मित्रताबाट फूलेको नौलो बिज्नेस आइडिया ‘चिया नोटबुक्स’ : कला र कापीको संगम

प्रयोगकर्ता भन्छन्, ‘कपी भरियो तर, फाल्नै मनलागेन’

काठमाडौं । मिलर श्रेष्ठ र केभिन श्रेष्ठ दाजुभाइ हुन् । किताब, कापी लगायत शैक्षिक सामाग्रीको होलसेल व्यापार मिलर र केभिनको ‘फेमिली बिज्नेस’ हो । हजुरबुबाको पाइला पछ्याउँदै उनीहरुका बुबा पनि यही क्षेत्रमा लागे । बुबाको उमेर ढल्किँदै जाँदा घरको जेठो सन्तान भएकाले व्यापारको बागडोर स्वतः मिलरको काँधमा आइप-यो ।

तर, मिलरलाई सधैं ‘किन्ने बेच्ने’ किसिमको व्यापार गर्नुथिएन । बरु उही पुरानो ‘बिज्नेस’मा नयाँ स्वाद थप्नु थियो । त्यसैले, पसलमा बसिरहँदा होस् या त बजारमा अन्य पसलेहरुसँग ‘डिल’ गर्दा, उनी नयाँ र सिर्जनशील आइडियाहरुका बारेमा मस्तिष्कमन्थन गरिरहन्थे । यही क्रममा एकदिन उनको ध्यान आफ्नै पसलमा बेच्न राखिएको कापीहरुले तान्यो । स्कूले जीवनमा उनले यस्तै कापीमा अक्षर लेखेका थिए । उनी स्कुलबाट पास आउट भएको १ दशकभन्दा बढी भयो तर, अहिले पनि बजारमा यस्तै कापीहरु नै बेचिइरहेका छन् । ‘सबैकुरा समयसँगै यति छिट्टै परिवर्तन भइरहँदा हामीले प्रयोग गर्ने कापीहरु किन अझै ‘बोरिङ’ ?’ उनी सोचमग्न भए ।

कापी र कलाको संयोग कस्तो बन्न सक्ला ? यो सोचले उनलाई धेरै दिनसम्म घोत्लायो । यही सोच बोकेर उनले उदीयमान कलाकारसँग सम्पर्क गरे तर, सकारात्मक प्रतिक्रिया कहीँबाट आएन ।
***
यता २४ वर्षीया श्रिया शाक्यलाई बच्चैदेखि चित्र कोर्न खुब मनपथ्र्यो । रातो, नीलो, पहेंलो, गुलाबी आदि रङ्गसँग खेल्दै हुर्किइन् उनी । तर, परिस्थित यस्तो भइदियो कि उनले पनि आफ्नो ‘फेमिली बिज्नेस’ मै सघाउनुपर्ने भयो । यद्यपि, कतै न कतैबाट आफ्नो कलाको निकाश खोजिरहेकी थिइन् श्रिया । आफैले कोरेका चित्रहरुको पोस्ट कार्ड बनाएर बेच्थिन् ।

परिवारको व्यापार त छँदै छ तर, कम्तीमा आफ्नै पौरखमा पनि केही गर्न पाइयोस् भन्ने महत्वकांक्षा बोकेर हिँडिरहेकी थिइन् उनी ।
यसरी दुई फरक जीवन एउटै लक्ष्य बोकेर बाँचिरहेको वेला यी दुई शुत्रलाई एउटै डोरीमा बाँधे केभिनले । जो मिलरका कान्छा भाइ थिए र श्रियाका स्कुले साथी ।
मिलरले आफ्नो सोचलाई कान्छा भाइ केभिनसँग शेयर गरे ।

दाइ कलाकारको खोजीमा लागेको थाहा पाएपछि उनले श्रीयाले बनाएको चित्र देखाउँदै एकदिन मिलरलाई सोधे, ‘यस्तो आर्टले हुन्छ ?’
श्रीयाको चित्रकलाले मिलरको मन जित्यो । तीनै जनाले सहकार्य गर्नेबारे छलफल गरे । टिम बन्दै गयो । टिममा अर्का एक सदस्यको पनि आगमन भयो, जिनस सुवाल ।

श्रियाका स्कुलदेखिका प्रेमी र केभिनका बेस्ट फ्रेन्ड । त्यसो त श्रिया र जिनसको सम्बन्धको मुख्य कडी पनि केभिन नै हुन् । स्कुलमै छँदा उनले जिनसको फेसबुकबाट ख्यालठट्टामा श्रियालाई पठाएको मेसेजबाटै उनीहरु दुईजनाबीच मित्रताको कोपिला पलाएको थियो र विस्तारै त्यो कोपिला मायामा फक्रिएको थियो । अहिले त्यही सम्बन्ध एक कदम माथि उक्लेको छ । उनीहरु भविष्यमा लाइफ पार्टनर बन्नु अघि नै बिज्नेस पार्टनर बनिसकेका छन् ।

अदृश्य रुपमा सबै एक अर्कासँग पहिलेदेखि नै जोडिनुलाई उनीहरु एउटा मीठो संयोग मान्छन् । यो संयोगले औपचारिक रुप लिएको धेरै भएको छैन । केही समय भारत गएर उनीहरुले उत्पादन र बजारको बारेमा अध्ययन गरे । तर, तुलनात्मक रुपमा नेपालमै कम शुल्कमा काम हुने थाहा पाएपछि छाप्ने काम नेपालमै गर्ने निर्णयमा पुगेको बताउँछन् मिलर । अन्ततः यही साल भदौदेखि उनीहरुले १ हजार वटा उत्पादनबाट चिया नोटबुक्सको यात्रा शुरु गरे ।

उमेर र अनुभवको हिसाबले मिलरले पक्कै पनि केभिन, श्रिया र जिनसभन्दा केही भोटो ज्यादा फटाएका छन् । त्यसैले टिमको नेतृत्वको जिम्मेवारी पनि उनैको काँधमा छ । श्रिया टिमकी आत्मा हुन् । रङ्ग, आकार, स्वरुपसँग खेल्दै उनी चित्ताकर्षक चित्र कोर्छिन् । चित्रसँगै मिल्ने खालको सन्देशमूलक भनाइहरु लेख्छिन् । उनले बनाएका ससाना चित्र र शब्दलाई समेटेर ‘डिजिटल प्लेटफर्म’मा उतार्न मद्दत गर्छन् जिनस । त्यस्तै, उत्पादन, बजार र वितरणको काममा मिलरसँगै खटिन्छन् केभिन ।

हरेक दिन ‘डिमान्ड’ बढेको बढ्यै भएकाले उनीहरुको व्यस्तता पनि बढेको छ आजभोलि । उनीहरुका अनुसार बजारमा यस्ता राम्रा डिजाइन भएका नोट बुक्सहरु त पाइन्छन् तर, प्राय विदेशबाट भित्र्याइने भएकाले मूल्य अलिक महङ्गो पर्छ । जोकोहीले प्रयोग गर्नै सक्दैन । ‘हाम्रो नोट बुक्समा नयाँपन छ, पन्नाको गुणस्तरमा पनि कुनै सम्झौता गरेका छैनौं र मूल्य पनि अन्य सामान्य कापीहरुकै रेन्जमा छ,’ बजारमा आफ्नो नोटबुक्सको माग बढ्नुको कारण प्रष्ट्याउँदै उनीहरु भन्छन्, ‘फेरि प्रचारप्रसारमा सामाजिक सञ्जालले पनि खुब सघाएको छ ।’

हुन पनि चिया नोटबुक्सका कापीहरु ३५ देखि १ सय रुपैयाँसम्ममा पाइन्छन् । कापीको डिजाइन यति सुन्दर हुन्छ कि ग्राहकहरुले व्यक्तिगत रुपमै मेसेज पठाउँछन्, ‘नोटबुकमा लेख्न त लेखियो तर, लेखिसकेपछि फ्याल्नै पो मनलागेन ।’ कोही आफूलाई मनपरेको डिजाइन बनाइदिन आग्रह गर्छन् ।

यस्ता प्रतिक्रियाहरुले गदगद भइरहँदा एउटा जमात यस्तो पनि छ जो चिया नोटबुक्सको यो नयाँ प्रयोगबाट सन्तुष्ट छैन । निरुत्साहित गर्ने किसिमका प्रतिक्रियाहरु पनि आउने गर्छन् । ‘शुरुमा त पसलहरुमा हाम्रो नोटबुक्स खासै राख्न मान्नुभएको थिएन एकजनाले त कस्तो नराम्रो चित्र पनि भन्नुभयो,’ व्यवसायका शुरुवाती दिनहरुको स्मरण गर्दै मिलर भन्छन्, ‘हामीले सबैभन्दा गर्व गर्ने कुरालाई नै नराम्रो भनेपछि थाहा भयो कि जतिसुकै राम्रो चीजलाई पनि यसै छ्या भन्ने प्रवृत्ति हुँदो रहेछ समाजमा ।’

‘यस्ता प्रतिक्रियाले खासै फरक पर्दैन किनकी हाम्रो कामको कदर गर्ने ग्राहकहरुको साथ छ हामीलाई त्यसैले त बजारको माग पूरा गर्न सकिरहेका छैनौं हामीले,’ दाजुको भनाइ सँगै केभिन थप्छन् ।

चिया नोटबुक्सले अहिलेसम्म ५ हजारभन्दा बढी कापीहरु उत्पादन गरिसकेको छ । काठमाडौं, इटहरी, उदयपुर, पोखरा, रोल्पा लगायत जिल्लाका विद्यार्थीहरुले चिया नोटबुक्समा आफ्नो भविष्य कोरिरहेका छन् अहिले ।

‘नाम चाहिँ कसरी जुराउनुभयो ?’ भन्ने हाम्रो प्रश्नमा जिनस भन्छन्, ‘श्रियालाई जिस्काएर चिया भन्थें म त्यसपछि उसले आफ्नो हरेक चित्रमा चिया भनेर सिग्नेचर गर्न थाल्यो ।’ उनी श्रीयाको तारिफ गर्दै अगाडि थप्छन्, ‘हाम्रो टिमको आत्मा नै श्रीयाको चित्र हो, त्यसैले उसैको नामबाट हाम्रो नोटबुक्सको नाम राख्यौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?