शिक्षा नेपाल : जो सिंगो देशलाई पढाउन चाहन्छ

काठमाडौं । ‘किताब पढ्ने व्यक्तिले मृत्युअघि नै धेरै जीवन बाँचिसकेको हुन्छ’, ‘किताबले ज्ञान दिन्छ र ज्ञानले शक्ति’ ।

पढाइसम्बन्धि विभिन्न महान व्यक्तित्वहरुले यस्तैयस्तै तर्क दिएका छन् । त्यसैले, पढ्नु भनेको ज्ञान सङ्कलन गर्नु हो । पढाइ बोझ होइन । एउटा व्यवहार हो । तर, के हामीले ‘पढाइ’को अर्थ बुझेका छौं त ?

पढ्नुको अर्थ कोर्सका ठेलीसँग घुलमिल हुनु होइन र पढाइको उद्देश्य परीक्षामा राम्रो अंक ल्याउनु र सजिलै जागिर पाउनु या त करियरमा सफलता हात पार्नु मात्र होइन । पढाइ करले होइन रहरले हुन्छ भन्दै विगत ७ वर्षदेखि बालबालिकाकाका निमित्त पुस्तक सङ्कलन गरेर नेपालका कुनाकन्दरामा वितरण गरिरहेको छ शिक्षा नेपालले ।

शिक्षा नेपालको मुख्य उद्देश्य भनेको नै नेपालमा ‘रिडिङ कल्चर’ अर्थात् पाठ्यक्रमका अतिरिक्त पुस्तक पढ्ने बानीको विकास गर्नु हो । जसरी हामी दैनिक जीवनमा दाँत माझ्छौं, खाना खान्छौं, हाँस्छौं त्यसैगरी हरेक व्यक्तिले ‘पढ्नु’लाई पनि आफ्नो दैनिकी बनाउनुपर्छ भन्ने मान्यता हो शिक्षा नेपालको । जसलाई साकार पार्न देशका १२ जिल्लामा १ लाख पुस्तक वितरण गरिसकेको छ शिक्षा नेपालले र सन् २०३० सालसम्म १ करोड पुस्तक वितरण गर्ने संस्थाको लक्ष्य रहेको छ ।

पहिलाको पुस्तामा ‘रिडिङ कल्चर’ बसाउन मुस्किल भएपनि अब आउने पिढीहरुलाई शुरुवातदेखि नै कोर्सका पुस्तक बाहेक साहित्यिक पुस्तकसँग चिरपरिचित गराएमा विस्तारै आफै यस कल्चरको विकास हुन्छ भन्ने बुझेर नै संस्थाले विभिन्न विद्यालय, कलेज, शैक्षिक संस्थान, प्रकाशक आदिसँग समन्वय गरेर प्रयोग भइसकेका वा नयाँ पुस्तक सङ्कलन गर्दछ र विकट ठाउँका विद्यालयमा सो पुस्तक वितरण गर्ने, पुस्तकालय स्थापना गर्ने जस्ता कार्यहरु गर्दछ ।

शिक्षा नेपालको विशेषता भनेको यहाँका युवा स्वयम्सेवक पनि हुन् । शिक्षाजस्तो जीवनको आधारभूत पक्षबाट वञ्चित बालबालिकाका निमित्त केही गर्नलाई सबैजनाको आँखामा छुट्टै उत्साह र जोश देखिन्छ । विभिन्न इभेन्ट आयोजना गरेर होस् या त सिर्जनात्मक आइडिया प्रयोग गरेर उनीहरु अर्थ संकलन गर्न, पुस्तक संकलन र वितरण गर्ने कार्यमा अहोरात्र खटिन्छन् ।

मान्छेलाई असल मानिस बनाउने काम गर्छ पुस्तकले । त्यसैले पढ्नुलाई ‘बाध्यता’ भन्दा पनि ‘रुचि’ बनाऔं । करियर बनाउने सिँढीका रुपमा सिमित गरेर पढाइको दायरालाई साँघुरो नबनाऔं । बरु पुरानो कोट लगाऔं तर, नयाँ पुस्तक किनौं र पढौं । पढिसकेको पुस्तक आवश्यकता परेकाहरुलाई डोनेट गरौं ।
शिक्षा नेपालको बारेमा अझै बुझ्न भिडियो लिंक क्लिक गर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?