कापीकलम च्यापेर विद्यालयतिर लम्किएका आमाहरु भन्छन्, ‘सिकेर कहिल्यै सकिँदैन, सिक्नलाई कहिल्यै ढिलो हुँदैन’

काठमाडौं । बिन्दु देवी त्रिपाठीलाई त्यस दिन घर जाने हतार थियो । घरमा पाहुना आएका थिए । समयमै कक्षाकार्य सकिन्, शिक्षकलाई बुझाइन् । कापीकिताब झोलामा राखेर अघि बढिसकेका उनका पाइला हामीलाई देखेर रोकिए । ‘नौला मान्छेहरु किन आएका होलान्’ उनको अनुहारको भावले सोधिरहेको थियो । हामीलाई आमाहरुको ‘अक्षर’ अनुभवका बारेमा सुन्नु थियो । बिन्दुलाई पनि केही बेर पर्खेर आफ्नो अनुभव सुनाउन मनलाग्यो । उनी बसिन् ।

‘परिवारमा श्रीमान्, छोराछोरीहरु सबै पढ्नलेख्न जान्ने आफूले चाहिँ सामान्य अक्षर पनि चिनेको थिएन,’ बिन्दु सुनाउँछिन्, ‘हाँसको बथानमा बकुल्ला भएजस्तो लाग्थ्यो ।’

हुन पनि सामान्य लेखपढ समेत गर्न नजान्ने उनले घरव्यवहार सम्बन्धि काम, हिसाबकिताब आदिका लागि कि श्रीमान् कि छोराछोरी, कोही नभए छरछिमेकीलाई नै गुहार्नुपथ्र्यो । कुनै नयाँ ठाउँ पुग्दा साइन बोर्ड, दिशा निर्देशन गर्ने बोर्डहरु पढ्न नजान्दा अन्य पैदल यात्रीलाई घच्घचाउनुपथ्र्यो । हुँदाहुँदा सागसब्जी किन्दा समेत साधारण हिसाबले फनफन्ती घुमाउँथ्यो उनलाई ।

अहिले त्यस्तो अवस्था छैन ।

अनामनगरस्थित भद्र नेत्र वैकल्पिक महिला विद्यालयमा पढ्न शुरु गरेपछि बिन्दु लगायत धेरै महिलाहरुको दैनिकी र जीवन दुवै फेरिएको छ । विद्यालयले उनीहरुलाई पढ्नलेख्न जान्ने मात्र होइन व्यवहारिक जीवनमा बाठो पनि बनाइदिएको छ । उनीहरुमा आत्मविश्वास भरिदिएको छ ।

केही समयअघि यसैगरी कोही अपरिचित व्यक्ति आफ्नो जीवन र अनुभवका बारेमा सोध्न आएको भए शायदै बोल्न सक्ने बताउँछन् उनीहरु । ‘आफ्नै घरपरिवार वा साथीभाइसँग त कुनै विषयमा दोहोरो कुरा गर्न गाह्रो पथ्र्यो अपरिचित त परैको कुरा हो,’ बिन्दु आफ्नो विगत सम्झिन्छिन् ।

आमसञ्चारको एउटा प्रख्यात सिद्धान्त छ, ‘स्पाइरल अफ साइलेन्स’ । जसअन्तर्गत एउटा व्यक्तिले आफ्नो विचार अरुको भन्दा भिन्न हुन्छ वा गलत हुन्छ भन्ने डरले अभिव्यक्ति दिनै हच्किन्छ । बरु मौन बसिदिन्छ । त्यस्तै हुन्थ्यो बिन्दुलाई पनि ।

‘बोल्यो भने पनि गलत बोल्छु जस्तो लाग्थ्यो !’

तर, अहिले विद्यालयमा आउने प्राय महिलाहरु हरेक कुरामा अघि सर्छन् । जानेको कुरा बोल्छन् र नजानेको कुरामा चासो देखाउँछन् । एक हिसाबले उनीहरुको ‘स्पाइरल अफ साइलेन्स’ तोडिएको छ ।

‘विद्यालय स्थापना गर्नुको मुख्य उद्देश्य नै यही थियो कि महिला, दिदीबहिनीहरुले कम्तीमा दैनिक जीवनमा आवश्यक शिक्षा हासिल गरुन्,’ प्रगतिशील नेपाल संस्थाकी अध्यक्ष तथा भद्र नेत्र वैकल्पिक महिला विद्यालयकी प्रमुख दुर्गा थापा भन्छिन्, ‘तर, कुनै विद्यार्थीले त यहीँबाट अक्षर सिकेर, एसएलसी उत्तीर्ण गरेर उच्च माध्यमिक तहसम्म पनि पढ्नुभएको छ ।’

थापाका अनुसार वि सं २०६४ सालमा विद्यालय दर्ता गर्दा कसैले सोचेको सम्म थिएन कि विद्यालयमा यति धेरै महिलाहरुले चासो देखाउँछन् भनेर । अझ अचम्मको कुरा त थापा लगायत संस्थापक समितिका अन्य पदाधिकारीहरुलाई के लागेको थियो भने, ‘मजदुर वर्गका महिलाहरुको उपस्थिति बढी हुनेछ ।’ तर, भयो ठिक उल्टो । विद्यालयमा सम्पन्न र ठूला घरानाका छोरीबुहारीहरुको बाक्लो उपस्थिति हुन थाल्यो । कुनै समयमा १ सय ७५ जना विद्यार्थीसम्म भए ।

महिला विद्यालय भएकाले सुरक्षित वातावरण कायम गर्नुपर्ने चुनौती एकातिर, अर्कातिर १ सय ७५ विद्यार्थीलाई अटाउने ठाउँ र पढाउने साधन, सामाग्री जुटाउने समस्या । यस्ता परिस्थितसँग जुध्दै, भिड्दै विद्यालय यो अवस्थासम्म आइपुगेको बताउँछिन् थापा । अहिले पनि त्यहाँ पढ्ने अधिकांश महिलाहरुको हातमा आफ्नो घरव्यवहारको बागडोर भएकाले एउटा निश्फिक्री विद्यार्थीजस्तो समय दिनभने गाह्रो हुन्छ उनीहरुलाई । संस्थापक थापा सुनाउँछिन्, ‘कहिले पाहुना आएकाले छिटो जानुपर्ने, कहिले छिमेकीले स्कुल पढ्न आएको देख्छन् भनेर लुक्नुपर्ने जस्ता समस्याहरुले सताइरहन्छन् ।’

सबै समस्याका बावजुत पनि महिला, दिदीबहिनीहरुले घरव्यवहारको हिसाबकिताब गरेको, बैंकका चेक र भौचरहरु भरेको, आत्मविश्वासी लवजमा आफ्ना विचारहरु राखेको दृश्यले थापालाई राहत महसुस गराउँछ । ‘विद्यालयभित्र छिरेपछि छुट्टै आनन्द महसुस हुन्छ,’ थापा आफ्नो व्यक्तिगत अनुभव सुनाउँछिन् ।

थापाको भनाइमा ‘हो’ थप्दै अर्की विद्यार्थी दिलकुमारी भण्डारी भन्छिन्, ‘हो, यसरी आफूजस्तै दिदीबहिनीहरुको बीचमा हासखेल गर्दै सिक्न मज्जा हुन्छ, दिमागले पनि छिटो टिप्छ ।’

‘तर, यहाँ आउनलाई हामीले छरछिमेक, आफ्ना आफन्तसँग झुट बोल्नुपर्छ,’ दिलकुमारी अगाडि थप्छिन्, ‘थाहा पाउनेले पनि यो उमेरमा के खान पढ्नुप-यो, मर्ने बेलामा हरियो काँक्रो भन्दै खिस्सीटिउरी गर्छन् ।’

छरछिमेक र समाजको यस्तै प्रतिक्रियाका कारण विद्यार्थीहरु कक्षामा नियमित रुपमा उपस्थित हुँदैनन् । विद्यार्थी संख्या ७५ हुनुपर्ने हो तर, कक्षा लिनेको संख्या मुस्किलले १० पुग्छ ।

‘राम्रो काम गर्न पनि लजाउनुपर्ने, डराउनुपर्ने किन ?,’ समाजको प्रवृत्तिको खण्डन गर्दै विद्यार्थीहरु कड्किन्छन्, ‘सिकेर कहिल्यै सकिँदैन र सिक्नलाई कहिल्यै ढिलो हुँदैन भनेर सबैले बुझिदिए राम्रो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?