कीर्तिपुर-तीनथाना जोड्ने पुलको शिलान्यास

काठमाडौं । कीर्तिपुर–तीनथाना जोड्ने मोटरेबल पुलको शिलान्यास गरीएको छ । शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बसन्तकुमार नेम्बाङले पुलको शिलान्यास गर्नुभएको हो ।

२५ मिटर लम्बाई र ११ मिटरको फुटपाथ सहितको उक्त पुल अर्को वर्षको मंसिरमा निर्माण सम्पन्न गर्ने लक्ष राखिएको छ । कीर्तिपुर तीनथाना सडक खण्ड स्थित बल्खु खोलामा निर्माण प्रारम्भ गरिएको यो पुल ३ करोड ४४ लाख ७१ हजार लागतमा ठेक्का सम्झौता भएको छ । कीर्तिपुर तीनथाना हुदै चन्द्रागिरी जोड्ने यो बाटोलाई ऐतिहासिक मार्गको रुपमा लिइन्छ ।

शिलान्यासपछि मन्त्री नेम्बाङले पुर्खाले बनाएको ऐतिहासिक पुलको ठाउँमा पक्कि पुल निर्माण सुरु गरेको बताए । उनले भने ‘ऐतिहासिक पुर्खाले निर्माण गरेको पुरानो पुलको ठाउँमा नयाँ पुलको शिलान्यास गर्न सफल भएका छौँ । सरकार सानादेखि ठुलाठूला धेरै पुलहरुको निर्माण गर्न चाहन्छ । यो आर्थिक बर्ष भित्र मात्र ३ सय पुल निर्माण हुँदैछ ।’

उनले काठमाडौं उपत्याकासहित देशभरी योजनाबद्ध ढंगले विकास निर्माणको कार्यलाई अघि बढाएको बताउनु भयो । अबको सरकारको लक्ष्य भनेकै रेलमार्ग, सुरुङमार्ग, पानीजहाज लगायत ठूला ठूला योजनाहरुलाई सफल बनाएर अविकसित मुलुकबाट विकासन्मुख मुलुकको रुपमा पुर्याउने बताए ।

योजनाहरु अघि बढाउन कानुनी अप्ठ्याराहरु संशोधन प्रक्रिया अघि बढेको जानकारी गराउँदै उनले विकास निर्माण सबैको साझा एजेण्डा भएको बताए । उनले भने ‘विकास निर्माण सबैको साझा एजेण्डा भएकाले सबै जनप्रतिनिधि, सबै संघसस्था, सबै स्थानीय बासिन्दाहरुले सहयोग र खबरदारी गरेर समयमै पुल निर्माण सम्पन्न हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?