यी हुन् ‘डेन्जरजोन’मा परेर पनि पद जोगाउन सफल मन्त्रीहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्‌मा हेरफेरसहित नयाँ मन्त्रीमण्डल पुनर्गठन गर्नुभएको छ ।

कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री ओलीको सिफारिसमा केही मन्त्रीहरूलाई हटाइएको छ, भने केही नयाँ मन्त्रीलाई मन्त्रिपरिषद्‌मा संलग्न गराइएको छ। त्यस्तै केही मन्त्रीको जिम्मेवारी परिवर्तन भएको छ।

केही दिनदेखि मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चा चलिरहेको थियो। सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा प्रधानमन्त्रीलाई नै दिइएको जनाएको थियो।

मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्दैगर्दा धेरै मन्त्रीहरुको नाम बाहिर आएको थियो । तत्कालीन उद्योगमन्त्री मात्रिका यादव, कृषिमन्त्री चक्रपाणि खनाल र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापालाई हटाउने चर्चा चलेको थियो ।

अत्याधिक आलोचित भइरेहेका तत्कालीन भौतिकपूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको नाम हटाउने मन्त्रीको सुचीमा पहिलो नम्बरमा परेको थियो । त्यसैगरी श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, खानेपानीमन्त्री विना मगर, युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नाम पनि ‘डेन्जरजोन’मा रहेको थियो ।

‘डेन्जरजोन’मा परेका मन्त्रीहरु मध्ये ५ जनाले मन्त्रीपद गुमाएका छन् । मन्त्रीपद गुमाउनेहरुमा रघुवीर महासेठ, गोकर्ण विष्ट, चक्रपाणि खनाल, थममाया थापा र लालबाबु पण्डित रहेका छन् ।

यी हुन् ‘डेन्जरजोन’मा परेर पनि पद जोगाउन सफल मन्त्रीहरु:-

यसैबीच गृहमन्त्री रामबहादुर थापा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगरले भने आफ्नो मन्त्री पद बचाएका छन् । त्यसैगरी उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव भने कानुन न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त हुनभएको छ । यादव कानुन न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त हुनुभएसंगै स्वास्थ्य मन्त्रालयको जिम्मा भानुभक्त ढकालको भागमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?