काठमाडौं । प्रहरीले सोमबार चिनियाँ नागरिक बसेका काठमाडौंको मनमैजु, महाराजगञ्ज र बुढानिलकण्ठमा ‘स्विप अपरेसन’ चलायो । प्रहरीले चिनियाँ नागरिक बसेको शंकास्पद घरहरुमा छापा मा-यो ।
प्रहरीले उक्त स्थानबाट १ सय २२ जना भन्दा बढी चिनियाँ नागरिकलाई पक्राउ गरेकोमा उनीहरुमाथि अनुसन्धान सुरु भएको छ । आफ्नो देश(चीन)मा अपराध गरेर नेपालमा लुक्ने र विभिन्न अपराधमा संलग्न भइरहेको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले प्रयोग गर्दै आएको २ सय ५० थानभन्दा बढी ल्यापटप, ५ सय थान मोबाइल र अन्य डिभाइसहरु समेत बरामद गरेको प्रहरीको भनाइ छ । उक्त उपकरणबाट कुनै अपराधिक गतिविधि गरेका छन् की छैनन् भनेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । उनीहरु विरद्ध आज अदालतमा म्याद थप हुँदै छ ।
भाषाको समस्या, भाषा विज्ञ झिकाइँदै
अनुसन्धानमा भाषाका कारण समस्या आएको छ । उनीहरुले अग्रेंजी बोल्न नजान्दा अनुसन्धानमा असहज भइरहेको प्रहरी अधिकारीको भनाइ छ ।
प्रहरीले विश्वभाषा क्याम्पसबाट भाषा विज्ञ झिकाएर अनुसन्धानलाई थप प्रभावकारी बनाउने भएको छ ।
प्रहरीमा भाषाको अभाव हुँदा अभियुक्तको अनुसन्धानमा ढिला हुने गरेको छ । प्रहरीले विदेशी नागरिक पक्राउ पर्दा दोभाषे खोजेर अनुसन्धान गर्ने गरेको छ ।
उतैबाट सूचना
चिनियाँ सुरक्षा अधिकारी र नेपालका लागि चिनियाँ राजदूतावासको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको खुलेको छ ।
पर्यटकको भेषमा नेपाल आएर उनीहरु नेपालमा विभिन्न साइवर अपराधमा संलग्न भएको सूचना पाएपछि नेपाल प्रहरीले ‘स्वीप अप्रेसन’ चलाएको हो ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरु नेपालको बैंक लुट्ने योजनामा काठमाडौंका विभिन्न घरमा लुकेर बसेको भएपनि अपराधमा संलग्न भएको पाइएमा मात्र नेपालमा मुद्दा चलाउने गृह मन्त्रालयको तयारी छ ।
नेपाल–चीनबीच सपुर्दगी सन्धि नभएकाले नेपालको अपराधमा संलग्न नदेखिए देश फर्काइने मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । चिनियाँ अधिकारीले विमान चार्टर गरेर उनीहरुलाई लैजाने प्रस्ताव गरेको ती अधिकारीले बताए ।
चिनियाँ नागरिकले भरिए नेपाली हिरासत
सोमबार प्रहरीले पक्राउ गरेका चिनियाँ नागरिकहरुले काठमाडौं प्रहरी हिरासत भरिएको छ । एउटा मात्र प्रहरी ईकाइमा उनीहरु नअँटेपछि प्रहरीले काठमाडौंका अन्य कार्यालयमा राखिएको छ ।
अभियुक्त नअँटेपछि सिंहदरबार, सोह्रखुट्टे, बालाजुलगायतका हिरासतमा उनीहरुलाई राखिएको प्रहरीले जनाएको छ । यसअघि नेपालमा बसेर नेपाली बैंक ह्याक गरेर लुटिरहेका चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।
प्रहरीले गत भदौमा बैंकको एटीएम ह्याक गरे रकम निकाल्ने पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । असोजमा पनि केही चिनियाँ नागरिकलाई एटीएम ह्याक गरेर लुटिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
विभिन्न अपराधमा संलग्न भएको पाएपछि नेपाल प्रहरीले चिनियाँ नागरिकलाई निगरानी गरीरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया