३४ वर्षे प्रधानमन्त्रीको लोभलाग्दो सफलता, समलिंगी अभिभावकले हुर्काएका मरिनबाट केहि सिक्ने कि !

काठमाडौं – अहिले विश्वभर ३४ वर्षीया सन्ना मरिनको चर्चा चलिरहेको छ । फिनल्याण्डमा प्रधानमन्त्रीका रुपमा गत मंगलबार मनोनित भएपछि उनी विश्वकै कान्छी प्रधानमन्त्री भएकी छिन् । सानै उमेरमा राष्ट्रको प्रमुखका रुपमा नेतृत्वको बागडोर आफ्नो हातमा लिँदा उनको चौतर्फी प्रशंसा भइरहेको छ । फिनल्याण्डका पूर्व प्रधानमन्त्री आन्ती रिन्नेले राजीनामा दिएपछि सन्नालाई प्रधानमन्त्रीको दावेदारका रुपमा उभ्याइयो । अहिले समाजवादी प्रजातान्त्रिक पार्टीसँगै ४ अन्य पार्टीसँग गठबन्धन गर्दै सन्नाको नेतृत्वमा नयाँ सरकार बनिसकेको छ । सोसियल डेमोक्रेटिक पार्टीबाट मारिन प्रधानमन्त्री बनेकी ह’न् । वामपन्थी गठनबन्धले ३२ वर्षीया ली एन्डरसनले नेतृत्वमा सरकारमा सहभागिता जनाएको छ ।

ग्रीन लिग पार्टीबाट ३४ वर्षीया मारिया ओसिसालो, सेन्टर पार्टीबाट ३२ वर्षीया क्याट्री कुल्मुनी र स्विडिस पिपुल्स पार्टी अफ फिनल्याण्डबाट ५५ वर्षीया अन्ना हेर्निकसनले सरकारमा पार्टीको नेतृत्व गरिरहेका छन् ।
यस सँगै उनी विश्वकी कान्छी प्रधानमन्त्री मात्र होइन फिनल्याण्डकी तेस्रो महिला प्रधानमन्त्री समेत बनेकी छिन् । विश्वमा सानै उमेरमा प्रधानमन्त्री भएका व्यक्तिहरूमा युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका हुन् भने न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नको ३९ वर्षकी हुन् ।

समलिंगी अभिभावकको छत्रछायाँमा हुर्किएकी सन्ना
सन्नाको जन्म सन् १९८५ नोभेम्बर १६ मा फिनल्याण्डको हेलसिन्कीमा भएको हो । उनलाई केही वर्ष उनकी एकल आमाले हुर्काइन् । पछि सन्नाकी आमा समलिंगी सम्बन्धमा बाँधिएपछि उनलाई दुवैजना अभिभावक मिलेर हुर्काए । सन्नाले १९ वर्षको उमेरमा पिर्काला हाइस्कुलबाट आफ्नो उच्च माध्यमिक शिक्षा पूरा गरिन् । सन् २००७ मा उनले यूनिभर्सिटी अफ टेम्पेयरबाट आफ्नो स्नातक तह उत्तीर्ण गरिन् । सन्ना आफ्नो परिवारबाट अध्ययनका लागि विश्वविद्यालय जाने पहिलो व्यक्ति हुन् ।

छोटो समयमै सन्नाले मारेको राजनीतिक फड्को
सानैदेखि सन्नालाई राजनीति र प्रशासनमा रुचि थियो त्यसैले उनले आफ्नो उच्च शिक्षा पनि प्रशासन विज्ञान विषयमा पूरा गरेकी थिइन् ।
सन् २०१० देखि २०१२ सम्म उनी समाजवादी प्रजातान्त्रिक युवा नामक समाजवादी प्रजातान्त्रिक पार्टीको भातृ संगठनको उपाध्यक्षका रुपमा सक्रिय रहिन् । त्यसलगत्तै सन्नाले सिटी काउन्सिल अफ टेम्पेयरकी प्रमुखका रुपमा मनोनित भइन् र ४ वर्षको कार्यकाल पूरा गरिन् । आफ्ना जिम्मेवारीहरु राम्रोसँग निभाएकै कारण उनी पुनः त्यस काउन्सिलको प्रमुखका रुपमा चुनिइन् ।
२७ वर्षको उमेरदेखि उनी सक्रिय रुपमा राजनीतिमा लागेकी हुन् । टेम्पेयर अर्थात् फिनल्याण्डको तेस्रो ठूलो शहरको सभासद् हुँदै उनले प्रमुखका रुपमा कार्यभार सम्हालेकी थिइन् । सन् २०१४ मा उनी समाजवादी प्रजातान्त्रिक पार्टीको उपाध्यक्ष बनिन् । फिनल्याण्डका पूर्व प्रधानमन्त्री रेन्नीको स्वास्थ्यमा समस्या आउँदा पार्टीको जिम्मेवारी उनैको काँधमा आइपरेको थियो । र, २०१५ अर्थात् ३० वर्षको उमेरमा सन्ना फिनल्याण्डको सांसद बनिसकेकी थिइन् । यही वर्ष मात्रै उनलाई फिनल्याण्डको यातायात तथा सञ्चार मन्त्रीका रुपमा नियुक्त गरिएको थियो ।

संसारभरि नै मूलधार राजनीतिमा महिलाको संलग्नता प्राय कम नै भएको पाइन्छ । त्यसमाथि नेतृत्वको बागडोर त झन् निकै कमले मात्रै सम्हाल्ने अवसर पाउँछन् । तर, प्रधानमन्त्रीका रुपमा सन्नाको चयनले दुई किसिमको ‘स्टिरियोटाइप’लाई तोडेको छ । पहिलो, महिलाहरु राजनीतिमा प्रगति गर्नै सक्दैनन् । या गरिहाले पनि पुरुषको सहारामा मात्रै सम्भव छ । दोस्रो, युवाले राष्ट्रको मुख्य ओहोदामा ठाउँ पाउँदैनन् ।

अचम्मको कुरा त के हो भने गठबन्धनमा आएका अन्य ४ पार्टीका प्रमुख पनि महिला नै छन् । र, त्यसमध्ये ३ जना ३० देखि ४० वर्ष उमेरका छन् । सन्नाको नेतृतवमा बन्ने १८ सदसीय मन्त्री मण्डलमा १२ जना महिला रहने बताइएको छ । यसर्थमा यसपालि फिनल्याण्डको राजनीतिमा युवा र महिलाको बर्चस्व कायम भएको छ ।


यसअघि ३५ वर्षको उमेरमा प्रधानमन्त्री बनेका युक्रेनका ओलेक्सी होन्चेरुक संसारका सर्वाधिक सानो उमेरका प्रधानमन्त्री थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?