पहिलो साइकल ऐन निर्माण हुँदै

ललितपुर । ललितपुर महानगरपालिकाले नेपालमा पहिलो साइकल ऐन निर्माण गर्ने भएको छ । महानगरपालिकाले मङ्गलबार आयोजना गरेको ‘ललितपुर महानगरपालिकाको साइकल ऐनबारे प्रस्तुतीकरण तथा छलफल’ कार्यक्रममा महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले नेपालमा साइकल ऐनको वकालत गर्ने पहिलो स्थानीय सरकार आफ्नो महानगरपालिका हुने भएको जिकिर गरे ।

उनले महानगरपालिकाले साइकल चढ्ने व्यक्तिलाई प्रोत्साहन गर्न आवश्यक योजना बनाएर अघि बढ्ने बताउँदै भने, “हामी सङ्घ र प्रदेश सरकारको कानूनसँग नबाझिने ऐन र कानून निर्माण गर्छौँ ।” साइकल लेन र ऐनको विषयमा सङ्घीय सरकार र प्रदेश सरकारले सोच्न पनि नसकेका बेला आफूले ‘भ्याली मेयर फोरम’को कार्यक्रममा सो विषय उठाएको महर्जनले बताए । आफूले अघि बढाएको योजना देखेर अन्य नगरपालिका र गाउँपालिकासमेत यसतर्फ आकर्षित भएको महर्जनको जिकिर छ ।
साइकल सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठले महानगरका २९ वटै वडामा २० साइकल अट्ने साइकल पार्किङ स्टेशन बनाउनुपर्ने सुझाव दिए । साइकल व्यवसायी दिरेक मानन्धरले साइकलयात्रीलाई प्रोत्साहन गर्नका लागि हप्तामा एक दिन साइकल चढेर कार्यालय आउने व्यवस्था मिलाउनुपर्ने विचार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?