चितवनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा, यसरी गरिन्छ परीक्षण

चितवन । चितवनमा विषादी अवशेष द्रूत विश्लेषण परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । भरतपुर–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण मङ्गलबारदेखि शुरु गरिएको छ । प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा प्रयोगशाला सञ्चालनमा आएको हो ।

प्रयोगशालाले बजारमा आएका तरकारी र फलफूलका दैनिक आठ÷दशवटा फरक–फरक ठाउँबाट नमूना लिएर परीक्षण गर्नेछ । एउटा परीक्षण गर्न आधा घण्टा हाराहारी लाग्ने गर्दछ । परीक्षण गर्दा खान अयोग्य देखिएमा बिक्री गर्न बन्देज लगाइने छ ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार परीक्षण विधिलाई ‘आरबीपीआर’ (विषादी अवशेष दु्रत विश्लेषण) भनिन्छ । यसमा ३५ प्रतिशतभन्दा कम देखिएमा खानयोग्य हुन्छ भने ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ र ४५ प्रतिशतभन्दा बढी भएमा अखाद्य मानिन्छ । प्रयोगशाला शुभारम्भका दिन लौकामा गरिएको परीक्षणमा २० प्रतिशत मात्रै देखिएको ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?