महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदभार ग्रहण गर्नुभएको छ ।
बिहीबार राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ लिएलगत्तै नवननियुक्त मन्त्री गुरुङले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

पदभार सम्हालेलगत्तै उहाँले बाल विवाह अन्त्य हुने गरी २ महिना भित्र राष्ट्रिय कार्ययोजना बनाउने प्रस्ताव पनि स्विकृत गर्नुभयो । महिला र बालबालिका माथि हुने हिंसा अन्त्य गर्न सो प्रस्तावलाई अघि बढाउने गरी कार्ययोजना तय गर्न सो प्रस्ताव नवनियुक्त मन्त्री गुरुङले स्विकृत गर्नुभएको हो ।

त्यस अवसरमा बोल्दै उहाँले महिला, बालबालिका, ज्येष्ठ नागरिकको उत्थानका लागि बनाइएका ऐन, नियम र कानुनहरुको प्रभावकारी कार्यान्वयनमा लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । नवनियुक्त मन्त्री गुरुङले महिला हिंसा, बाल विवाह गर्ने जस्ता सामाजिक विकृतिको अन्त्यका लागि सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउने खालका कार्यक्रमलाई आफूले प्राथमिकता दिने योजना पनि अघि सार्नुभयो ।

नवनियुक्त मन्त्री गुरुङलाई मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलगायतका पदाधिकारीले मन्त्रालयमा स्वागत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?