टहराबाट भवनमा विद्यालय सञ्चालन भएपछि विद्यार्थी खुशी

बेझाड | भवन अभावमा टहरामा पढाइ हँुदै आएको रामपुर नगरपालिका–२ स्थित कालिका प्राथमिक विद्यालयले अहिले सुविधा सम्पन्न पक्की भवनबाट पठनपाठन कार्य शुरु गरेको छ ।

पक्की भवनभित्र बसेर पठनपाठन हुन थालेपछि विद्यार्थी खुशी भएका छन् । सामान्य हावाहुरी चलेका बखत बाँसको टहरा नै उडाउने डरले बीचमै विद्यालय बन्द गर्नुपर्ने समस्या थियो । पानी परेका बखत कक्षा कोठाभित्रै पानी पसेर किताब, कापी, झोला नै भिजेर जोगाउनै समस्या परेको कक्षा ४ मा अध्ययनरत छात्रा सुमित्रा विक बताउँछिन् । “अहिले टहराबाट भवनमै बसेर पढ्न पाइएको छ, घामपानी, हावाहुरीको डर छैन, शान्त वातारणमा सहजसँग कोठामा बसेर पढ्न पाउँदा बल्ल विद्यालय जस्तो अनुभूति भएको छ”, उनले भनिन् ।

सामान्य बाँसले बारेको टहराभित्र पठनपाठन हुँदा एउटा कोठामा पढेको कुरा अर्को कोठामा सबै सुनिने हुँदा पढाइमा विद्यार्थीलाई समस्या परिरहेको कक्षा ४ कै छात्र साहिर थापाले बताए। एउटा कोठामा पढाएको कुरा अर्को कोठामा सुनिने हँुदा पढाइमा विद्यार्थीको ध्यान केन्द्रित गराउन समस्या परेको थियो ।

विद्यालयको भवन विना खुल्ला आकाशमुनी पठनपाठन भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि छोटो समयमा विद्यालयले भवन निर्माणमा तदारुकता देखाइएपछि भवन बनेको हो । आव २०७५÷७६ मा भूकम्प पुनःनिर्माण प्राधिकरणमार्फत प्राप्त दुईकोठे भवन निर्माण सम्पन्न भएपछि हाल सञ्चालनमा ल्याइएको हो । सो भवन २३ लाखको लागतमा निर्माण भएको छ । यस भवनमा अहिले बालविकास र कक्षा ४ का विद्यार्थीलाई राखेर पढाइ भइरहेको छ ।

आव २०७६÷७७ मा भूकम्प पुनः निर्माण प्राधिकरणमार्फत तीनकोठे भवनका लागि रु ३५ लाख रकम प्राप्त भएको प्रधानाध्यापक बाबुराम घिमिरेले बताए । सो भवन निर्माणको काम अन्तिम चरणमा छ । त्यस्तै जापानीज नागरिक काजुमासा काकिमी (ओकेबाजे) को रु १० लाख सहयोगमा चारकोठे भवन पनि निर्माणाधीनमा अवस्थामा छ । सो भवनको ढलानका लागि रामपुर नगरपालिकाले तीन लाख रकम सहयोग गरेको छ । निर्माण कार्य सकिन लागेको छ ।

निर्माणाधीन अवस्थामा रहेका दुई भवन माघसम्ममा सम्पन्न हुने सहायक प्रधानाध्यापक रुक्मिणि जिसीले बताए । यहाँ कक्षा बालविकासदेखि ४ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको छ । तीन स्थायी दरबन्दीका शिक्षक, चार निजी स्रोतका शिक्षक, एक बालविकास शिक्षक र एक कार्यालय सहयोगी कार्यरत छन् । कक्षा बालविकासमा १३, कक्षा १ मा १८, कक्षा २ मा दुई, ३ मा तीन, कक्षा ४ मा ११ गरी जम्मा ४७ विद्यार्थी अध्ययनरत छन् ।

भवन निर्माण तथा शौचालय निर्माणमा वडागत बजेटले अपुग हुने भएपछि नगरपालिका कार्यालयबाट नै बजेट विनियोजन गरेर भौतिक संरचना निर्माणमा जोड दिएको वडाध्यक्ष ताराबहादुर थापा बताए । “शिक्षा क्षेत्रमा वडा र नगरले प्राथमिकता दिएको छ, शैक्षिक सामग्री सहयोग, भौतिक संरचना निर्माण गरी गुणस्तरीय शिक्षा दिइरहेका छौँ”, उनले भने । नगरपालिकाको सात लाख सहयोगमा सुविधा सम्पन्न शौचालय निर्माण गरिएको उनले बताए।

रामपुर नगरपालिका–२ कागतीडाँडामा सञ्चालन भइरहेको विद्यालय वस्ती पातलिँदै जादा विद्यार्थी नै न्यून भएपछि २०७५ को शैक्षिक सत्रको शुरुआतमा नै वस्ती नजिकै स्थानान्तरण गरेर पठनपाठन गरेपछि भवन अभावको समस्या परेको हो । पहिलेको ठाउँमा वस्ती पातलिँदै गएपछि विद्यालयमा विद्यार्थीको उपस्थिति नै न्यून भएपछि अर्को विद्यालयसँग गाभिन लागेको विद्यालय स्थानीयको जोडबलमा तल सारिएको वडा सदस्य बालकुमारी थापा बताउछिन् ।

“वस्ती पातलियो, वन जङ्गल नजिकै विद्यालय, विद्यार्थीलाई विद्यालय एक्लै आउन जान समस्या थियो, तल वस्तीमा सारेपछि विद्यार्थी सङ्ख्या ह्वात्तै बढेको छ” उनले भनिन । घामपानी प्रचण्ड गर्मीको तापमा बसेर खुला आकाशमुनी निकै कष्टसँग पढ्न विद्यार्थी बाध्य थिए । खुल्ला आकाशमुनी, केही समय स्थानीय सामुदायिक भवन हुँदै टहरामा पढाउन थालिएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?