमान्दा केटाकेटीलाई बोकेर सारा घर, गाउँ चक्कर लगाउनुपर्ने अवस्था पनि आउँथ्यो । आजभोलि बाबुआमालाई सजिलो छ । मोबाइल फोनले उनीहरुको आधा टाउको दुखाइ निको पारिदिएको छ । केटाकेटी रुन थालुन् या खान नमानुन्, उनीहरुका लागि सबैभन्दा सजिलो उपाय बनेको छ, मोबाइल फोन ।

भर्खर जन्मिएका बच्चा हिजोआज ‘आमा बुबा’ भन्दा शुरुमा कार्टुनका पात्रको नाम भट्याउन थाल्छन् । स्कूल गएपछि उनीहरु गणितका सामान्य शुत्र याद गर्न गा-हो मान्छन् तर, मोबाइलमा खेलिने गेमका नियम भने सजिलै याद हुन्छ ।

यसरी बालबालिकामा मोबाइल फोनको प्रयोग ह्वात्तै बढ्दै जाँदा यसले उनीहरुको स्वास्थ्यमा पार्ने नकारात्मक असरहरुका बारेमा पनि व्यापक अनुसन्धान र छलफल भइरहेको छ ।

मोबाइल फोनप्रति बालबालिकाको बढ्दो आशक्तताका विषयमा मनोविश्लेषक बासु आचार्य भन्छन्, ‘यो सबै अभिभावकहरुकै कमजोरी हो ।’

आजकल बाबुआमा आफ्नो काममा अत्यन्तै व्यस्त हुने भएकाले छोराछोरीसँग खासै समय बिताउन पाउँदैनन्,’ अभिभावकहरुको लापरवाहीले नै छोराछोरी मोबाइल ‘एडिक्सन’मा फस्ने बताउँदै उनी थप्छन्, ‘त्यसैले अहिलेको जेनेरेसन मोबाइल, गेम आदिलाई नै आफ्नो साथी मान्न बाध्य हुन्छन् ।’

तस्वीर : गुगलबाट

आचार्य आफैले परामर्श दिएको एक बालकको उदाहरण दिँदै भन्छन्, ‘चितवनका १० वर्षीया बालक जहिले आत्महत्या गर्छु भन्थे रे । पछि उसलाई परामर्शको लागि ल्याइयो । ऊ विस्तारै खुल्दै जाँदा बल्ल थाहा भयो त्यसो भन्नुको कारण त उसका बाबुआमाको व्यस्तता पो रहेछ ।’

आचार्यले बताएअनुसार ती बालकका बाबु व्यापारी थिए र आमा सहकारीमा काम गर्थिन् । दुवैजना प्राय काममै व्यस्त हुने भएकाले ती बालक घरमा काम गर्ने मान्छेको निगरानीमा हुर्किए । बसीबियाँलोका लागि उनलाई मोबाइल फोन दिइएको छ तर, समय दिइएन । त्यसैले उनी दिनभर त्यही फोन चलाउनमै व्यस्त हुन्छन् । फोनले उनलाई रोगी बनाउँदै लग्यो ।

अदृश्य रुपमा उनको मस्तिष्कमा यी कुराहरुले प्रभाव पारिरहेको छ भनेर तब मात्र प्रष्ट भयो, जब उनको व्यवहारमा अप्रत्यासित परिवर्तनहरु देखा पर्न थाले । आमाबुबाको व्यस्तताले उनमा यति गहिरो असर पारेको छ कि उनी सोझै भन्थे, ‘बाँच्नै मन छैन ।’

अभिभावकको माया, साथ र समयको अभाव र मोबाइल फोनको अधिकतम प्रयोगले बालबालिकाहरुलाई लगाम लगाएको घोडाजस्तो एकोहोरो बनाउँदै लगेको छ ।

तस्वीर : गुगलबाट

सेल फोनले एक प्रकारको विकिरण उत्सर्जन गर्दछ जुन ‘रेडियो फ्रिक्वेन्सी इलेक्ट्रोमैग्नेटिक रेडिएसन’का नामले चिनिन्छ । यसलाई माइक्रोवेभ विकिरण पनि भनिन्छ । यस प्रकारको विकिरणले क्यानसरको जोखिम निम्त्याउँछ भनेतापनि अझैपनि पूर्ण रुपमा यो कुरा पुष्टि भइसकेको छैन ।

यद्यपि, समान्यतः यस्ता विकिरणहरु विशेष गरी बालबालिकाका लागि हानिकारक नै हुन्छन् भन्ने चाहिँ पुष्टि भइसकेको छ ।

विभिन्न अनुसन्धानले देखाएका केही घतलाग्दा नतिजाहरु यसप्रकार छन् :

सन् २०१० मा भएको सेल फोन रेडिएसनको एक अध्ययनले देखाएअनुसार, सामान्यतया वयस्ककोभन्दा बच्चाहरुको दिमागको अधिक भाग सेल फोन रेडिएसनको जोखिममा हुन्छ किनकी आकारको हिसाबले बच्चाको दिमाग सानो भएपनि त्यसले वयस्कको मस्तिष्कले लिने जति रेडिएसन लिइरहेको हुन्छ । यसो हुँदा वयस्कको तुलनामा बालबालिकाको मस्तिष्कमा दुई गुणा बढी र खोपडीको हड्डीमा भएको बोन म्यारोमा १० गुणा बढी आरएफ (रेडियो फ्रिक्वेन्सी) जम्मा हुन्छ ।

अर्को अध्ययनले पत्ता लगाएको छ कि २० वर्षको उमेर भन्दा पहिले सेलफोन प्रयोग गर्न थालेका व्यक्तिहरूलाई वयस्क भएपछि सेल फोन प्रयोग गर्न शुरु गर्ने व्यक्तिको तुलनामा ब्रेन ट्यूमरको जोखिम बढी हुन्छ ।

अनुसन्धानले यो पनि बताउँछ कि सेल फोनको प्रयोगले बालबालिकाको व्यवहारमा पनि असर गर्दछ । अध्ययन गरिएका बालबालिकाहरुमध्ये जसको व्यवहारमा समस्या देखियो, जो अरु बच्चासँग चाँडै घुलमिल हुन सकेनन् तिनका आमाहरुले गर्भवती भएका वेला अत्याधिक मोबाइल फोन प्रयोग गरेको कुरा पत्ता लाग्यो । यद्यपि, यो नतिजालाई सतप्रतिशत सही मान्ने अवस्था चाहिँ छैन । किनभने बच्चाहरुको व्यवहारमा अभिभावकको हेलचेक्राइ वा गलत अभिभावकत्वको पनि असर परेको हुनसक्छ ।

बालबालिका र सेल फोन प्रयोगको बारेमा गरिएको एक अनुसन्धानका अनुसार जति सानो उमेरको बालबालिका हो त्यति नै ब्रेन ट्युमर र ब्रेन क्यान्सरको जोखिम बढी हुन्छ । त्यस्तै, किशोरीहरुले आफ्नो ब्राभित्र सेल फोन राख्ने हुनाले ब्रेस्ट क्यान्सरको सम्भावना पनि हुने सोही अनुसन्धानले बताउँछ ।

जति अनुसन्धान भएका छन् र जेजस्तो नतिजा निस्किएको छ ती सबै सतप्रतिशत प्रमाणित भने होइनन् । सेल फोन यसरी छ्याप्छ्याप्ती प्रयोग हुन थालेको धेरै नभएको र क्यान्सर, ट्युमर जस्ता रोग पूर्णरुपमा देखापर्न केही दशक लाग्ने हुनाले यस बारेमा भएका अधिकांश अनुसन्धानहरु पूर्ण छैनन् ।

यद्यपि, आफ्ना छोराछोरीलाई केही क्षण फकाउनका लागि वा उनीहरुको रुवाइ, घुर्काइबाट छुट्कारा पाउनका लागि ‘मोबाइल’लाई हतियार बनाउनु गलत भएको बताउँछिन् मनोविद् करुणा कुँवर । ‘बालबालिकालाई भनेर सिकाउने भन्दा पनि गरेर देखायो भने छिटो बुझ्छन्,’ कुँवर भन्छिन्, ‘अभिभावक आफै पनि उनीहरुको अगाडि मोबाइल क्रेजी हुनुहुँदैन ।’

फुर्सदको समयमा मोबाइल चलाउने भन्दा पनि आफ्ना छोराछोरीसँग समय बिताउने ग-यो भने उनीहरुले आमाबुबाको अनुपस्थितिमा पनि अन्य तरिकाबाट समयको सदुपयोग गर्न सिक्छन् भन्दै मनोविद् कुँवरले अभिभावकलाई सतर्क रहन सुझाइन् ।

मनोविद्हरुले सुझाएअनुसार मोबाइलको हानिकारक विकिरणहरुबाट बच्न यस्ता उपायहरु अपनाउन सकिन्छ :

– बच्चालाई मोबाइल फोन खेलाउन दिँदा वा गर्भवती महिलाको पेट नजिकै मोबाइल भएको वेला फोनलाई ‘एरोप्लेन मोड’मा राख्ने ।

– इन्टरनेट प्रयोग नगरेको वेला घरको वाइफाइ र प्राविधिक उपकरणहरु बन्द राख्ने । राति सुत्ने वेला वाइफाइ सधैं बन्द गर्ने ।

– नगरी नहुने अवस्थामा मात्रै बच्चाहरुलाई मोबाइलमा कुरा गर्न दिने । फोनमा कुरा गर्दा स्पिकरमा बाल्ने वा इयरफोन प्रयोग गर्ने ।

– बच्चालाई फोन प्रयोग गर्न दिँदा उचित दूरी कायम राख्न लगाउने । उनीहरुले केकसरी फोन चलाइराखेका छन् भनेर छेउमै बसेर निगरानी गर्ने ।

– मोबाइल फोन कम्पनीले आफ्नो उपकरण कति दूरीमा राखेर प्रयोग गर्ने भनेर जानकारी दिएको हुन्छ । मोबाइलसँगै आउने पत्रहरु ध्यान दिएर पढ्ने र निर्देशन अनुरुप प्रयोग गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?