श्रीलङ्काका राष्ट्रपतिलाई पाकिस्तान भ्रमणको निम्तो

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेलाई पाकिस्तानले पनि भ्रमणका लागि निमन्त्रणा गरेको छ ।

पाकिस्तानका विदेश मन्त्री मोहम्मद कुरेशीले सोमबार भेटेर राजापाक्षेलाई पाकिस्तान भ्रमणको निमन्त्रणा दिनुभएको हो ।

उहाँले पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले पठाउनुभएको निमन्त्रणापत्र श्रीलङ्काली राष्ट्रपति राजापाक्षेलाई हस्तान्तरण गर्नुभएको थियो ।

निमन्त्रणापत्र बुझाउने क्रममा भएको भेटवार्तामा उहाँहरुबीच दुई पक्षीय हित, साझा चासो, समसामयीक विषयवस्तु, आपसी सम्वन्धलाई थप सुधार पार्ने लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

पाकिस्तानी विदेश मन्त्री कुरेशी दुई दिने भ्रमणका लागि आइतबार कोलम्बो आइपुग्नुभएको हो । उहाँले नवनियुक्त श्रीलङ्काली समकक्षी दिनेश गुनावर्देनालाई पनि भेट्नु भएको छ ।

उहाँहरुका बीचमा पनि दुई पक्षीय हित, व्यापार, लगानी, पर्यटन, जनस्तरको सम्वन्ध, साझा चासोलगायतका विषयमा छलफल भएको विदेश मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?