कमल थापाले गरे अमेरिका पुगेर राष्ट्रवादी कुरा

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रवासमा रहेर राष्ट्रवादी भावनाको विकासमा नेपाली समुदायले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

उहाँले राप्रपा निकट प्रवासी नेपाली एकता समाज अमेरिकाको बाल्टिमोरमा आयोजित तेश्रो अधिवेशनको समुदघाटन गर्दै नेपालको राष्ट्रिय एकताको आधारहरुको पहिचान र पुनःस्थापनामा आवश्यक परे हस्तक्षेपकारी भूमिका निर्वाह गर्न प्रवासी नेपालीलाई आग्रह गर्नुभएको छ ।

थापाले नेपालका अन्य राजनीतिक दल भन्दा राप्रपा फरक विचार र फरक बाटोबाट हिडिरहेको बताउँदै कतिपयले दुस्साहसपूर्ण बाटो भनेतापनि नेपालको लागि राप्रपाले अबलम्बन गरेको बाटो सहि, उपयुक्त तर कठिन रहेको बताउनुभयो।
स्वदेश विदेश जहाँ गएपनि कतिपय मान्छेले मलाई राप्रपाले दुस्साहसपूर्ण बाटो हिडेको भन्छन्, अध्यक्ष थापाले भने “राप्रपाले हिडेको बाटो सजिलो छैन “कठिन छ तर नेपालको सुरक्षित भविष्यको लागि राप्रपाले हिडेको बाटो सहि र उपयुक्त छ, हामी आम नेपालीलाई यसबारे बुझाउँदै हिडिरहेका छौं, एकदिन सबैलाई बुझाउन सफल हुनेछौं, हाम्रो निष्ठा र आदर्शमा शंका नगर्न आग्रह गर्दछु ।” उहाँले भन्नुभयो ।

राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकासमा पार्टी र पार्टीभन्दा माथि उठेर विवेकको प्रयोग गर्ने अवस्था नरहेको भन्दै अध्यक्ष थापाले देशमा डरलाग्दो ठूला ठूला भ्रष्टाचारका काण्डहरु भइरहेको तर जनता पार्टीका आधारमा विभाजित हुँदा भ्रष्टाचारीले सजिलै उन्मुक्ति पाउने गरेकोमा चिन्ता व्यक्तसमेत व्यक्त गर्नुभयो ।
समारोहमा राप्रपाका प्रवास संघका प्रमुख, सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठले विदेशमा राष्ट्रियताको भावना प्रचुर रहेको बताउँदै राष्ट्रवादी आन्दोलनमा प्रवासको साथ, सहयोग र समर्थन रहने उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?