सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालेसीमा समस्याका विषयमा सत्य स्वीकार गरेमा नेपाललाई भन्दा भारतलाई बढी लाभ हुने बताउनुभएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा आज सीमा समस्याका विषयमा सरकारको धारणा राख्दै मन्त्री बाँस्कोटाले सत्य स्वीकारेर सहजीकरण गर्नुमा नै भारतको हित हुने बताउनुभयो ।
उहाँले भन्नुभयो,“भारतले अन्तरराष्ट्रिय भूमिका खेलेर अन्तरराष्ट्रिय विश्वास लिन सक्छ, हामी त्यो आशा गर्दैछौँ, पोजिशनदेखि पोजिशनभन्दा पनि सत्य स्वीकारेर आफ्नो अन्तरराष्ट्रिय आकाङ्क्षामा भारतले सोच्छ भन्ने हाम्रो विश्वास छ ।” लिम्पियाधुराका विषयमा भारतले गरेको दावामा नेपालले इतिहासमै पहिलो पटक ‘डिप्लोम्याटिक नोट’ पठाएर नेपालको आधिकारिक धारणाा राखिसकेको उल्लेख गर्दै उहाँले यसलाई सीमा समस्या समाधानको पहिलो प्रक्रिया मान्नुपर्ने बताउनुभयो । क्रमशः भारतीय पक्षलाई तथ्यका आधारमा सत्य प्रष्ट्याउँदै जाँदा मान्छ नै भन्ने विश्वास रहेको उहाँले बताउनुभयो ।
“सीमाको विषयमा सरकारले इतिहासमै पहिलो पटक साझा सहमति बनाएको छ, त्यो हाम्रो शक्ति र बल हो, त्यसलाई धुमिल्याउने र कमजोर बनाउने कुरा गर्नुहुँदैन, सत्तापक्षले मात्रै जस लिनुपर्छ भन्ने छैन, जुन कुराका निम्ति सिङ्गो देश एकबद्ध छ, त्यो हामी सबैको साझा उपलब्धि हो”, मन्त्री बाँस्कोटाले थप्नुभयो । यसअघिको मन्त्रिपरिषद्ले दुवै छिमेकी देशसँगको सीमाको यकिन गर्ने निर्णय गरेर परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइसकेको छ । उक्त निर्णयमा भारतसँगको सीमासँग सम्बन्धित कुरा तत्कालै शुरु गर्ने प्रबन्ध मिलाउन र मौसमअनुकूल हुनासाथ चीनसँगको सीमाको विषय अगाडि बढाउन भनिएको छ । प्रक्रिया अघि बढाउन ढिला भएको भन्ने पत्रकारको जिज्ञासामा उहाँले सरकारले आवश्यक तयारी गरिरहेकाले प्रक्रिया अवरुद्ध नहुने स्पष्ट पार्नुभयो ।
सुस्ता, महेशपुर जस्ता ठाउँमा नदीले धार परिवर्तन गर्दा समस्या उत्पन्न भएको सरकारको भनाइ छ । सीमा समस्या समाधान संयुक्त रुपमा गर्नुपर्नेमा सरकार स्पष्ट रहेको बताउँदै उहाँले यसमा गरिने काम न्यूनतम सहमति र राष्ट्रिय तथा अन्तरराष्ट्रिय मापनका आधारमा गर्दै जानुपर्नेमा जोड दिनुभयो । भारत एक्लैलाई काम दिने भन्ने प्रसङ्गलाई जोड्दै उहाँले यस्ता कुरा सरकारले सोच्न पनि नसक्ने र सत्यमा आधारित नभएको जिकिर गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया