२०७६, २९ मंसिर आईतवार ११:४२

मिर्गौलाको सुरक्षा र उपचारका लागि के-के कुरामा ध्यान दिनुपर्छ ?


प्रकाशित मिति : २०७६, २९ मंसिर आईतवार ११:४२

नेपालमा मिर्गौलाको रोग ब्याप्त भइरहेको छ । धेरै नेपालीको मिर्गौला असुरक्षित भएको र धेरै रोगीहरूले समाजका अन्य सदस्यसँग मानवीय सहायताको याचना गरेका ब्यहोराबाट पनि तथ्य पुष्टि हुन्छ । अतः यो रोगबारे सर्वसाधारणले थाहा पाउनु जरुरी छ । मिर्गौला (किड्नी) को मूख्य काम रगतमा हुने बिकारलाई सफा गरेर हरबखत शरीरलाई स्वस्थ र ताजा बनाइराख्नु हो । यस प्रक्रियामा किड्नीले रगत सफा गरेर मूत्रद्वारा सबै बिकार निकास गराउँछ । यसले शरीरको नून र पानीको सन्तुलन मिलाएर राख्छ । साथै रगतमा बोसोको मात्रा (कोलेस्टोरल लेभल) सन्तुलनमा ल्याएर उच्च रक्तचापलाई पनि नियन्त्रणमा राख्न मिर्गौलाको विशेष काम हुन्छ ।

मधुमेह यस्तो समस्या हो, जुन रोगमा खाएको वस्तुबाट उत्पन्न हुने चिनी (ग्लुकोज) को मात्रा रगतमा अनियन्त्रित भएर पुग्छ, जुन तत्वलाई ‘प्यान्क्रियाज’ नामक भित्री अंगबाट पैदा हुने ‘इन्सुलिन’ तत्वले ग्लुकोजलाई जलाएर शरीरलाई शक्ति र जीवन्तता दिनुपर्ने हो । प्यान्क्रियाजले इन्सुलिनमात्र होइन, शरीरको परिस्थिति निर्धारित गर्ने धेरै प्रकारका महत्वपूर्ण हर्मोनहरू, ‘ग्लुकागोन’, ‘सोमटोस्टेटिन’ आदि तत्व पैदा गर्छ, जसको आवश्यकता पाचन प्रणाली र रगतको शुद्धताका लागि आवश्यक हुन्छ ।

इन्सुलिनको अभाव भएपछि रगतमा निर्धारित मात्राभन्दा बढी ग्लुकोज थुप्रिएमा हामी ‘सुगर बढ्यो’ भनी जान्दछौँ । रगतमा चिनीको मात्रा अनियन्त्रित र अत्यधिक भएमा त्यसले दिमाग, आँखा, मिर्गौला (किड्नी), रक्तसञ्चार गर्ने नसा आदि जता पनि घातक असर गर्नसक्छ । अर्कातिर मधुमेह वा रक्तचाप नियन्त्रित भएन भने कालान्तरमा मिर्गौलाले आफ्नो काम गर्न छोड्छ, जसलाई ‘किड्नी फेल भएको’ भनिन्छ । सामान्यतः मधुमेह (डाइबिटिज) का बिरामीमध्ये ३० प्रतिशत बिमारीको मिर्गाौलामा असर पुगेको पाइन्छ ।

मिर्गौला कमजोर हुने काम एकाएक हुँदैन, बिस्तारो गतिमा हुँदैजान्छ, अर्थात पाँचदेखि १० वर्षअघिबाटै कार्यक्षमतामा ह्रास आउने र कमजोर हुने लक्षण उत्पन्न हुनथालेको अवस्था बिमारीलाई पत्तै हुँदैन । किड्नी फेल्योरबारे अर्को आलेखमा बिवेचना गरिएको छ ।

कारण र लक्षण :

मिर्गौला बिमारीको सुरुमा कुनै लक्षण हुँदैन । तर यसले जब भित्रभित्रै चाप्दै लैजान्छ अनिमात्र बिस्तारै बिमारीको महसुस हुनथाल्छ । बिमार उत्पन्न हुने एक दर्जन कारणहरू हुन्छन्, तर ती सबै हामीलाई जरुरी हुन्न । मिर्गौला खराब भएको धेरै लामो काल बितेर यसले ७० प्रतिशत कार्यक्षमता गुमाएर कमजोर भएपछिमात्र बिमारीलाई बल्ल लक्षण थाहा हुनथाल्छ ।

भोक वा रुचि घटेर जान्छ, रगतको कमि हुन थालेपछि अनुहारमा रौनक हराएर छाला फुस्रो र कालो हुँदैजान्छ । यौन सहवास क्षमता पनि गम्भीर रुपले घटेर जान्छ ।

मधुमेहको दीर्घ बिमार र यसप्रतिको लापरबाही, उच्च रक्तचापका कारणमा मिर्गौलामा पर्ने असर, युरिक एसिडका कारण उत्पन्न हुने असर मूख्यतः सर्वसाधारणले ध्यान दिनुपर्ने कारण हुन् । आजकाल विषादि हालेका तरकारी र फलफूल, दर्दनिबारक औषधी (पेनकिलर) को जथाभावी उपभोगले मिर्गौला छिटो कमजोर बनाउन सक्छ ।

एन्टीबायोटिक औषधीहरू, रक्सी, धूमपान आदि अम्मल पनि मिर्गौला खराब गर्ने कारक हुनसक्छन् । यस्ता चिजको उपभोगबाट टाढै रहेका मानिसलाई मिर्गौलाको बिमार लाग्ने कमै सम्भावना हुन्छ । बाबु–आमामा मिर्गौलाको समस्या छ भने छोराछोरीमा पनि सर्नसक्छ, जसलाई बंशाणुगत (जेनेटिक) रोगका रुपमा लिइन्छ । मिर्गौलाले काम गर्न छोड्दै गएपछि अनुहार र खुट्टा फुल्नथाल्ने, हात र खुट्टा दुख्ने, ढाड दुख्ने, सास बढ्ने आदि समस्या देखा पर्छन् ।

जाँच र उपचार :

मिर्गौलाको कार्यक्षमता, रगत जाँच गरेर त्यसमा भएको ‘क्रिएटिनाइन’ तत्व कतिमात्रामा रहेको छ भन्ने यकिन गरिन्छ । यो तत्व शरीरको मांसपेशीबाट उत्पन्न हुने ‘क्रिएटिन फस्फेट’ बाट बनेको हुनाले ग्रीक भाषामा ‘मासु’ को अर्थमा बुझिने ‘क्रिएटिनाइन’ भनिएको हो ।

पिसाबमा देखिनसक्ने यसको मात्रालाई हेरेर मिर्गौलाको क्षमता थाहा पाउन सकिन्छ । पिसाबमा क्रिएटिनाइन तत्व निर्धारित मात्राभन्दा जति बढी देखिन्छ, त्यही मात्रामा मिर्गौला कमजोर हुँदैजान्छ । क्रिएटिनाइन जचाउन धेरै रकम लाग्दैन, एक–आधा सय रुपैयाँमै हुन्छ । त्यसकारण सबैले बेलाबेलामा आफ्नो पिसाबमा भएको क्रिएटिनाइन लेभल जचाउनु उत्तम हुन्छ ।

अन्य कारणले स्वास्थ्य जाँच गर्न गएको बेला क्रिएटिनाइन पनि जाँच गरियो भने सजिलो हुन्छ । त्यस अतिरिक्त क्रिएटिनाइनसँगै रगतमा ‘ब्लड युरिया’ भन्ने तत्वको प्याथोलोजी जाँच गराउनु अनिवार्य हुन्छ ।

मिर्गौला खराब हुन थालेको सुरुमै थाहा पाइयो भने त्यसको उपचारका लागि राम्रा–राम्रा औषधीहरू बजारमा उपलब्ध छन् । डाइलिसिस् र मिर्गौला प्रत्यारोपण नेपालमै सफलतापूर्वक हुने गरेको छ । मधुमेह (डाइबिटिज), उच्च रक्तचापका साथै युरिक एसिडको समस्या भएका बिमारीले विशेष सावधानी राखिरहनु पर्छ ।

औषधि अनिवार्य र अपरिहार्य हो तर यसमा मात्र निर्भर रहेर निको हुन गाह्रो हुन्छ । त्यसैले, मिर्गौलाको सुरक्षाका लागि पर्याप्त पानी, फलफूलका ताजा जुस, रेसा (फाइबर) युक्त खाना खाने, पाएसम्म अग्र्यानिक खानेकुराहरू नै खाने र मिर्गौलालाई असर पार्ने धूमपान, मद्यपान आदि कुराबाट टाडै रहनुपर्छ । दिनहुँ पसिना निस्कुन्जेल ब्यायाम गर्ने, हिँडने, खेल्ने वा शारीरिक काममा खट्ने, योग वा ‘ताई चि’ जस्ता नियमित अभ्यास गर्नु अति नै राम्रो हुन्छ ।

स्याउ, एभोकाडो, कागती, सुन्तला तथा सुन्तलाजातका अन्य फलफूल, काँचो लसुन, क्रानबेरी (झाडीमा फल्ने रातो र केही अमिलो खालको ऐँसेलुजस्तो फल जो पकाउन वा सस् बनाउनका लागि पनि उपयोगमा आउँछ), प्याज, जैतुनको तेल (ओलिभ आयल), हरिया तरकारीहरू, बोक्रासँगको मुँग, मेथी र चना भिजाएर टुसाउन दिने र काँचो प्याज तथा कागतीको रस निचोरेर बिहान सँधै बढीमा सयग्राम खाने गर्दा फाइदा गर्छ । दही आदि अमिलो वा चिनीको गुलियो मिर्गौलाको लागि राम्रा चिज होइनन् ।

विशेषज्ञ (डाक्टर) को सम्पर्क र सल्लाह लिइराख्नु पर्छ । मिर्गौलाको कुनै सिकायत नभएको र स्वस्थ अवस्थामा पनि क्रिएटिनाइन लेभल जचाउने मानिसलाई डाक्टरहरू विवेकशील र बुद्धिमान मान्दछन् । तर एकैपटक धेरैजना डाक्टरको सल्लाह र औषधि लिन थाल्दा जटिलता उत्पन्न हुनसक्ने सम्भावनालाई बिमारीले नै हेक्का राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस