पछिल्लो एक महिनामा दलहनको मूल्य आकासियो

काठमाडौँ। पछिल्लो एक महिनामा दलहनको मूल्य आकासिएको छ । सो अवधिमा दालमा प्रतिकेजीमै ३० रुपियाँसम्म महँगो भएको हो ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार तेल, चामल, आँटा, चिनीलगायतको मूल्य प्रतिकेजी एक÷दुई रुपियाँ मात्रै बढे पनि दलहनको मूल्य प्रतिकेजीमा ३० रुपियाँसम्म बढेको छ । सङ्घका अनुसार पछिल्लो एक महिनामा मासको दाल सबैभन्दा बढी महँगो भएको छ । अघिल्लो महिना प्रतिकेजी १३० रुपियाँमा पाइने उक्त दाल अहिले बढेर प्रतिकेजीकै १६० रुपियाँ पर्छ । यस्तै, प्रतिकेजी ९० देखि १०५ रुपियाँमा पाइने मुसुरो दाल अहिले बढेर एक सयदेखि १३० रुपियाँ पर्ने भएको छ भने नेपाली रहर दाल प्रतिकेजी १४० रुपियाँबाट १६० पुगेको छ । मुङको खोस्टासहितको दाल प्रतिकेजी १५० बाट १६० रुपियाँ र छाँटा दाल प्रतिकेजी १५० बाट बढेर १७० रुपियाँ पुगेको छ । त्यसैगरी गेडागुडीमा राजमा, चना, केराउमा पनि अघिल्लो एक महिनाभन्दा प्रतिकेजीमा पाँचदेखि १० रुपियाँसम्म बढेको छ । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?