नेपाली सेनाले सञ्चालन गरिरहेको मेडिकल कलेजलाई निर्देशन

चिकित्सा शिक्षामा तोकिएको शुल्क लागू गराउने क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली सेनाले सञ्चालन गरिरहेको मेडिकल कलेजलाई शुल्क समायोजनका लागि निर्देशन दिनुभएको छ । मन्त्री पोखरेलले आज नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई सिंहदरबारस्थित कार्यकक्षमा आमन्त्रण गरी नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा सरकारले निर्धारण गरेभन्दा बढी शुल्क फिर्ता गर्न निर्देशन दिनुभएको हो । सो संस्थानसमेतले बढी शुल्क लिएको आवाज उठेको थियो ।

सैनिक मेडिकल कलेजको शिक्षण शुल्क र शैक्षिक अवस्थाबारे चासो लिँदै मन्त्री पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिइएको भए तत्काल समायोजन गर्न निर्देशन दिएको र प्रधानसेनापति थापाले सरकारले निर्देशनलाई आफूहरुले पालना गर्दै आएको जवाफ दिनुभएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिनुभयो । नेपाली सेनाले भ¥याङस्थित सो संस्थानमार्फत आठ वर्षदेखि प्रत्येक शैक्षिक सत्रमा एक सय विद्यार्थीलाई एमबिबिएस पढाउँदै आएको छ । सो संस्थानले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालसमेत सञ्चालन गरिरहेको छ ।

भेटमा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरिलगायत सहभागी हुनुहुन्थ्यो । सरकारले तोकिएभन्दा बढी शुल्क नलिन सरकारी र निजी क्षेत्रका मेडिकल कलेजलाई पटक पटक आग्रह गर्दै विद्यार्थीसँग जर्बजस्ती लिइएको शुल्क फिर्ता नगरे ठगी मुद्दामा कारवाही गर्ने चेतावनी दिँदै आएको छ । यसबारे नेपाल सरकार र मेडिकल कलेजका प्रतिनिधिबीच यही मङ्सिर ११ गते भएको सहमतिमा बढी शुल्क समायोजन गर्ने उल्लेख थियो । विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षा महँङ्गो भएको र कलेजहरुले मनोमानी शुल्क लिएको भनी आन्दोलन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?