काठमाडौं । खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्न सुरु भएको छ । ग्रहण अहिले ८ः४२ मा बाट सुरु भएको छ ।
पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु भएको छ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ ।
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छायाँ पृथ्वीमा पर्न गई सूर्य ग्रहण लाग्ने गर्दछ । खगोलविदहरुले यो एकदमै दुर्लभ खगोलीय घटना भएको बताउँछन् ।
ग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण कामका लागि निषेध गरिएको छ ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।
ग्रहण हेर्नु कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ । बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ ।
मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ । शुभ फल मिल्ने राशि भएकालाई पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न समितिले आह्वान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया