खाद्यको लापार्बाहीले राज्यकोषमा ढेड करोड क्षति

काठमाडौं। कर्णाली क्षेत्रमा उत्पादन भई काठमाडौं ल्याइएको विषादीरहित कर्णाली सिमी, फापर, उवाँलगायतका खाद्य तथा अन्न समयमा नै बिक्रीवितरण गर्न नसक्दा राज्यकोषको ढेड करोड बढी क्षति हुने अवस्था आएको छ ।
५ वर्षअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गरेर ल्याएको ठूलो परिमाणका खाद्य वस्तुहरू समयमा नै बिक्रीवितरण गर्न नसक्दा कामै नलाग्ने अवस्थामा पुगेका छन् । जसका कारण राज्यकोषको १ करोड ५९ लाख रुपैयाँ गुम्ने अवस्थामा पुगेको हो । ती खाद्य सामग्री अहिले लिमिटिडको थापाथली गोदाममा नै थन्कन पुगेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको तथ्यांकअनुसार ६ सय ७५ क्विन्टल कर्णालीको सिमी बजारमा बिक्रीवितरण हुन नसक्दा कामै नलाग्ने अवस्थामा पुगेको छ । यसैगरी, फापर १ सय ५६ क्विन्टल र १ सय २५ केजी पनि थन्किएको छ । कम्पनीले कर्णालीको सिमी प्रतिकेजी १ सय ३० मा बिक्री गर्दा पनि बिक्री हुन सकेको छैन । कम्पनीको व्यवस्थापकीय क्षमता कमजोर हुँदा कर्णालीबाट ल्याइएका सिमी, फापरलगायतका खाद्य वस्तुहरू प्रभावकारी रूपमा बिक्रीवितरण हुन नसकेका हुन् । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?