अन्तरजातीय विवाहपछिको ‘यू टर्न’, उद्यमी रेखा चौधरीको मन छुने कथा (भिडियोसहित)

जो आफूले सिकेर अरुलाई सिकाउँदै उद्यमी बनिन्

काठमाडौं । बुढानीलकण्ठस्थित रेखाको निवास पुग्दा उनी अचार बनाइरहेकी थिइन् । अचारमा हाल्ने सबै मसलाहरु वरिपरि राखिएका थिए, लसुन, अदुवा काटेर ठिक्क पारिएको थियो । हामीसँग गफिँदै उनले धमाधम अचार बनाइन् । पकाउने कौशलता खासै नभएकाले पनि उनले अचार बनाएको देखेर यति चाहिँ ठम्याउन सक्थे कि अचारमा कुनै अखाद्य वस्तु मिसाइएन र ‘रेसिपी’ पनि हाम्रै आमाहरुले बनाउने अचारको जस्तै सरल र स्वादिष्ट देखिन्थ्यिो ।

‘ठ्याक्कै घरमै पाक्ने अचारजस्तो भयो नि !,’ मनको कुरा फ्याट्ट बोलीहालें मैले ।

‘मैले बनाएको अचार खाने प्रायले यही भन्छन्,’ मेरो प्रतिक्रियालाई उनले सहज रुपमा लिइन् ।

अस्ट्रेलिया, दुबई, कतारमा उनका अचार कोशेलीका रुपमा पठाइन्छन् । एकपटक उनले बनाएको अचार चाखेको जिब्रोले फेरिफेरि त्यही स्वाद खोज्छ । ग्राहकहरु अचार लिन घरमै आइपुग्छन् । भन्छन्, ‘विदेशबाट यही अचारको डिमान्ड आएको छ ।’ यस्ता प्रतिक्रियाले रेखामा झन् उर्जा थपिदिएको छ । आफ्नै घरमा बसेर, सबै काम भ्याएर उद्यम गर्नु क्या काइदा ! अब त रेखा आफू मात्र होइन अन्य महिला दिदीबहिनीलाई पनि यसैगरी उद्यम गर्न सिकाउने भएकी छिन् ।

रेखा शर्मा चौधरीले यसरी घरमै अचार बनाएर बेच्न थालेको १ वर्ष भयो । रिक प्रमुख ग्रामीण उन्नति नामक घरेलु उद्यममार्फत् उनले अचार मात्र होइन मोती, मुगा तथा विभिन्न पत्थरका चुरा, पोते, मालाको सेट पनि बनाउँछिन् । आफ्नै घरको तल्लो सटरमा रेखाले आफ्ना उत्पादनहरु बेच्न राखेकी छिन् ।

घरको स्वाद पाइने टिम्मुर, मेथी, तिल, अकबरे खुर्सानी, अमला, आँप, मिक्स, चिकेन आदिका मीठा अचारहरु किन्न कतिपय ग्राहक उनको पसलमै आइपुग्छन् । कतिपय पसलेहरुले उनलाई १ सय, ५ सय, हजार बट्टासम्म अचारका लागि ‘अर्डर’ दिन्छन् । यसरी उनका उत्पादनहरु विदेशसम्म पुगेका छन् । अबको उनको टार्गेट भनेको ‘सुपरमार्केट’सम्म आफ्नो उत्पादन पु-याउनु हो । यसका लागि भाटभटेनी सुपरमार्केटसँग सम्झौता पनि भइसकेको बताउँछिन् रेखा । जे होस् सञ्चालन भएको १ वर्षमा नै आफ्नो उद्यमले यतिको फड्को मार्दा रेखा दङ्ग छिन् ।

‘उद्यम वा व्यवसायमा लागेपछि आत्तिनु हुँदैन,’ उनी भन्छिन्, ‘शुरुमा घाटा पनि हुनसक्छ तर, सही तरिकाले काम गरिएको छ भने पछि आफै व्यापार फस्टाउँदै जान्छ ।’

यो कुरा उनलाई अनुभवले पनि सिकाएको हो । रेखासँग व्यापार व्यवसायको लामो र राम्रोे अनुभव छ ।

वि सं २०३० मा दाङको पौडेल परिवारमा जन्मिएकी रेखाले सानै उमेरमा ‘चौधरी’ समुदायका व्यक्तिसँग विवाह गरेपछि परिवारसँगको उनको सम्बन्ध चिसियो । उनलाई लागेको थियो ‘मेरो परिवारले त अपनाउन सकेन तर, कम्तीमा श्रीमानको परिवारले चाहिँ बाहुनकी छोरी भनेर मलाई माया गर्नेछ ।’ तर, सोचेजस्तो भइदिएन ।

संस्कार, संस्कृति, चालचलन मात्र होइन कतिपय अवस्थामा श्रीमान्को परिवारसँग मन पनि नमिलेको बताउँछिन् रेखा । ‘माइतीभन्दा धेरै काम गर्नुपथ्र्यो त्यही पनि जस नपाउने,’ पुराना दिनहरु याद गर्दै रेखा थप्छिन्, ‘तर, मेरो ससुरा र नन्दले चाहिँ मलाई खुब साथ दिनुभयो ।’ तिनै ससुराले नै रेखालाई धेरै दुःख भयो भनेर घरबाट छुट्टिएर अलग्गै बस्न सुझाएका पनि थिए । ससुराको सल्लाह मानेर रेखा र उनका श्रीमान् बर्दिया पुगे । धान, चामलको व्यापार शुरु गरे । यही वेलादेखि रेखाले व्यापार, व्यवसायको अनुभव सँगाल्दै गइन् ।

विस्तारै छोराछोरी जन्मिए, हुर्किए । उनीहरुको शिक्षाकै लागि भएपनि रेखालाई काठमाडौं आउने हुटहुटी लाग्यो । वि सं २०५९ सालमा उनी काठमाडौं आइन् । केही नगरी बस्न नसक्ने रेखाले श्रीमान्सँग मिलेर १३ वर्षसम्म मिठाइ पसल गरिन् ।

छोराछोरी हुर्किए, परिवारसँगको सम्बन्ध पनि सुदृढ हुँदै गयो, व्यवसायबाट पनि मनग्य आम्दानी भइरहेको थियो । यतिन्जेल श्रीमानले बर्दियामा आफ्नो इट्टाभट्टा शुरु गरिसकेका थिए । यहाँको व्यवसाय उनी एक्लै सम्हाल्दै थिइन् । यद्यपी, रेखालाई सधैं केही न केही अधुरो भएजस्तो अनुभव भइरहन्थ्यो । अझै केही गर्न मन थियो तर, थाहा थिएन के !

यतिकैमा अचार, चुरा, पोते आदि बनाउने सीपमूलक तालिमको अवसर आफै रेखाको ढोका ढकढकाउँदै आइपुग्यो । उनले अवसरलाई अँगालिन् र चाल पाइन् उनले सधैं गर्न चाहेको काम यही रहेछ । अब उनलाई आफूजस्तै महिला, दिदीबहिनीलाई पनि यसरी तालिम दिएर आत्मनिर्भर बनाउने इच्छा जाग्यो । नभन्दै उनले रिक प्रमुख ग्रामीण उन्नति नामक घरेलु उद्योग दर्ता गरिन् र शुरु गरिन् उद्यमशीलताको यात्रा ।

अहिले उनको उद्यममा ९ जना व्यक्तिले रोजगारी पाएका छन् । प्राय सबै महिला छन् जो नेपालका विकट ठाउँबाट सपनाको शहर काठमाडौंमा सपना पछ्याउँदै आएका हुन् । ‘देशैभरि यसरी सीप सिक्न चहाने बेरोजगार महिलाहरु कति होलान्, सबैजना त काठमाडौं आउन सम्भव हुँदैन,’ रेखा गुनासो पोख्छिन् ।

‘त्यसैले अब मलाई देशको विकट ठाउँहरुमा पुगेर महिला, दिदीबहिनीलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने मन छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?