बौद्धिक अपाङ्गता भएका बालबालिकाकी ‘आमा’ रत्नकलाको मर्मस्पर्शी कथा(भिडियोसहित)

काठमाडौं । भनिन्छ जसको कोही हुँदैन उसको भगवान हुन्छ । तर, यो जमानामा कहाँ हुन्छ भगवान ? जसले असहायको उद्धार गरोस् ।
मानिसमा मानवता हराउँदै गएको यो समयमा यस्ता प्रतिप्रश्न उठ्नु स्वभाविक हो । तर आज यहाँ प्रस्तुत गर्न लागेको कथा मैले छनौट गरेका शब्दभन्दा कयौं गुणा भारी छ । यी शब्दहरुले रत्नकलाले दःुख बिसाएका ती दिनहरु र उनले व्यतीत गरेको उर्जावान् समयको हिसाबकिताब गर्न सक्लान् कि नसक्लान् म सोचमग्न छु । सुनेको मात्रै थिएँ तर देखें एउटी नारी साँच्चै भगवानको अर्को रुप हुनसक्दिरहिछन् । कसैको जन्मदाता त कसैको जीवनदाता । हो, रत्नकलाले सडकमा भेटिएका वभिन्न किसिमका शारीरिक तथा मानसिक अशक्तता, बौद्धिक अपांगता भएका बालबालिकाको जीवन धानिरहेकी छिन् ।

उनका अनुसार बौद्धिक अपांगता भएकाहरु धेरै जटिल हुन्छन् । उनीहरुको हेरचाह गर्न निकै मुस्किल छ । उनीहरु न भनेको बुझ्छन्, न बुझाउन सक्छन् । यस्तो हालतमा बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपले काठमाडौंको विभिन्न स्थानमा अलपत्र अवस्थामा फेला परेका अभिभावकविहीन बालबालिकालाई उद्धार गर्ने तथा अभिभावक भेटिएकाहरुलाई परिवारमा पुनःस्थापना गर्ने जिम्मेवारी रत्नकलालाई दिएको छ । कोही नभेटिएको खण्डमा यस स्याहार केन्द्रमा रत्नकलाले आफ्नै सन्तानसरह उनीहरुलाई हुर्काउँछिन् ।

अहिले संस्थामा २१ जना बालबालिका छन् । उनीहरुको हेरचाहमा ५ जना खटाइएको छ । उनीहरुलाई बिहान उठेदेखि राति नसुतुन्जेल हेरचाह गर्नेले निस्फिक्री श्वाससमेत फेर्न पाउँदैनन् । उनीहरुलाई प्रदान गरिने सेवा तथा सुविधामा फिजियोथेरापी, औषधीउपचार, शिक्षादिक्षा, घुमफिर र डाक्टरले सिफारिस गरेअनुसारका खानेकुराहरु खुवाउने गरिन्छ ।

कहिलेकाहीँ आफ्नै दैनिकीदेखि दिक्क लाग्छ रत्नकलालाई । आफूले जसको निमित्त यत्तिको मिहिनेत ग¥यो, नङ्ग्रा खियायो उनीहरु आफ्नो त्याग बुझ्ने अवस्थामा नहुँदा काम गर्ने जोस हराउँछ ।

आफ्नै जीवन धान्न नसक्दा मान्छेहरु आत्महत्या गर्छन् भने उनको लागि २१ वटा जीवन धान्न कति सकस होला ? पहिलो भेटमा मेरो मस्तिष्कमा यही प्रश्न उठेको थियो । उनको यो असहाय केन्द्र दुःखको एउटा विश्वविद्यालय बराबर छ उनका लागि अनि बितेका १० वर्षले सिकाएको पाठ सर्टिफिकेट बराबर ।

‘फ्ल्यासब्याक’ त्यो जीवन ….

चितवन निवासी दम्पत्ति एकराज ओली र रमा ओलीका ४ सन्तानमध्ये तेस्रो सन्तानको रुपमा जन्मिएकी रत्नकलाको परिवार मध्यम वर्गीय नै हो । तर दीनदुखीलाई सहयोग गर्ने मामिलामा रत्नकलाका पिता सधैं अघि सर्ने गर्थे । मर्दापर्दा गाउँघरमा सम्झिइने एउटै नाम थियो एकराज । आफ्ना बाबुआमाको यही गुणबाट प्रभावित थिइन् रत्नकला पनि । वि सं २०३५ साल असार २ गते जन्मिएकी उनले बाल्यकालमा कुनै कुराको अभाव दुःख महसुस गर्नुपरेन । स–सानो व्यवसाय र प्रशस्तै जग्गाले संयुक्त परिवार खुसीसाथ रमाइरहेको थियो ।

रत्नकला व्यवस्थापन विषयमा स्नातक तहमा अध्यनरत थिइन् । ‘२४ वर्षकी थिएँ,’ रमाइला पल सम्झँदै उनले भनिन्, ‘त्यहीवेला उहाँसँग विवाहको कुरा चल्यो ।’

रत्नकलाको ‘उहाँ’ अर्थात् उद्धवराज डल्लाकोटी ।

उद्धव र रत्नकलाको घर करिब १ किलोमिटरको दूरीमा थियो । स्कुल आउँदाजाँदा देखभेट हुने । बजार जाँदा होस् वा मिनिबसमा, स्कुलको सांगीतिक कार्यक्रममा अनि गाउँघरको बिहेबटुलोमा उनीहरु दुईको देखादेख भइरहन्थ्यो । कहिलेकाहीँ बोलचाल पनि । बुद्ध शान्ति माध्यमिक विद्यालयमा उनी ७ मा कक्षामा पढ्दा उद्धव १० कक्षामा पढ्थे ।

एसएलसी सकाएपछि उद्धव थप अध्ययनका लागि काठमाडौं आए । रत्नकला गाउँमै थिइन् । घर सल्लाह भयो । दुवै परिवार एक हुने सहमति जुट्यो । २४ वर्षको उमेरमा रत्नकला र उद्धवले जूनीभर नछुटिने वाचासहित लगनगाँठो कसे । विवाहपछि उनीहरु काठमाडौँमा नै बस्न थाले । यो कुरा वि सं २०५९ सालको हो ।

उद्धवका दाजुले काठमाडौंमा घर बनाइसकेका कारण उनीहरुलाई बसोबासको समस्या भएन ।

जब जिन्दगीको गाडी नमीठो मोडमा पुग्यो …

समय ठिकठाक चलेकै थियो । रत्नकला गर्भवती भइन् । परिवारमा बडो खुसी छायो । गर्भ रहेदेखि नै नियमित चेकअप र फलोअपमा जान्थिन् उनी । वि सं २०६० साल असार २८ गते उनी पहिलोपटक आमा बनिन् । सबैतिर हर्ष छायो । ती सन्तान रत्नकला र उनका श्रीमान्का आँखाको तारा जत्तिकै भए ।

पहिलोपल्ट आमा बन्दाको अनुभुति सँगाल्दै गर्दा रत्नकलाको बलिरहेको जीवनमा एकाएक अँध्यारो छायो जब उनले आफ्नो छोराको दिमागमा समस्या भएको थाहा पाइन् । बच्चा जन्मिएको १ महिनापछि एकदिन ऊ डाँको छाडेर रुन थाल्यो । जँचाउनलाई अस्पताल लगिएको थियो । डाक्टरले भनिदिए, ‘उसको ब्रेनमा समस्या भएकाले शारीरिक र मानसिक विकासमा समस्या हुन्छ र ऊ बोल्न, खेल्न, कुद्न, बुझ्न सक्दैन ।’ आफ्ना छोरालाई लिएर हजारौं सपना सजाइसकेका रत्नकलाका आँखा अनायासै भिजे । त्यो रात र त्यसपछिका कैयौं रात उनी निदाइनन् ।

यो कुराकानी गरिरहँदा ओम आफ्नो आमाकै काखमा पल्टिएका छन् । उसका आँखा यताउता चलिरहन्छन् तर, वरिपरि के भइरहेको छ भनेर ठम्याउन भने सक्दैनन् ।

‘यस्तो समस्या नभइदिएको भए मेरो छोरा पनि यतिखेर जवान देखिन्थ्यो होला, किशोरावस्थामा उसको व्यवहारमा देखिने परिवर्तनले म चिन्तित हुन्थें होला,’ ममतामयी आँखाले उसलाई नियाल्दै रत्नकला भन्छिन्, ‘तर, त्यो चिन्ता पनि कति प्यारो हुँदो हो ।’
छोराकै उपचार गर्नलाई रत्नकला र उद्धव विभिन्न अस्पतालको ढोका ढक्ढकाउन पगे, डाक्टरहरुमाझ आफ्नो बिन्ती बिसाए । तर, नियतिका अगाडि उनीहरुको केही जोर चलेन । यहीकारणले रत्नकलाले ‘डिप्रेसन’सँग पनि जुध्नुप-यो ।

यही क्रममा रत्नकला दोस्रोपटक गर्भवती भइन् । आमा बन्ने खुसी भन्दा पनि रत्नकलालाई ‘दोस्रो सन्तान पनि यस्तै जन्मियो भने ?’ भन्ने पीरले सताइरह्यो । यस्तो वेला उद्धवले आफ्नी श्रीमतीलाई खुब साथ दिए । सम्झाए । फलस्वरुप दोस्रो सन्तान स्वस्थ्य जन्मियो । यद्यपि भर्खर जन्मिएको छोरालाई भन्दा ओमलाई बढी स्याहारसुसार गर्नुपर्ने भएकाले रत्नकलाको व्यस्तता झन् बढ्दै गयो ।
ओमलाई फिजियोथेरापी गराउन उनी कलंकीदेखि धापाखेलसम्म पुग्नुपथ्र्यो ।

यही क्रममा आफूजस्तै सन्तान भएका आमाहरुको पीडालाई बुझेर रत्नकला यस्ता बालबालिकालाई राख्ने एउटा संस्था स्थापना गर्ने निर्णयमा पुगिन् । आफ्नो फुर्सदिलो समयलाई सही सदुपयोग गर्ने र आफ्नो छोराजस्तै समस्याबाट पीडित असहाय बालबालिकाको अभिभावकत्व सम्हाल्ने अवसर जुर्ने भएपछि रतनकलाले आफ्नै सन्तानको नाममा स्थापना गरिन् ‘ओम डिस्एबल्ड चाइल्ड केयर होम’ ।
वि सं २०६७ सालमा स्थापित यस सेवा घरमा अहिले २१ जना बालबालिका छन् । शुरुवाती दिनहरुमा घरघर पुग्दै बालबालिका संकलन गर्ने रत्नकलालाई अहिले सडकमा अलपत्र परेका बेसहारा बालबालिकाहरुको बारेमा बालबालिका खोजतलास समन्वय केन्द्रले जानकारी प्रदान गर्छ । उनीहरुलाई लिन रत्नकला स्वयम् पुग्छिन् ।

बालबालिकाको स्याहारसुसार गर्नलाई संस्थामा ५ जना कर्मचारी खटाइएका छन् ।
सामान्य बालबालिकाभन्दा भिन्न भएकाले उनीहरुलाई २४ घण्टा कडा निग्रानीमा राख्नुपर्ने रत्नकला बताउँछिन् । ‘सामान तोडफोड गर्ने, एकआपसमा कुटपिट गर्ने, आफ्नै दिशापिसाबसँग खेल्ने र खाने आदिजस्ता क्रियाकलापहरु ग्र्ने भएकाले केयर गर्न निक्कै गाह्रो छ,’ रत्नकला केही निन्याउरो आवाजमा सुनाउँछिन्, ‘सरकारले अपाङ्गमैत्री भवन निर्माणमा सहयोग गरिदिए उनीहरुलाई सुरक्षितसाथ राख्न सक्ने थिएँ ।

राष्ट्रिय बाल अधिकार समिति नामक सरकारी निकायसँगै सहकार्य गरेर काम गरिरहेकाले रत्नकलाको सेवा घरलाई अहिले वार्षिक ५ लाख रकम आर्थिक सहयोग गर्दै आएको छ सरकारले । यसका अतिरिक्त रत्नकलाका श्रीमानको आफ्नै व्यवसाय छ र उनका आफ्नाआफन्त विदेशमा भएकाले उनीहरुको पनि सहयोग छ रत्नकलालाई । कहिलेकाहीँ स्थानीय दाताहरुले पनि सहयोग गर्ने गरेका छन् । जेनतेन यस्तै सरसहयोगबाट संस्था हाँकिरहेकी छिन् उनले ।

कहिलेकाहीँ संस्थाको आर्थिक अवस्था सम्झेर भोकप्यास, निन्द्रा सबै बिर्सन्छिन् रत्नकला । तर, ती अवोध बालबालिकाको चेहरा हेरेर आफूलाई सम्हाल्ने बताउँछिन् उनी ।

आजभोलि उनलाई लाग्न थालेको छ सेवा भन्दा ठूलो कुरा केही रहेनछ । शान्तिको श्वास फेर्न पाउनु पनि भाग्यको कुरा हो । र उनलाई त्यो शान्ति तिनै बालबालिकाको सेवाले दिइरहेको छ । अनि उनको एउटा ठूलो सपना छ, यी बौद्धिक अपाङ्गता भएका बालबालिकाको लागि सानो तर अपाङ्गमैत्री भवन बनाउन पाए……!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?