‘गोल्ड मेडल’को लागि खेलाडीको यस्तो दाउ, कसरी हुँदैछ अभ्यास ?

खेलाडीले दिएको त्यो डिप्लोमेटिक उत्तर....

काठमाडौं । महिला भलिबल टोली अहिले एउटै स्वर्णिम लक्ष्य बोकेर तयारी गरिरहेको छ, ‘जसरी पनि स्वर्ण भित्र्याउने’ ।

नेपालमै हुन गइरहेको १३ औं दक्षिण एसियाली खेलमा अहिलेसम्मकै उत्कृष्ट प्रस्तुति दिने तरखरमा उनीहरु लागिपरेका छन् । यो तयारी शुरु भएको ४ महिना पूरा भयो । क्लोज क्याम्प शुरु भएदेखि उनीहरुले व्यक्तिगत जीवनलाई बिर्सेर कडा ट्रेनिङमा लाग्नुपरेको छ ।

उनीहरु बिहानीको घामसँगै कोर्टमा उदाउँछन्, अभ्यास गर्छन्, कोठा फर्किन्छन्, फ्रेस हुन्छन्, खाना खान्छन्, आराम गर्छन् र फेरि अभ्यासकै लागि तयार हुन थाल्छन् । रातिको खानापछि निश्चित समयमा उनीहरु सबैको मोबाइल फोन समेत खोसिइन्छ ताकि भोलिपल्ट कोर्टमा उनीहरुको थकान र अनिन्द्रा खेलमा हाबी हुन नपाओस् ।

एक किसिमले ‘इट, ट्रेन, स्लिप, रिपिट’ यही चक्रमा घुमिरहेको छ उनीहरुको जीवन । परिवार, आफ्नाआफन्त, साथीभाइ, मोजमस्तीभन्दा टाढै रहेर ‘गोल्ड मेडल’को लक्ष्यसँग नजिकिने यात्रामा छन् हाम्रा महिला भलिबल खेलाडी ।

यसपालि सबै खेलाडीहरु टिमको प्रस्तुति सुधार्नमा अत्यन्तै लागिपरेको कारण केही समयअघि एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा हात पारेको जीत पनि रहेको बताउँछिन् टोलीकी कप्तान अरुणा शाही ठकुरी । ‘नेपाली महिला भलिबलले अन्तर्राष्ट्रिय स्तरको खेलमा जितेको पहिलो पटक थियो त्यो त्यसैले हामीमाथि धेरैजनाको आशा छ,’ अरुणा भन्छिन्, ‘त्यो गेममा भन्दा अझै राम्रो खेल्ने हाम्रो लक्ष्य हो ।’

‘हो, मिहिनेत त धेरै गरेका छौं,’ अरुणाकै भनाइमा हो थप्दै टोलीकी अर्की अब्बल खेलाडी प्रतिभा माली आफ्नो अनुभव सुनाउँछिन्, ‘म त सपनामा पनि खेलिरहेको देख्छु आजभोलि ।’ प्रतिभा टिमकी उत्कृष्ट स्पाइकर हुन् ।

राष्ट्रिय महिला भलिबल टोलीका खेलाडी क्लोज क्याम्पमा छन् अहिले । कतिपय खेलाडी सागमा आफ्नो डेब्यू गर्दै छन् । केही अनुभवी पनि छन् । टिममा नयाँपन र अनुभवको बेजोड तालमेल मिलेकाले र धेरै समयसम्म सँगै बसेर एक अर्काको खेल बुझ्ने र सुधार्ने मौका मिलेकाले यसपालिको टोली अरुवेला भन्दा केही बलियो भएको बताउँछिन् टिमकी अर्की स्पाइकर सरस्वती चौधरी ।

‘हामीलाई सबैले स्लो खेल्छौ भन्ने कमेन्ट गर्नुहुन्थ्यो,’ खेलको स्पीडमा निकै मिहिनेत गरेको बताउँदै सरस्वती थप्छिन्, ‘पहिलाभन्दा निकै छिटो खेल्ने भएका छौं ।’

***
यसपालिको साग गेम्स नेपालमै हुँदैछ । सागको इतिहास पल्टाउने हो भने सन् १९८४ मा भएको पहिलो साग गेम्सको आयोजक राष्ट्र नेपाल थियो । त्यसपछि सन् १९९९ मा फेरि पनि नेपालकै प्राङ्गणमा आयोजना भयो साग गेम्स । यो तेस्रो पटक हो ।

हरेक सागमा सबैभन्दा बढी मेडल भित्र्याउन सफल भारतको एकाधिकारलाई यसपालि तोड्नैपर्छ भनेर लागिरपरेका छन् नेपाली चेलीहरु । अझ आफ्नै देशमा प्रतियोगिता आयोजना हुनुले उनीहरुको उत्साहको उचाइमा एक खुड्किलो थपिदिएको छ । यद्यपी, यही कुरा पछि गएर आफ्नो हारको कारण बन्ने पो होकि भन्ने डर कताकता सलबलाइरहेको सुनाउँछन् उनीहरु ।

‘आफ्नै होम ग्राउन्ड भएर खुसी त छौं तर डर पनि लागेको छ,’ भन्छिन् प्रतिभा ।
कस्तो किसिमको डर भन्ने हाम्रो प्रश्नमा प्रतिभा भन्छिन्, ‘दर्शकको हुटिङले जिताउन पनि सक्छ र हराउन पनि ।’

प्रतिभाको कुरालाई अझै प्रष्ट पार्न अरुणाले यही वर्ष भदौमा घरेलु मैदानमै आयोजना भएको पाँचौं एभीसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको किस्सा जोडिन् । ‘नेपाल र माल्दिभ्सको गेममा नेपालले अलि चित्तबुझ्दो नखेलेपछि दर्शकहरुले तत्कालै नकारात्मक प्रतिक्रिया देखाउनुभयो,’ अलि दुखी हुँदै उनले बेलीविस्तार लगाइन्, ‘खेलाडीहरुलाई झन् प्रेसर परेर खेल खस्कियो र नेपालले नराम्रोसँग हार बेहोर्नुप-यो ।’

यस विषयमा सरस्वतीको मत पनि खासै फरक छैन ।

‘यसै त कोर्टमा छिरेपछि खेलाडीहरुमाथि कति प्रेसर हुन्छ त्यसमा दर्शकको हुटिङले खेलको कायापलट पनि गरिदिनसक्छ,’ उनले भनिन् ।

त्यसो त, दर्शककै प्रतिक्रियाले गर्दा हारेको मात्र होइन जितेको खेलको अनुभव पनि छ उनीहरुसँग ।

‘हाम्रो र श्रीलंकाको गेम क्या दिदी, त्यो गेम त हामीलाई अडियन्सले नै जिताएको हो है,’ अरुणालाई ‘दिदी’ सम्बोधन गर्दै सन् २०१५ मा घरेलु मैदानमै भएको खेलको किस्सा सम्झाइन् सरस्वतीले । अरुणाले हो मा हो थपिन् ।

प्रतिभाले कुन खेल भनेर थप प्रष्ट्याइन्, ‘सन् २०१५ मा नेपालमै आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगिता थियो त्यसमा दर्शकले यति हौसला बढाउनुभएको थियो कि हामीले श्रीलंकालाई समेत जितेका थियौं ।’

प्रतिभाले ‘श्रीलंकासमेत’ भन्नुको पनि कारण छ । किनकी श्रीलंका र भारत मात्र यस्ता राष्ट्र हुन् जसलाई साग गेम्समा अहिलेसम्म नेपाली महिला भलिबल टोलीले हराउन सकेको छैन । सागमा नेपाललाई यतिसम्म ‘अनलक’ लाग्ने गरेको छ कि केही महिनाअघि मात्र अन्तर्राष्ट्रिय प्रतियोगितामा श्रीलंकामाथि विजयी भएको नेपालले त्यही टिमसँग सागमा हार बेहोर्नुपरेको थियो ।

पर्याप्त अभ्यास नगराइनु नै यसको मुख्य कारण भएको सुनाउँछन् उनीहरु ।

‘त्यसोभए यसपालिको अभ्यासले जितको संकेत दिन्छ त ?’ हामीले प्रश्न राख्यौं ।

‘४ महिनासम्म ट्रेनिङ भएको यो पहिलोपटक हो यसमा हामी धेरै खुसी छौं तर, जित्नै छ भने यति अभ्यास पनि पर्याप्त चाहिँ छैन,’ उनीहरुले डिप्लोमेटिक उत्तर फर्काए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?