‘जाडो महिनामा झनै फेसनेवल देखिन सकिन्छ’(अन्तर्वार्ता)

फेसन डिजाइनर शिक्षा श्रेष्ठसँग ‘फेसन टक’

काठमाडौं । फेसनलाई लिएर हरेक व्यक्तिको आआफ्नै परिभाषा छ । कसैले ‘स्टाइल’लाई फेसन मान्छन् कसैले ‘ट्रेन्ड’लाई । यी सबै परिभाषामा पाइने एउटा समान तत्त्व हो, ‘कम्फर्ट’ । प्राय डिजाइनरले पनि भन्ने गरेका छन्, ‘लुगा जस्तो सुकै होस् लगाउनेले ‘कम्फर्टेबल’ फिल गर्नुप-यो ।’

शिक्षा पनि यही भन्छिन् । शिक्षा श्रेष्ठ विगत १३ वर्षदेखि फेसन क्षेत्रमा कार्यरत छिन् । नेवारी परिवारमा जन्मिएकाले उनलाई शुरुमा यस क्षेत्रमा लाग्न त्यति सहज नभएको उनी बताउँछिन् । यद्यपी, उनको फेसन क्षेत्रमा लाग्ने तीव्र चाहनाप्रति परिवार पनि विस्तारै ‘कन्भिन्स’ हुँदै गयो । भारतमा ५ वर्ष ‘फेसन डिजाइनिङ’ अध्ययन गरेर अन्ततः शिक्षाले आफ्नो सपना पूरा गरेरै छोडिन् । अहिले उनी ‘नेप्लीज फेसन होम’ का लागि कपडा डिजाइन गर्छिन् ।

आफ्नो चरित्र, बानीव्यवहार अनुसारको फेसन अपनाउनुपर्छ भन्ने शिक्षा चाहन्छिन् ‘फेसन धनी वर्गको जमातमा मात्रै सीमित नहोस् र फेसनेवल हुन धनी नै हुनुपर्छ भन्ने मानसिकता हटोस् ।’

फेसन के हो ? नेपालमा फेसन र फेसनसँगै आएका राम्रा र नराम्रा संस्कृति, फेसनको महत्व र फेसनमा सुधार्नु पर्ने पक्ष जस्ता विभिन्न विषयमा केन्द्रित रहेर लोकपथकर्मीले डिजाइनर शिक्षा श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः

१२ वर्ष देखि यहाँ फेसनको दुनियाँसँग जोडिनुभएको छ, फेसनलाई कसरी परिभाषित गर्नुहुन्छ ?

फेसन मनोविज्ञानसँग सम्बन्धित हुन्छ । एउटा व्यक्तिको मनोवृत्तिलाई फेसनले प्रतिनिधित्व गर्छ । तपाई कसरी बोल्नु हुन्छ, तपाईको व्यवहार र सोचलाई बिना शब्द बयान गर्ने तत्व हो, फेसन । फेसन भनेको छोटो लुगा लगाएर, नचाहिँदो ‘शो अफ’ गर्नु मात्र होइन ।

अहिलेको पुस्ताले फेशनको बारेमा राम्रोसँग बुझ्दै जानु भएको छ । फेसन भनेको आकर्षण मात्र नभएर आफूलाई के मा सजिलो फिल हुन्छ, त्यो फेसन हो । केही समय अघिसम्म पनि मान्छे देखासिकी गरेर लाउनेमा मात्रै ध्यान दिन्थे । तर पछिल्लो समय फेसन निकै सभ्य बन्दै गएको छ । मान्छेहरुले ‘कम्फर्ट’लाई रोज्न थाल्नुभएको छ ।

नेपालमा फेसनलाई कसरी लिइँदै आइएको छ रु केकस्ता परिवर्तनहरु देख्नुभयो ?

नेपालको फेसनको कुरा गर्दा मैले दुई वटा परिवर्तन देखेको छु । बीचमा पश्चिमी फेशन गर्नेहरुको होडबाजी जस्तै चलेको थियो । आफूलाई कस्तो कपडा सजिलो हुन्छ वा सुहाउँछ भन्दा पनि अर्कोले के लगायो भन्नेमा मानिसहरुको ध्यान बढी थियो । तर त्यो प्रवृत्ति कम हुँदै गएको छ । अहिले प्रायजसोले परिस्थिति अनुसार आफूलाई सजिलो हुने खालको फेसन फलो गर्नुभएको छ । पहिलेको भन्दा अहिले फेशन राम्रो भएको छ । देख्दा खुसी लाग्छ ।

यहाँको फेसन करिअरको शुरुवाती दिनहरु कस्ता रहे ?

शुरुवाती दिनहरु अलि गाह्रो नै थियो । नेवारी परिवारको भएका कारण पनि अलि बढी रुढिवादी सोच थियो । शुरुवातमा धेरै कठिन थियो । सफल हुनको लागि परिवारको सर्पोट त चाहियो । मेरो आमाले मलाई सर्पोट गर्नुभएको थियो । फेसनलाई नयाँ तरिकाले परिभाषित गर्न सक्ने हिम्मत आज म मा छ । त्यो उहाँकै देन हो ।

फेसनको नकारात्मक पक्षहरु के के रहेछन् त ?

मैले सुनेको छु डिजाइनरहरुले धेरै पैसा लिनेभएकाले महङ्गो हुन्छ भनेर बुटिकमा मान्छेहरु छिर्नै डराइरहेको अवस्था छ । यो सोच नकरात्मक हो र म यो सोचलाई बदल्न चाहन्छु ।

फेसन भनेको अनुशासन पनि हो । डिजाइनरले जसरी डिजाइन गर्नुहुन्छ बजारमा त्यही नै चल्छ । डिजाइनर राम्रो अनुशासनमा बसेर काम गर्यो भने त बजारमा राम्रो फेसन चल्छ नि ।

यहाँ धेरैको फेसन आयडल हुनुहुन्छ यहाँको फेसन आइडल चाहिँ को हो ?

मेरो फेसन आइडल त मेरो ममी नै हो । किनकी उहाँले जे चिजलाई पनि राम्रो गरेर सुहाउने किसिमले प्रयोग गर्नुहुन्थ्यो । मलाई छोटो कपडा लगाउन मन लाग्दा पनि उहाँले कुन समयमा कुन ठाँउमा त्यो उचित हुन्छ भनेर सिकाउनु हुन्थ्यो । उहाँ फेसन कन्सियस भएको कारण नै मलाई औधी मनपर्छ ।
नाम तोकेर त नभनौं । मैले नेपालमा पढेको होइन । त्यही भएर मलाई नेपालको राम्रो डिजाइनर थाहा छैन । तर नमुना कलेजको ज्ञान शोभा तुलाधरलाई म औधी मान्छु ।

गर्मी मौसमको तुलनामा जाडोमा फेसनवल हुन सकिँदैन भन्ने सोचको बारेमा के भन्नुहुन्छ ?

फेसनकै हिसाबले हेर्ने हो भने गर्मीमा भन्दा जाडोमा झनै फेसनेवल हुन सकिन्छ । म आफैलाई पनि गर्मीमा भन्दा जाडोमा फेसन गर्न मज्जा लाग्छ । लङ्ग कोट, बुट, लेदर ज्याकेट, हाइनेक आदि सदावहार किसिमका पहिरनहरु हुन् । पहिला जाडोका पहिरनहरु गाढा रङ्गहरुमा मात्र पाइन्थ्यो भने अहिले त २ वटा भन्दा बढी रङ्ग मिसिएको वा रङ्गीविरङ्गी कपडाहरुको ट्रेन्ड छ । त्यसैले, फेसिनको लागि जाडो महिना झनै राम्रो देख्छु म ।

होचोले अग्लो देखिन के गर्ने र अग्लोले कस्तो किसिमको लुगाा लगाउने ?

राम्रो देखिने नदेखिने यो सबै आँखाका प्रभावहरु हुन् । हामी डिजाइनरहरु पनि अग्लोलाई होचो र होचोलाई अग्लो बनाउने त होइन । तर कुन रङ प्रयोग गर्दा मान्छेको आँखामा बस्छ भन्ने हो । अग्लो मान्छेहरु अलि भाग्यमानी हो । उहाँहरुले जे पनि प्रयोग गर्न पाउने हुनुभयो । उहाँहरुले दुई÷तीन ओटा रङ प्रयोग गर्दा राम्रो देखिन्छ । हाइट अलि कम हुनेहरुले दुइवटा भन्दा धरै रङहरु प्रयोग गर्नु हुँदैन । सकेसम्म एउटै रङ्गको कपडा लगाउने । ‘भी’ गला भएको लुगा लगाउँदा घाँटी लामो देखिन्छ जसले होंचो मान्छेलाई केही अग्लो देखाउँछ ।

मोटो र पातलो मान्छेहरुले कस्तो रङ प्रयोग गर्दा ठिक हुन्छ ?

मोटोहरुले अलि मसिनो, मधुरो प्रिन्ट जसले गर्दा सेप अप देखियोस् । गाढा रङहरुको प्रयोगले अलि पातलो देखाउँछ । दुब्लो मान्छेहरुले ठूलो मोटो प्रिन्ट लगाउँदा राम्रो हुन्छ ।

भावीे योजनाहरु के के छन् ?

यसरी नै फेसनकै क्षेत्रमा खट्ने छु । भविष्यमा सबैलाई फेसनेवल बनाउने सोच छ । फेसन गर्न सबैलाई रमाइलो लागोस् भन्ने चाहन्छु । आफ्नो हैसियत हेरेर कसैले फेसनेवल हुनबाट डराउनु नपरोस् भन्ने लक्ष्य लिएर काम गर्नेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?