उपनिर्वाचनः देशभरि ६५.४३ प्रतिशत मतदान, सबैभन्दा कम थवाङमा, भोलिसम्म सबै आउने

काठमाडौँ ।
मंसिर १४ गते शनिबार ३६ जिल्ला ५ सय ३७ मतदान केन्द्रमा भएको मतदान सम्पन्न भएको छ । मतदान केन्द्रमा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, किरीयापुत्री, अशक्त मतदातालाई सहज ढंगले मतदान गर्न पाउने गरी प्रबन्ध मिलाइएको थियो । मतदान भइरहेको अवस्थामा कास्की,दाङ, सर्लाही, डोटी र लमजुङ जिल्लामा मतदान केन्द्र नजिक केही बम विस्फोटनका घटना भएपनि मतदान केन्द्रमा कुनै पनि क्षति नपुगेको निर्वाचन आयोगका सचिव एंव प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार, अहिले सम्म ४० स्थानको मतपरिमाण आइसकेको छु भने हुम्ला जिल्लाको खार्पूनाथ गाउँपालिका उपाध्यक्ष पदका भएको निर्वाचनको मतपत्र गणना गर्ने कार्य केही ढिला गरि सुरु भएपनि आजबाट नै मतगणना कार्य सुरु हुने बताउनु भयो ।उहाँले भन्नभयो, ‘उपनिर्वाचनको मत परिणामको अन्तिम नतिजा आइतबार राती अथवा सोमबार विहान सम्म सबै जिल्लाको पद परिणाम आउने छ । ‘साथै मंगलबार सम्ममा सबै विजयी उम्मेद्वारहरुलाई निर्वाचन आयोगले प्रमाणपत्र वितरण गरेर सकिने जानकारी दिनुभएको छ।

उपनिवार्चनमा प्रतिनिधी सभातर्फ कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधी सभा सदस्य(१, प्रदेश सभा सदस्यतर्फ भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को १, बागलुङ जिल्ला क्षेत्र नम्बर २ को २, दाङ जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ को २ गरी( ३ जना र स्थानीय तहतर्फ धरान उपमहानगरपालिका प्रमुख-१, संखुवासभा जिल्ला मकालु गाउपालिकाको अध्यक्ष-१, पाँचथर जिल्लाको फाल्गुन्द गाँउपालिको अध्यक्ष-१, महोत्तरी जिल्लाको पिपरा गाँउपालिकाको अध्यक्ष-१ गरी गाँउपालिका अध्यक्ष-३ जना, हुम्ला जिल्लाको खार्पूनाथ गाउँपालिका उपाध्यक्ष-१ र विभिन्न गाँउपालिका तथा नगरपालिका वडाअध्यक्ष-४३ गरी जम्मा ५२ रिक्त पदका लागि उपनिर्वाचन भएको थियो ।

उपनिर्वाचनमा प्रतिनिधी सभा सदस्यतर्फ ११, प्रदेश सभा तर्फ सदस्यतर्फ १५ र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दल प्रतिस्पर्धामा रहेका थिए । उपनिर्वाचन प्रतिस्पर्धी ३ सय ३७ उम्मेदवारमध्ये राजनीतिक दलतर्फ २ सय ५३ र स्वतन्त्र उम्मेदवार ८४ जना रहेका थिए। जसमा २ सय ५३ पुरुष र ८४ महिला उम्मेदवार रहेका थिए । प्रतिनिधी सभा सदस्यतर्फ राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी २१, प्रदेश सभा सदस्यतर्फ राजनीतिक दलका २९ र स्वतन्त्र १४ गरी र स्थानिय तहका सदस्यतर्फ राजनीतिक दलका २१३ र स्वतन्त्र ६० गरी जम्ममा २७३ उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।
मतदानका लागि मतदाता परियपत्र आवश्यक पर्ने भएता पनि मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका वा प्राप्त गरे पनि हराएका वा अन्य कुनै कारणले परिचयपत्र साथ नरहेका मतदाताले सहज ढंगले मतदान गर्न पाउन भन्ने उद्देश्यले आयोगले सम्बन्धित मतदाताको नेपाली नागरिकताको पमाणपत्र वा राहादानी वा कुनै सरकारी निकायले जारीको फोटोसहितको परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाएको थियो ।

यसबाट मतदान केन्द्रमा उपस्थित भएका र अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका कुनै पनि मतदाताको अधिकार बन्चित हुनु पर्यो भनेर यस्तो व्यवस्था गरिएको निर्वाचन आयोगका सचिव प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनाले मतदाता रहेकोमा २ लाख ९७ हजार १ सय जनाले मतदान गरेको र यस उपनिर्वाचनमा सरदर ६५.४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको आयोगले जनाएको छ। प्रतिनिधी सभा सदस्यको निर्वाचन भएको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा ६५ प्रतिशत (४६,५७५ मत) प्रदेश सभा सदस्यको निवार्चन भएको भक्तपुरमा ७० प्रतिशत (३१,६८२ मत),बागलुङमा ६१ प्रतिशत (२१,२९५ मत ) र दाङमा ६७ प्रतिशत (४५,७१९मत) मतदान भएको प्रवक्ता श्रेष्ठले बताउनु भयो । स्थानीय तहका सदस्यतर्फ धरान उपमहानगरपालिका प्रमुखका लागि भएको मतदानमा ५९ प्रतिशत, फाल्गुनन्द गाँउपालिका, मकालु गाउँपालिका, पिपरा गाउँपालिका अध्यक्षका लागि भएको मतदानमा क्रमश : (६६,६५,६) प्रतिशत र खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदान ८५ प्रतिशत मतदान भएको छ ।

उपनिर्वाचनमा सबैभन्दा धेरै रौतहट र हुम्लामा र सबैभन्दा कम थवाङ गाउँपालिका वडा नम्बर १ को वडाअध्यक्षको लागि भएको मतदानमा १६.१ प्रतिशत मात्र मतदान भएको छ ।

निर्वाचन व्यवस्थापनमा आयोग र नेपाल सरकारका विभिन्न निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यलय, निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यलय लगायतसँग प्रभावकारी सम्पर्क, समन्वयका लागि सन्चालनमा रहेका संयुक्त निर्वाचन केन्द्र मार्फत उपनिर्वाचन भएका सबै मतदान स्थलमा सम्पर्क, समन्वय कायम गरी आवश्यक विवरण प्राप्त गर्नुका साथै उत्पन्न समस्या समाधानका लागि आवश्यक निर्देशन दिएको आयोगले बताएको छ।

उपनिर्वाचनमा विभिन्न ४ वटा राष्ट्रिय पर्यवेक्षण संस्था, कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, लगायत ४१९ जनाबाट पर्यवेक्षणर अवलोकवन कर्ता रहेका थिए । पर्यवेक्षक एवम् अवलोकनकर्ताबाट उपनिर्वाचन स्वस्च्छ,स्वतन्त्र र विश्वसनीय रुपमा सम्पन्न भएको आयोगले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?