उदाहरणीय युवा अमर क्षेत्रीको कथा : विदेशमा सिकेर नेपाललाई सिकाउँदै

‘हुन्न, छैन, सकिँदैन’ भनेर विदेश पलायन हुनेहरुले पढ्नैपर्ने कथा

यो धर्तीमा जब युवकले जीत केही ल्याउँदैनन्
यो बाटोमा जब युवतीले गीत केही गाउँदैनन्
डाकी कोइली अनि वनवनै बोल्न छाड्ला बसन्त
निभ्लान् तारा, ग्रहहरु त्यहीँ सृष्टिको हुन्छ अन्त ।

कवि शिरोमणी लेखनाथ पौड्यालले युवाको चर्चा गर्दै कोरेको कविताको यो श्लोकले युवासँग एउटा राष्ट्रको अस्तित्व कसरी जोडिएको हुन्छ भनेर प्रष्ट्याउँछ । हुन पनि युवा राष्ट्रका आत्मा हुन् । देशका शक्ति हुन् । युवाले चाहेमा ठूल्ठूला काम पनि सहजै पूरा हुन्छन् ।

अमर क्षेत्री पनि तिनै युवाका एक प्रतिनिधि हुन् जो आफ्नै देशमा परिश्रमको पसिना बगाउने उद्देश्यले लागिपरेका छन् । ४ वर्ष चीनको होटल व्यवसायमा काम गरेपछि अमरलाई आफ्नो परिश्रम अर्काको राष्ट्रलाई विकास गर्नमा खेर गइरहेको अनुभव भयो । त्यस लगत्तै आफ्नै देशमा उद्यमशीलता पोखाउने सपना बोकेर नेपाल फर्किए उनी । र, आउनासाथ यहाँको बजार र मागको अध्ययनमा लागिहाले ।

अहिलेका युवाहरु आफ्नो फिटनेस र हेल्थमा निकै सचेत भएको पाएपछि आफ्नो मिहिनेत र पुँजीलाई फिटनेस बिज्नेसमा लगाउने निर्णय गरे अमरले ।

२८ वर्षीय अमरले आफ्नै भिनाजु र चिनजानमै रहेका दाजुसँगको सहकार्यमा ‘डि जिम’ स्थापना गरे । जिम स्थापना भएको धेरै भएको छैन । तर, छोटो समयमै सो व्यवसायले निकै राम्रो सफलता हात पारेको छ । स्थापना भएको १ महिनामै २ सय ५० भन्दा बढी ग्राहकले यहाँबाट सेवा लिइरहेका छन् । बिहान ५ बजेदेखि राति ९ बजेसम्म अमर र उनका बिज्नेस पार्टनरलाई भ्याइनभ्याइ हुन्छ ।

‘नेपाल अविकसित मुलुक हो । यहाँ कमाइ हुँदैन । लगानी गर्ने वातावरण नै छैन । मार्केट छैन ।’ जस्ता भनाइहरुले हाम्रा नजरलाई धुमिल बनाएको र अफवाहहरुको भरमा हामीले नेपालमा रहेका सम्भावनाहरुलाई नजरअन्दाज गरिरहेको बताउँछन् अमर । उनका अनुसार यो समय नेपालको लागि एकदमै ‘प्रोडक्टिभ’ छ र यहाँ बिज्नेसका नयाँ कन्सेप्ट र आइडियाहरुले राम्रो नतिजा हात पार्न सक्छन् ।

ऋण लागेपनि दिन नलागोस् भन्ने अमर ऋण लिएरै व्यवसाय शुरु गरेतापनि सबैजनाबाट राम्रो प्रतिक्रिया पाइरहेकाले व्यवसाय आगामी दिनमा फस्टाउँदै जाने कुरामा ढुक्क छन् ।

विगत १० वर्षको तथ्याङ्क हेर्ने हो भने वार्षिक रुपमा करिब ४ लाख युवाहरु वैदेशिक रोजगारीका निमित्त विदेशिरहेका छन् । त्यस्तै पढाइका सिलसिलामा आर्थिक वर्ष २०७४/७५ मा मत्रै ५८ हजार ७ सय ५८ विद्यार्थी विदेशिएका छन् । विदेश पलायन भइरहेको जनशक्तिलाई सरकारले कम्तीमा आफ्नो देशमा भएको सम्भावना चिनाउन मात्र सके पनि समृद्धि खोज्न भौतारिरहनु पर्ने थिएन ।

अमरको पौरखी कथा हेर्न भिडियो लिंक क्लिक गर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?