मुनाले खोलेको नेपालकै पहिलो ‘टिकट काउन्टर’, जसले हटायो तीर्थयात्रीको त्यो सास्ती

‘पैसा मात्र होइन धर्म पनि कमाएको छु’

काठमाडौं । भारतको गोरखपुर स्टेसनबाट रेल छुट्नै लागेको थियो । भिनाजुसँगै तीर्थयात्री लिएर भारत हिँडेका मुनाका लागि यो नौलो अनुभव थियो । त्यतिबेला उनी १६ वर्षका थिए ।

यो वि सं २०३८ सालतिरको समय हो ।

रेल गुड्नै लागेको सङ्केत दिँदै हर्न बजिरहेको सुनिन्थ्यो । कोही यात्रु तछाडमछाड गर्दै हातमा भएको टिकट टिटीइलाई देखाउँदै रेलतर्फ लम्किरहेका थिए । कोही रेलभित्र आफ्नो सिट खोज्नमा व्यस्त थिए । मुनालाई त्यो माहोलले बेग्लै किसिमले रोमाञ्चित बनाएको थियो ।
ठ्याक्कै त्यतिखेरै उनको नजर एउटा दृश्यमा गएर टक्क रोकियो ।

उनले देखे, एक नेपालीले टिटीइको खुट्टा ढोग्दै रेल चढ्ने अनुमति मागिरहेको ।

पछि मुनाले थाहा पाए ती व्यक्ति पनि तीर्थयात्रामा हिँडेका नेपाली रहेछन् । यो दृश्यले मुनालाई नराम्रोसँग घोच्यो । तर, भारत हिँडेका नेपालीहरुले अक्सर यस्तै सास्ती झेल्नुपर्दथ्यो हरेक दिन ।

त्यसपछि उनका आँखा फगत रेलको रमाइलो दृश्य नियाल्न मात्र दगुरेनन् । नेपालीहरु टिकटविना जबरजस्ती रेलमा छिर्न खोजिरहेको र कोही अलपत्र परेर त्यही स्टेसनमा उनले धेरैपटक देखे ।

‘तीर्थयात्रा पनि आनन्दले गर्न नपाउने ?,’ मुना सोचमग्न भए ।

त्यो यात्राभरि उनलाई त्यस दृश्यको धङधङ्तीले छोडेन । यही कारणले उनले नेपालबाटै रेलको टिकट मिलाउने योजना बनाए ।
तर, त्यो काम त्यति सजिलो थिएन । उनले धेरै कुरा त बुझेका पनि थिएनन् । तर, तीर्थयात्राका लागि नेपालबाट रेलको टिकट काट्ने पहिलो काउन्टर मुनाले नै खोलेका थिए ।

सुन्धाराबाट गोरखपुरसम्म जाने बस र तीर्थालुहरु

***
सानैमा बुबा गुमाएपछि पैसा कमाउने सोचले मुनाले आफ्ना भिनाजु प्रकाश गौतमको ‘गौतम तीर्थयात्रा’ नामक कार्यालयमा काम शुरु गरेका थिए । स्कुल पढ्दै गरेको ठिटोले अरु गर्न पो के सक्थ्यो र ! फेरि भारत, तीर्थस्थलका बारेमा मुनालाई खासै ज्ञान पनि थिएन । त्यसैले अफिस खोल्ने, सरसफाइ गर्ने, ग्राहक आएमा भिनाजुलाई फोन लगाइदिने मुनाका शुरुवाती दिनहरु यसरी नै बिते ।

काठमाडौंको सबैभन्दा पुरानो काउन्टरमध्ये एक थियो ‘गौतम तीर्थयात्रा’ । जसकारण आफ्नै बसमा तीर्थालुहरु लिएर बेलाबेला भारत गइरहन्थे मुनाका भिनाजु । यही क्रममा मुनालाई पनि भिनाजुसँगै तीर्थयात्रामा निस्कने मौका जुरेको थियो ।

घुम्ने, रमाइलो गर्ने, भिनाजुबाट काम सिक्ने मुनाको कलिलो मस्तिष्कले आफ्नो यात्राको यिनै ३ लक्ष्य पहिल्याएको थियो । तर, त्यस दिन त्यो दृश्य देखेपछि यात्रालाई लिएर उनको दृष्टिकोण नै बदलियो । त्यही दृष्टिकोणले उनमा नेपाली तीर्थयात्रीहरुको यात्रालाई सहज बनाउने अठोट थपिदिएको थियो ।

अन्ततः मोज गर्न हिँडेका मुना नयाँ सोच लिएर नेपाल फर्किए ।

फर्किनासाथ भिनाजुको चिनजानमा रहेका केही भारतीयसँग सल्लाह गरेर नेपालबाटै रेलको टिकट काट्न मिल्ने व्यवस्था मिलाए मुनाले । ‘भारत तीर्थयात्राका लागि नेपालबाटै टिकट काट्ने पहिलो काउन्टर हाम्रै थियो,’ गर्विलो आवाजमा उनी भन्छन् ।

‘गौतम तीर्थयात्रा’ बाटै भारतको जुनसुकै स्थानको रेल टिकट काट्न सकिने भएपछि तीर्थालुहरु पनि दङ्ग ! १० वर्षसम्म त तीर्थयात्रीहरु लिएर उनी आफैं भारत धाए । यातायातको समस्यादेखि बस्नेखाने झन्झटबाट तीर्थालुहरुलाई सकेसम्म टाढै राख्थे उनी ।
मुनाको एक मात्र चाहना थियो, ‘उनीहरुको यात्रा सहज र सफल होस्’ ।

नभन्दै तीर्थालुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गयो । एकपटक गौतम तीर्थयात्रा मार्फत् गएका यात्रुहरु पटकपटक त्यहीँबाट यात्रा गर्न थाले । आफ्नाआफन्तलाई पनि यहीँबाट यात्रा गर्न सिफारिस गर्न थाले ।

वि सं २०४६ मा भिनाजुले आफ्नो हातमा व्यवसायको बागडोर थमाएपछि मुनाले कार्यालय सुन्धारामा सारे र नाम फेरे, ‘सम्झना यात्रु सेवा’ ।

सुन्धारा चोकदेखि सिद्धपोखरी जाने सानो गल्ली पछ्याउँदै जाँदा पुगिने भीमसेन टावरको तेस्रो तलामा छ यसको कार्यालय । कोठा साँघुरो र अँध्यारो छ तर, विगत ३ दशकदेखि मुनालाई खोज्दै उनका ग्राहक यहीँसम्म आइपुग्छन् ।

सुन्धारास्थित मुनाको कार्यालय

एकपटक त यस्तोसम्म भएको रहेछ कि विद्यार्थी छँदा मुनाको यात्रुसेवा मार्फत् कलेज(बेङलोर) र घर आउजाउ गर्ने एक युवक अमेरिका पुगेको २५ वर्षपछि नेपाल फर्केछन् र मुनालाई खोज्दै सुन्धारा पुगेछन् । ‘छुट्टिमा परिवारसँग दक्षिण भारत घुम्ने योजना रहेछ त्यसैले २५ वर्षपछि पनि टिकट काट्न मलाई खोज्दै आइपुग्नुभएछ,’ मुना त्यो क्षण सम्झिँदै थप्छन्, ‘व्यवसाय आफ्नो ठाउँमा छ तर, त्यति धेरै मान्छे कमाएको रहेछु मैले भन्ने सोच्दा अत्यन्तै खुसी लाग्छ ।’

त्यसो त सन्तुष्टिको उज्यालो आकाशमा कहिलेकाहीँ समस्याका ससाना टुक्रा बादल नमडारिने होइनन् । तीर्थयात्राका दौरान भोग्नुपरेका अनेकन नमीठा अनुभवहरु पनि छन् मुनासँग ।

आफैसँग तीर्थयात्रामा हिँडेकी एक वृद्धाको मृत्यु भएको क्षण शायदै कहिले भुल्न सक्लान् मुनाले । वि सं २०४३ सालमा हरिद्वारमा घटेको घटनाको स्मरण गर्छन् उनी । ‘६४ जनालाई एउटा डोरी पक्रिन दिएर म सबैभन्दा अगाडि पथप्रदर्शक भएर हिँडिरहेको थिएँ एउटा आमा डोरी छोडेर हराउनुभएछ,’ उनी भन्छन्, ‘२ वर्षसम्म निरन्तर खोजेपछि बल्ल थाहा भयो हराएकै दिन उहाँको मृत्यु भइसकेको रहेछ ।’

यस घटनाले आफ्नो स्वच्छ छविमा दाग लाग्ने चिन्ताले भित्रभित्रै खियाइसकेको थियो मुनालाई । तर अचम्मको कुरा के भने बाँकी ६३ जना वृद्धवृद्धाले मुनाको पक्षमा वकालत गरे, ‘उहाँको गल्ती छैन, यो घटना अप्रत्यासित हो नपत्याए हामी सबैलाई हेर्नुस् न सकुशल छौं’ ।
यस्तै कुराले आफूलाई काम गर्न उर्जा थपिदिने बताउँछन् मुना । ‘तीर्थयात्रा सकेर आएपछि पशुपतिमा जल विसर्जन गरेर सबैजनाले माला किनेर लगाइदिन्छन्, टाउकोमा हात राख्दै आशीर्वाद दिन्छन् बडो आनन्द आउँछ,’ उनले भने ।

आफ्नो काउन्टरमा मुना, पचास दशकतिर

अहिले तीर्थयात्रीहरुसँग मुना आफै पुग्दैनन् तर, उनले बनाएको ‘गाइडलाइन’ले उनीहरुलाई सबैतिर डो-याउँछ । गाइडलाइन अर्थात् यहाँबाट यात्रा शुरु गरेदेखि फर्किउन्जेलसम्मको समयतालिका जसमा रेल र होटलहरुको बारेमा पनि जानकारी लेखिदिएका हुन्छन् मुनाले ।

‘यसरी हरेक मिनेट, हरेक पाइलामा कहाँ, कसरी यात्रा गर्ने भनेर तालिका बनाउन जोकोहीले सक्दैन तर मलाई भारतको नक्सा पनि चाहिँदैन,’ मुना भन्छन्, ‘यसले पर्याप्त भएन भनेपनि भारतमा मैले आफ्ना मान्छेहरु खटाएको छु जसले मेरा तीर्थयात्रीहरुलाई कुनै समस्या आउन दिँदैनन् ।’

यसरी तीतामीठा अनुभव सँगाल्दै मुना तीर्थयात्रीहरुको सारथी बनेको ३ दशकभन्दा बढी भइसक्यो । समयले उनको जोसजाँगरलाई गलाउन सकेको छैन । फूलेका कपालले उनको अनुभवको झल्को दिन्छ । चाउरिएका छालामा तीर्थयात्राका रमाइला किस्साहरु मुस्कुराउँछन् ।

अहिलेका मुना

अहिलेसम्म कतिपटक तीर्थयात्रा गर्नुभयो होला ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘खै यकिन त भन्न सक्दिन तर, गन्ने हो भने मेरो जीवनको ३ वर्ष समय चाहिँ भारतमै बित्यो होला ।’

‘रामायाणमा श्रवणकुमारले पुण्य कमाउनलाई आफ्ना बाबुआमालाई तीर्थ लगेका थिए । तपाईं त अरुका बुबाआमालाई पनि तीर्थ लग्नुहुन्छ, ‘मोडर्न’ श्रवणकुमार हुनुभयो नि ?’

जवाफमा उनी मुस्कुराउँदै भन्छन्, ‘हो, पैसा मात्र होइन धर्म पनि कमाएको छु ।’

सुन्धाराबाट गोरखपुरसम्म जाने बस र तीर्थालुहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?