काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा विशेषज्ञ डा. सन्दुक रुइत हेमबहादुर मल्ल सम्मानबाट सम्मानित भएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र आँखा विशेषज्ञ डा. रुइतलाई हेम बहादुर मल्ल सम्मानबाट सम्मानित गरिएको हो ।
साल्ट ट्रेडिङ कर्पाेरेसनको प्रायोजनमा स्थापित हेमबहादुर मल्ल सम्मान २०७३ घिसिङलाई र २०७४ डाक्टर रुइतलाई प्रदान गरिएको हो । दुवै जनालाई उपराष्ट्रपति नन्द बहादुर पुनले जनही २ लाख रुपैयाँ नगद र ताम्रपत्रसहित सम्मानित गरेका हुन् ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई लोडसेसङ हटाउन भूमिका खेलेको तथा डा. रुइतलाई आँखा उपचारमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
करिब २५ वर्ष साल्ट ट्रेडिङको महाप्रबन्धकको रुपमा काम गरेका रोलमोडल प्रशासकका रुपमा लिइन हेमबहादुर मल्लको नाममा स्थापना गरिएको सम्मान २०६० सालबाट प्रदान गर्न थालिएको हो ।
यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा. बिमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा.सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम र डा. देवेन्द्र पाण्डे हेम बहादुर मल्ल सम्मानबाट सम्मानित भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया