हिमालकी छोरी याङजोम : घुन्सा वस्तीका आमाहरुको खुसी फर्काउँदै

जब सुत्केरी व्यथाले च्यापेर आमाले संसार छोड्नुभयो...

काठमाडौं । ताप्लेजुङ सदरमुकामबाट ३ दिन पैदल यात्रा गरेर पुगिने घुन्सा वस्ती कञ्चनजङ्घाको काख हो । पर्यटकीय हिसाबले प्रचलित भएपनि विकास र सुखसुविधाभन्दा कोसौं टाढा छ घुन्सा । आजभन्दा करिब साढे तीन दशकअघि सुत्केरी व्यथाका दौरान याङजोमकी आमाको मृत्यु भएको ठाउँ यही हो । अहिले याङजोमको एकल पहलमा त्यहाँ स्वास्थ्य केन्द्र स्थापित भएको छ । स्वास्थ्य केन्द्रमा उपचार हुन शुरु भइसकेको छ ।

‘जे हुन्छ राम्रैका लागि हुन्छ’ भन्नेले जानेरै भनेका होलान् । याङजोमको जीवनमा पनि जेजस्तो घटना भयो त्यसले कालान्तरमा राम्रै नतिजा लिएर आयो । त्यसो त प्रसुतिको पीडामा प्रताडित हुँदा स्वास्थ्य सेवा नपाएर भएको आमाको मृत्युले आफू लगायत परिवारमा तत्कालीन असर पारेपनि त्यही घटनाले गर्दा आज घुन्साका अन्य ‘याङजोम’हरुले आमाको आँचलबाट वञ्चित हुनु नपरेको बताउँछिन् याङजोम । ‘मेरो जीवनमा सबैभन्दा नराम्रो अनुभव त्यही थियो र सबैभन्दा राम्रो अनुभव पनि त्यही घटनापछि सँगाल्न पाएँ,’ याङजोम अगाडि थप्छिन्, ‘आमाको असामयिक निधनको दुःख त छँदै छ तर, त्यही घटनाले मलाई घुन्साजस्तो विकट ठाउँमा स्वास्थ्य चौकी निर्माण गर्ने हौसला दियो ।’

शेर्पा भाषाअनुसार ‘याङजोम’को अर्थ हो ‘लक्ष्मीजस्तै’ अर्थात् लक्षिणको प्रतीक । हुन पनि याङजोम घुन्सावासीका लागि लक्षिण नै सावित भएकी छिन् । आजभोलि स्कुल पढ्ने ससाना बालबालिकाहरु टाउको दुख्यो, ज्वरो आयो भन्दै स्वास्थ्य केन्द्र धाउँछन् । गर्भवती महिलाहरु नियमित जाँचका लागि आउँछन् । प्रसुति सेवाको अभावका कारण ज्यान गुमाउनेको सङ्ख्या निक्कै घटेको छ घुन्सामा । आफ्नो प्रयासले सफल रुप लिएको देख्दा अन्य गाउँमा समेत स्वास्थ्य सेवा पु-याउने उर्जा मिलेको बताउँछिन् याङजोम । जसको परिणामस्वरुप उनले घुन्सा फाउन्डेसन नामक संस्था स्थापना गरेर सेवा पु-याउँदै आएकी छिन् ।

उनको प्रयास र सफलताको सराहना स्वरुप राष्ट्रपतिद्वारा प्रवल जनसेवा श्री पदक नामक राष्ट्रिय पुरस्कारबाट विभुषित समेत भएकी छिन् उनी ।

सुन्दा एउटा सामान्य स्वास्थ्य चौकी स्थापना गरेको जस्तो लागेपनि यातायात, बिजुलीको सुविधाबाट वञ्चित विकट गाउँ जहाँ पुग्दा ७ सय रुपैयाँ प्रति बोरा सिमेन्टको भाउ ७ हजारभन्दा बढी पुग्छ, त्यस्तो स्थानमा एकल पहलमा स्वास्थ्य चौकी निर्माण गर्नु, स्वास्थ्य कर्मचारीलाई काम गर्न राजी गर्नु र गाउँवासीलाई स्वास्थ्य उपचारसम्बन्धि सचेत गराउनु कपास जति हलुका काम नभएको बताउँछिन् याङजोम । ‘हेर्नेलाई त एउटा स्वास्थ्य चौकी बनाएकोमा यति धेरै प्रचारप्रसार हुनु अति जस्तो लाग्छ होला तर, यो अभियान सफल पार्न कति मिहिनेत लागेको छ मलाई मात्र थाहा छ,’ उनी गुनासो बिसाउँछिन् ।

देख्ने, सुन्नेलाई ‘याङजोम अभियान’ले केही वर्षमै मूर्तरुप पाएको जस्तो लागेपनि उनको यो प्रयास ८ वर्ष अघिदेखि शुरु भइसकेको थियो । हिमाली जनजीवन र साँघुरो सोचबाट फड्को मारेर हिमालकी छोरीले शहरमा आउनु, अध्ययन गर्नु, उद्घोषिकाका रुपमा पहिचान बनाइसकेपछि फेरि आफ्नो सहज, सुखी जीवनलाई त्यागेर गाउँमा गएर स्वास्थ्य समस्या र उपचार सम्बन्धि ज्ञान बाँड्नु, स्वास्थ्य केन्द्र निर्माण गर्नु कुनै फिल्मको कहानी भन्दा कम छैन । अहिले याङजोम नेपाल सरकार अन्तर्गतको नेपाल ट्रस्टमा कार्यरत छिन् । भन्छिन्, ‘म जाबो एउटा व्यक्तिले कोसिस गर्दा त त्यस्तो विकट ठाउँमा स्वास्थ्य चौकी बन्दो रहेछ भने अब झन् नेपाल सरकार अन्तर्गत काम गर्ने अवसर पाएको छु, सिंगो देशलाई सेवा पु-याउन सक्छु ।’

याङजोमको कथालाई अझै नजिकबाट बुझ्न भिडियो हेर्नुहोला :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?