राष्ट्रिय सूचना आयोगले प्रमुख आयुक्त र दुई आयुक्त माग्यो

काठमाडौं । राष्ट्रिय सूचना आयोगले एक जना प्रमुख सूचना आयुक्त र दुई जना आयुक्त माग गरेको छ।

पदाधिकारी नियुक्ति सिफारिस समितिको सचिवालयले बिहीबार सूचना निकालेर इच्छुकबाट आवेदन माग गरेको छ ।

सूचनाको हकसम्बन्धी ऐन २०६४ ले सूचनाको हकको संरक्षण, सम्बर्द्धन र प्रचलनको लागि सूचना आयोगको व्यवस्था गरेको छ। उक्त ऐनको दफा ११ अनुसार आयोगमा एक प्रमुख आयुक्त र दुई जना आयुक्त रहने उल्लेख छ ।

‘आयोगका पदाधिकारीहरूको पदावधि समाप्त हुने क्रममा रहेकोले रिक्त हुने पदहरूमा योग्य र उपयुक्त व्यक्तिहरूको नियुक्तिका लागि इच्छुक उम्मेदवारहरूबाट आवेदन माग गर्ने निर्णय’ सिफारिस समितिले गरेको बताएको छ।

मंसिर १९ गतेभित्र इच्छुकले सिफारिस समितिको कार्यालय देवीनगर काठमाडौंमा आवेदन दिन सकिने समितिले जानकारी दिएको छ।

आयोगका लागि कम्तिमा स्नातकोपाधि हासिल गरेको, आमसञ्चार, कानुन न्याय, सार्वजनिक प्रशासन, सूचना प्रविधि वा व्यवस्थापनको क्षेत्रमा कम्तिमा १५ वर्षको अनुभव हासिल गरेको हुनुपर्ने योग्यता छ। ६५ वर्ष उमेर ननाघेको नेपाली नागरिकले आवेदन दिन सकिने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?