काठमाडौं । डोटीको आदर्श गाउँपालिका–२ मा यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक तयारी तीव्र पारिएको छ ।
निर्वाचनका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्रलगायत सामग्री आइपुगेको जिल्ला निर्वाचनको कार्यालयले जनाएको छ । निर्वाचन सामग्री सुरक्षित राखिएको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए ।
उनका अनुसार निर्वाचनमा आवश्यक पर्ने सम्पूर्ण सामग्री तथा कर्मचारी अहिले निर्वाचन क्षेत्रमा खटिसकेका छन् । दलहरुले प्रचारप्रसार शान्तिपूर्णरूपमा गरिरहेको र निर्वाचनको तयारी सौहार्दपूर्णरूपमा चलिरहेको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने, “दलहरुको प्रचारप्रसार शान्तिपूर्णरुपमा रहेको छ, हामीले पनि निर्वाचन विशेष सुरक्षा लागू गरेका छौँ, ढुक्क भएर मतदान गरे हुन्छ ।” उक्त वडामा कूल तीन वटा मतदान केन्द्र राखिएको छ ।
ती मतदान केन्द्रमा निजामती कर्मचारी १५, सशस्त्र प्रहरी ४५, नेपाल प्रहरी १५० र नेपाली सेना ३५ गरी कूल २४५ जनालाई खटाइएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । निर्वाचन हुने वडा र त्यस आसपासको क्षेत्रमा प्रशासनले मंसिर १२ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । वडा नं २ को निर्वाचन हुने स्थानमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगीसमेत खटाइएको पौडेलले बताए ।
निर्वाचन क्षेत्रको शान्ति सुरक्षाका लागि सुरक्षाकर्मीले दैनिक गस्ती गरिरहेको डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए । उनले भने, “शान्ति सुरक्षा कायम गराउन सुरक्षाकर्मीले दिनहुँ गस्ती गरिरहेको छ, शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न हुनेछ ।”
निर्वाचनको दिन अर्थात् मङ्सिर १४ गते निर्वाचन बुथमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी तथा तेस्रो घेरामा नेपाली सेना खटिने गरी व्यवस्था मिलाईएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
उक्त वडामा कम्तीमा पनि दुई हजार ५०० मतदाता रहेका छन् । मतदातालाई सही तरिकाले मत खसाल्न जानकारी दिन मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गरिएको छ । यसअघि स्थानीय तहको निर्वाचनमा त्यहाँ कूल दुई हजार ४०० मतदाता रहेका थिए । वडाध्यक्षका लागि हुने निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र गरी चार उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । वडाध्यक्षका लागि नेकपाबाट रामबहादुर बोहरा, काँग्रेसबाट महादेव साउद, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काशीराम ओझा तथा स्वतन्त्रका तर्फबाट स्थानीय भूमिसिंह खड्का उमेदवार रहेका छन् । ।
नेकपाका उमेदवार रामबहादुरले १५ बुँदे घोषणापत्र जारी गरी घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । नेकपा जिल्ला कमिटी अध्यक्ष चक्रबहादुर मल्लका अनुसार पार्टीका सबैजसो नेता तथा सांसद प्रचारप्रसारमा जुटेका छन् ।
त्यस्तै कांग्रेसले पनि निर्वाचनका लागि घरदैलो अभियानलाई तीव्रता दिएको छ । केन्द्रीय नेतादेखि जिल्ला तहका नेतासमेतको टोली घरदैलो अभियानमा जुटेको कांग्रेस जिल्ला सभापति प्रदीपकुमार देउवाले जानकारी दिए । उक्त वडामा नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको स्थानीयवासी भरत खड्काले बताए । उनले भने, “नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ, दुवै दलको थोरै मतले हार जीत हुने सम्भावना रहेको छ ।”
सो वडाका तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको जीप दुर्घटनामा गत वर्ष मृत्यु भएपछि रिक्त रहेको उक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया